‘विपद् जोखिम कम गर्नु पर्छ’

समाधान संवाददाता
पोखरा
पूर्व तयारीमा ध्यान दिए विपद्को जोखिमलाई कम गर्न सकिने सरोकारवालाले औंल्याएका छन् । कुनै निकायको एकल प्रयासबाट सम्भव नभएको उल्लेख गर्दै उनीहरुले विपद् व्यवस्थापनका लागि सबै संघसंस्थाको समन्वय र सहकार्य हुन सक्नु पर्नेमा जोड दिएका हुन् । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले विपद्लाई रोक्न नसके पनि पूर्व तयारीमा ध्यान दिए जोखिमलाई कम गर्न सकिने बताए ।
प्रदेश सरकारले विपद् व्यवस्थापन कोष खडा गरेको जानकारी दिँदै मन्त्री चुमानले विपद् वहुचासो र वहुसरोकारको सवाल भएकाले व्यवस्थापनका लागि समन्वय र सहकार्य गर्न संयन्त्र बलियो बनाउन आवश्यक रहेको बताए । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको सन्दर्भमा गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल रेडक्रस सोसाइटी कास्की लगायत संघ संस्थाले आयोजना गरेको विपद् व्यवस्थापन सप्ताह २०७६ अन्तर्गतको खुला रक्तदान कार्यक्रममा मन्त्री चुमानले विपद् व्यवस्थापनका लागि प्रदेश सरकार योजनावद्ध ढंगले काम गरिरहेको बताए ।
‘विपद व्यवस्थापनको प्रश्न जटिल बनेको छ,’ मन्त्री चुमानले भने, ‘सरकारी निकाय, विपदमा काम गर्ने संघ संस्थाहरु एक्ला एक्लै भन्दा पनि सबैको समन्वय र सहकार्यमा विपद् व्यवस्थापन गर्न सकिन्छ ।’ मन्त्री चुमानले असोज २६ देखि कात्तिक २ गतेसम्म गरिने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रभातफेरी, विपद उद्दार तथा जोखिम न्यूनीकरण अभ्यास सिमुलेसन, सचेतनामूलक कार्यक्रम, छलफल, गोष्ठीलाई निरन्तरता दिने बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले प्राकृतिक तथा मानव सिर्जित विपद् विकास र समृद्धिको बाधक भएको बताए । पूर्व तयारीमा ध्यान दिए विपद्बाट हुने जोखिम र क्षतिलाई कम गर्न सकिने उल्लेख गर्दै उनले एउटै निकायको निर्भरतामा विपद्लाई सहजरुपमा व्यवस्थापन गर्न नसकिने धारणा राखे । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना र पोखरा १७ उपशाखाको व्यवस्थापन र पोखरा ७ उपशाखाको सहयोगमा भएको खुला रक्तदानमा ६६ युनिट रगत संकलन भएको रेडक्रस सोसाइटी पोखरा १७ का सभापति झपिन्द्रराज रेग्मीले जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डे, पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारी, पोखरा ७ का अध्यक्ष रामचन्द्र बराल, नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाका सचिव हरि लम्साल लगायतले बोलेका थिए ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया