पर्यटन व्यवसायी महिलालाई कर शिक्षा

समाधान संवाददाता २०७६ असोज १० गते १३:०९

समाधान संवाददाता, पोखरा

पोखराका पर्यटन व्यवसायी महिलाले कर शिक्षा सम्बन्धित एक दिने तालिम लिएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)को आयोजना तथा आन्तरिक राजस्व कार्यालय पोखराको प्राविधिक सहयोगमा सम्पन्न तालिममा कर सम्बन्धित राज्यको नीति र नागरिक एवं व्यवसायीको दायित्व सम्बन्धी विषयमा प्रशिक्षण दिइएको हो ।

राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशव उप्रेतीले राज्यलाई समृद्ध बनाउन व्यवसायीले कर तिर्नुपर्ने बताए । राज्यलाई तिरेको करबाट देश विकास हुने भएकाले कर छल्नु आर्थिक अपराध भएको उनको भनाइ थियो । राज्यले प्रोत्साहन र दण्डको व्यवस्था गरेकाले बिल लिने र दिने बानीको विकास गर्न उनले व्यवसायी महिलालाई आग्रह गरे । ‘अहिले १५ सय अर्बको बजेटमा जम्मा ९ सय ८५ अर्ब राजस्व संकलन लक्ष्य राखिएको छ,’ उनले भने, ‘९ सय ८१ अर्ब चालु खर्च हुने अनुमान छ । कर कुनै पनि प्रतिफलको आशा नगरी राज्यलाई गर्ने अनिवार्य योगदान भएकाले मैले राज्यबाट के पाएँ भनेर भन्दा पनि मैले राज्यलाई के दिएँ भनेर सोच्नुपर्छ ।’

Advertisement

कर अधिकत उद्धवराज न्यौपाने कर किन तिर्ने ? कर तिर पछिका फाइदा र कर नर्तिदा हुने बेफाइदाको बारेमा सहजीकरण गरेका थिए । उनले संघीय सरकारलाई तिर्नुपर्ने करको बारेमा जानकारीसँगै प्रदेश र स्थानीय सरकारले लगाउने करका क्षेत्रबारे समेत जानकारी गराए । साना ठूला व्यवसायी करको दायरामा आउन सके राज्यले वैदेशिक ऋणबाट मुलुक चलाउनुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो । ‘कर नीतिबारे व्यवसाय र आयआर्जनमा गर्ने सबैले जान्नैपर्ने हुन्छ,’ उनले भने ।

मञ्चका अध्यक्ष जमुना पराजुलीले करको बारेमा राम्रो जानकारी नहुँदा कर प्रति व्यवसायीको सकारात्मक दृष्टिकोण बन्न नसकेको बताइन् । १ दिने प्रशिक्षणले करको विविध विषयबारे राम्रो जानकारी लिन सफल भएको उनको भनाइ थियो ।

Advertisement

कार्यक्रम संयोजक सुशीला सिग्देलले व्यवसाय सञ्चालन गर्ने कति महिलाहरुले करबारे राम्रोसँग नबुझ्दा जरिवाना तिर्नुपर्ने अवस्था सिर्जना भएको सुनाइन् । कर नबुझेसम्म एकदम जटिल विषय जस्तो लागे पनि बुझे पनि सहज हुने धारणा राखिन् ।

तालिममा सहभागीले कर किन तिर्ने त्यसबाट के फाइदा हुन्छ । करका दायरका के के हुन् ? महिलाले व्यवसाय गर्दा हुने कर छुटको बारेमा विविध जिज्ञासा राखेका थिए । व्यवसायी महिलाको जिज्ञासाको जवाफ प्रमुख कर अधिकृत उप्रेती र कर अधिकृत न्यौपाने दिइन् । तालिमबाट मञ्चका ७० जना व्यवसायी महिला लाभान्वित भएको मञ्चका सचिव उमा भण्डारीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया