क्रस कन्ट्री दौडमा नेपाली टिम प्रथम

समाधान संवाददाता २०७६ असोज ३० गते १२:४७

समाधान संवाददाता, पोखरा

पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउन्टेनियरिङ एन्ड एक्प्लोरेसन एसोसिएसनले संयुक्त आयोजनमा हिमालयन अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडमा नेपाल सशस्त्र प्रहरी बलको टिम पहिलो भएको छ । २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १ दशमलव २ किलोमिटर बोटिङ ४ घन्टा १९ मिनेट २२ सेकेन्डमा पार गदै टोली पहिलो भएको हो । एपिएफका तर्फ बाट सन्तोष विक्रम विष्ट, गणेश ठकुरी र इन्द्रकला नेम्वाङ पहिलो भएका हुन् । भने उक्त टिम उक्त टिमले चीनमा डिसेम्बरमा आयोजना हुने १ सय किलोमिटरको दौडमा भाग मौका पाएको छ ।

गुरिल्ला ट्रेल टिमले ४ घन्टा १८ मिनेट २३ सेकेन्डको समयमा दूरी पार गर्दै दोस्रो हुन सफल भएका छन् । उक्त टिमका तर्फबाट दामोदर बुढा मगर, दुर्गाराज बुढा र रसिला तामाङले प्रतिष्पर्धा गरेका थिए । दोस्रो हुने टिमका खेलाडीले पनि चाइनमा सन् २०२० मा हुने १ सय किलोमिटरको दौडमा भाग मौका पाएका छन् ।

Advertisement

प्रतियोगितामा चिन कुनमिङ सहरको काइनेटिक टिम तेस्रो भएको छ । ४ घन्टा २४ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै चिनियाँ टिम तेस्रो भएको हो । चिनियाँ टिमबाट चेङ यि झेन, पाङ युइजु र लाइ यु जुन प्रतिस्पर्धामा थिए । उनीहरुलाई मेडल, खादा मालाले सम्मान गरिएको छ ।

नेपालको अन्नपूर्ण टिम भने चौथो हुँदै चीनको कुनमिङमा यही डिसेम्बरमा आयोजना हुने जिआओजि १ सय किमी दौडमा सहभागिता जनाउन पाउने भएको छ । आयोजकले नेपाल तर्फबाट सहभागी भएका मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई उक्त दौडमा सहभागिता गराउने जनाएका थिए । प्रतियोगितामा चौथो र नेपालको तर्फबाट तेस्रो भएको अन्नपूर्ण टिमबाट जीवन लामा, समर राई र प्रतिभा श्रेष्ठ सहभागी थिए । उनीहरुलाई चाइनामा प्रतियोगमा सहभागी हुँदा लाग्ने सम्पूर्ण खर्च आयोजक कमिटीले व्यहोर्ने जनाएको छ ।

Advertisement

एकल तर्फको दौडमा चीनका झाङ जिले ३९ किलोमिटर दौड ३ घन्टा ३९ मिनेट २७ सेकेन्डमा पार गर्दै प्रथम भएका छन् । ३ घन्टा ५० मिनेट १२ सेकेन्डमा पूरा गरी चीनका चाङ थियान फे दोस्रो भए । ४ घन्टा १ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै झाओ गुआन वान तेस्रो भएका हुन् । पोखरामा पर्यटनको विकास गर्ने उद्देश्यले नेपालमा नै पहिलो पटक यस्तो दौडको आयोजना गरिएको आयोजकले बताएको छ । बाराही घाटबाट सुरु भएको दौड, राष्ट्रबैंक चोक, ड्यामसाइड, डेभिजफल, तिब्बतीयन क्याम्प, फुस्रेखोला, कमेरा, राम्दी, मट्टीखान, रामकोट, कुभिण्डे, उल्लेरी, खरिखानी, पैयूँ चौतारी, ओखले डाँडा, कालावाङ, मोतीराज चोक, स्वाँरा, लुकुन स्वाँरा, तल्ला गाउँ (गौरी प्रावि), ढुंगेपानी, शान्ति स्तुप पुगेर एकल दौड सकिएको थियो भने स्तुपबाट, अनदु डाँडा, लिची बोट हुँदै बोटिङ गरी बाराही घाटमा पुगेर सामूहिक दौड सकिएको थियो । प्रतियोगिताका लागि ३४ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

आयोजक चुक्यो
पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउन्टेनियरिङ एन्ड एक्प्लोरेसन एसोसिएसनले संयुक्त आयोजनमा भएको क्रस कन्ट्री दौडमा प्रतियोगितामा आयोजक विभिन्न ठाउँमा चुकेको छ ।

प्रतियोगितामा पहिलो भएको टिमका खेलाडी सन्तोषविक्रम विष्ट, गणेश ठकुरी र इन्द्रकला नेम्वाङ तोकिएको दूरी पार गरेपछि १ खेलाडी बिरामी भए । सन्तोषविक्रम विष्टको पिँडुला काम्प थाल्यो । उनको पिँडुला फर्केर त्यसको केही समयमा टेन्टभन्दा बाहिर खेलाडी आरामको लागि सुते । खेलाडी बिरामी भएपछि मेडिकल टिम बोलाइदिन आग्रह गरे । मेडिकल टिम वरिपरि थिएन । खेलाडीलाई समस्या झन् बढ्दै गयो । केही समयसम्म बिरामी खेलाडीको आयोजकले बेवास्ता गरेको भन्दै नेपाली खेलाडीले होहल्ला गरेका थिए ।

उता प्रतियोगिताका टेक्निकल डाइरेक्टर यमबहादुर गुरुङ पनि खेलाडीको बेवास्ता गरिएको भन्दै फोनमा कराउँदै थिए । ‘मलाई पत्रकारले कराएर हैरान पारिसके खै त मेडिकल टिम,’ फोनबाटै गुरुङले भने, ‘खेलाडी बिरामी भएको आधा घन्टा भयो ।’ गुरुङले फोन राख्दा पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोख्रेल गाडीबाट कार्यक्रमस्थल पुगेका थिए । पोख्रेल गाडीबाट झरेपछि उक्त गाडीमा सुताएर विष्टको उपचारका लािग अस्पताल लगियो । उक्त समयसम्म पनि घाइते खेलाडी भएको ठाउँमा मेडिकल टिम पुगेको थिएन ।

प्रतियोगिता अन्तर्गत दौडमा पहिलो, दोस्रो भएकालाई मात्र नभई सहभागी खेलाडीलाई दौड पूरा गरेपछि मेडलले सम्मान गरिएको थियो । उक्त मेडलमा लखिएको नाममा सामान्य भाषा नमिलेको भन्दै विवादित बन्यो । मेडलमा लेखिएको ‘अन्तर्राष्ट्रिय क्रस कन्ट्री प्रतियोगिता’ नै अशुद्ध भएको पोखरा उद्योग वाणिज्य संघका १ सदस्य भने, ‘यति ठूलो प्रतियोगितामा मेडलमा लेखिएको नेपाली अक्षरमा धेरै अशुद्ध हुनु सामान्य हैन, उनले भने, ‘यस्ता विषयमा आयोजकले लापरबाही गर्नु हुँदैन ।’ मेडलमा मात्र नभई मेडलमा प्रयोग गरिएको फिता, टिसर्टमा पनि अशुद्ध भाषा प्रयोग गरेको भन्दै आयोजकले सच्याउनुपर्ने धारणा राखे । उनका अनुसार मेडल चीनमा नै बनाएर ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया