लेखनाथ महोत्सवमा साढे ९ करोड कारोबार

पोखरा । पुस १८ गतेबाट लेखनाथमा सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सव मंगलबार सकिएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ भएको महोत्सव पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले समापन गरे ।
उनले महोत्सवमा राखिएको गौतम बुद्धको मूर्तीलाई उपयुक्त ठाउँमा व्यवस्थित गरिने बताए । मेयर आचार्यले लेखनाथ क्षेत्रमा २१ परियोजना सञ्चालन हुने उनको भनाइ छ । उनले शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यमा लगायतका कुरालाई समेटेर पर्यटनको राजधानीका रुपमा स्थापित गरिने उल्लेख गरे ।
महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सव २० औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको दाबी गरे ।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले महोत्सवले यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको व्यापार प्रवद्र्धन भएको र आगामी दिनमा अझ पर्यटकीय स्थल र ऐतिहासिक स्थलको खोजी गर्न आग्रह गरे । महोत्सव अवधिभर ९ करोड ५० लाखभन्दा बढीको कारोबार भएको र ३ लाखभन्दा बढीले अवलोकन गरेको प्रचारप्रसार संयोजक जानुका पराजुलीले बताइन् ।
महोत्सवमा निर्माण गरिएको बुद्धको मुर्तीसहितको नमुना विशेष आकर्षणको केन्द्र बनेको थियो भने पहिलो पटक भएको हाजिरीजवाफ प्रतियोगिता, रत्यौली प्रतियोगिता, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा/महिला समूहहरूको आफ्नो झाँकीर्याली तथा भेषभूषा प्रदर्शनी, ख्याति प्राप्त हास्य व्यंग्य कलाकारको दैनिक प्रस्तुति, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट आकर्षण बनेका थिए ।
महोत्सवबाट हुने बचत प्रस्तावित औद्योगिक क्षेत्र निर्माणका लागि पहल र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिनेछ ।
तपाईको प्रतिक्रिया