हाइकर्स क्लब नेपालको सभा

पोखरा ।
हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार भएको छ । सभामा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो समयको अनुभव र निरन्तरतापछि संस्थागत रूप पाएकोमा खुसी व्यक्त गरे ।
गाउँका पुराना पदमार्गलाई पर्यटनसँग जोड्दै पर्यटन प्रवद्र्धनको दूतको रुपमा हाइकर्स क्लबको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटकको बसाइ लम्ब्याउनका लागि र पोखरामा आउने पर्यटकलाई गाउँठाउँको रहनसहन देखाउँदै भुलाउनका लागि हाइकिङ उत्तम माध्यम भएको बताउँदै हाइकर्स क्लब नेपालले हालसम्म गरेको हाइकिङ गन्तव्यको पहिचानसहितको गाइडबुक निकालेर पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताउँदै यस कार्यमा लाग्न पोखरा पर्यटन परिषद्ले साथ दिने बताए ।
पोखरा महानगरपालिकाको पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले पोखरा भ्रमण वर्ष २०२५ को घोषणा हुने क्रममा रहेको बताउँदै क्लबलाई साथ र सहयोग गर्न महानगर तयार रहेको बताए । पोखरा २१ का पूर्व वडाध्यक्ष खगराज आचार्यले पर्यटन प्रवद्र्धनको स्पष्ट मार्गचित्र कोरेर दीर्घकालीन योजना बनाएर नै हाइकिङ अभियानलाई अगाडि बढाउन सुझाव दिएका थिए ।
कार्यक्रममा हाइकिङ अभियानलाई सुरुवाती दिनमा नेतृत्व गर्न भूमिका खेल्ने प्रविन तुलाचन, ज्येष्ठ नागरिक भएर पनि निरन्तर हाइकिङमा सहभागी हुने यमबहादुर रानाभाट, सुशीला रानाभाट र सरस्वती अधिकारीलाई सम्मान गरिएको थियो ।
एसियन फोरमकी अध्यक्ष पार्वती पौडेल रेग्मी, सम्मानित व्यक्तिको तर्फबाट प्रविन तुलाचनले शुभकामना व्यक्त गरेका थिए भने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान स्याङ्जाका अध्यक्ष तथा लोकदोहोरी गायक नेत्र खड्काले हाइकिङसँग सम्बन्धित सांगीतिक प्रस्तुति दिएका थिए ।
सभामा कोषाध्यक्ष टीका आचार्य सुवेदीले आर्थिक प्रतिवेदन र सचिव मधु अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सभाले सर्वसम्मत पारित गरेको थियो । हाल क्लबमा २८ आजीवन र ४० जना साधारण सदस्य छन् ।
क्लब अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य तिलक थापाले पनि बोलेका थिए । सभापछि हाइकर्स टोली ५४ औँ हाइकिङका रूपमा पोखरा १७ डेमसाइड रानीवन हुँदै पोखरा २२ कोदीमा अवस्थित झण्डा पार्कसम्म पुगेको छ ।
तपाईको प्रतिक्रिया