नागरिक सहायता कक्ष स्थापना

समाधान संवाददाता २०७६ असोज १२ गते १४:२४

कृष्ण न्यौपाने
दमौली

नजिकिँदै गरेको दसैं, तिहारलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय तनहुँले नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वका क्रममा बढी भीडभाड हुने र यात्रुले दुख पाउने हुनाले उनीहरुको समस्या सम्बोधन गर्न प्रहरी कार्यालयले जिल्लाका ३ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुलाई पर्न सक्ने समस्या समाधान गर्नका लागि दमौली, आँबुखैरेनी र डुम्रेमा नागरिक तथा यात्रु सहायत कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । ‘चाडपर्वमा घर फर्किने यात्रुहरुको चाप हुन्छ, जसले गर्दा यात्रु ठगिने र यात्रुले दुख पाउन सक्छन्,’ प्रहरी उपरीक्षक सिलवालले भने, ‘सर्वसाधारणको यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गरेका हौं ।’

Advertisement

प्रहरी उपरीक्षक सिलवालका अनुसार लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुका अलवा सबै सर्वसाधारणले सहायता कक्षबाट सहयोग पाउनेछन् । ‘यात्रुले सहायता कक्षमा आएर आफ्नो समस्या राखेपछि प्रहरीले तत्कालै समस्या समाधान गर्नेछ,’ सिलवालले भने । सहायता कक्षमा ट्राफिक र जनपद प्रहरी परिचालन गरिएको छ । दमौलीमा स्थापना गरिएको सहायता कक्षको शुक्रबार उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नागरिकका समस्या समाधानका लगि नागरिक सहायता कक्षले सहयोग पु¥याउने बताए । चाडपर्वका क्रममा बढी भीडभाड हुने भएकाले यातायात व्यवसायीले इमानदारिता र नैतिकतापूर्वक आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्नेमा प्रजिअ पण्डितले जोड दिए ।

चाडपर्वलाई लक्ष गरी जिल्लामा सवारी चेकजाँचलाई थप कडाइ पारिएको ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए । निर्धारित भाडादर भन्दा बढी भाढा लिएमा तत्कालै प्रहरीलाई खबर गर्न अधिकारीले आग्रह गरे । प्रहरीले सम्बन्धित टिकट काउन्टरबाट टिकट काट्न, पाकेटमार तथा विभिन्न बहाना बनाई ठगी गर्नेदेखि सावधान हुन, ढोकामा झुण्डिएर वा छतमा बसेर जोखिमपूर्ण यात्रा नगर्न, अपरिचित व्यक्तिले दिएको कुनै पनि चिजबस्तु प्रयोग नगर्न र चालकले लापरबाहीपूर्ण तवरले सवारी साधन चलाएको, मादकपदार्थ, लागुपदार्थ सेवन गरेको पाइएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया