ह्योल्मो भाषा तथा लिपि तालिम

पोखरा ।
नेपाल ह्योल्मो समाज सेवा समिति पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम आयोजना भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सञ्चालन भएको तालिममा ह्योल्मो भाषा तथा लिपि सिकाइएको छ ।
कास्कीका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका प्रशिक्षार्थी तालिममा सहभागी थिए । कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरुङले नेपालमा प्रचलित विविध भाषा, कला, संस्कृति र परम्परा सम्पूर्ण नेपालीको अमूल्य साझा सम्पत्ति भएको उल्लेख गरे ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश गीतसंगीत, भाषा र संस्कृतिमा समृद्ध रहेको जनाउँदै यसको जगेर्नाका लागि प्रतिष्ठानले विभिन्न तालिम तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिरहेको बताए । प्रशिक्षणमा सहभागी अरुणा ह्योल्मोले भाषा प्रशिक्षण कार्यक्रम आफू र आफ्नो समुदायका लागि उपलब्धिमूलक भएको अनुभव सनुाइन् ।
नेपाल ह्योल्मो समाज सेवा समिति अध्यक्ष क्याप्टेन पूर्णबहादुर ह्योल्मोले आफ्नो समुदायका लागि भाषा कक्षा आवश्यक रहेको उल्लेख गरे । पछिल्लो समय ह्योल्मो भाषा पनि समुदायभित्र मात्र सीमित हुँदै गएको भन्दै यसलाई साझा भाषाका रूपमा विकास गर्न राज्यका निकायहरूले समेत आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष सुबेदार तेजबहादुर ह्योल्मो र सचिव पूर्ण लामा ह्योल्मोले पनि ह्योल्मो भाषा तथा लिपि संरक्षणका लागि राज्यका निकाय र ल्होल्मो समुदायकै जागरुकता जरुरी हुने औंल्याए ।
तपाईको प्रतिक्रिया