दसैंमा ५ सय सवारी कारवाहीमा

समाधान संवाददाता २०७६ असोज ३० गते १३:११

समाधान संवाददाता
गोरखा

अघिल्ला वर्षमा झै यस वर्ष पनि चाडवाडको मौका छोपेर नियम मिच्दै गोरखामा सवारी हाक्नेको संख्या उल्लेख्य रह्यो । अन्य समयमा भन्दा चाडवाडका समयमा निजी तथा सार्वजानिक सवारी चालकले ट्राफिक नियम विपरीत साधन चलाउने गरेका छन् ।

जिल्ला ट्राफिक कार्यालय गोरखाले सचेतनाका कार्यक्रम सञ्चालन गरे पनि दसैंको समयमा भने त्यसको प्रभाव खासै परेन । कार्यालयसँग रहेको पछिल्लो १५ दिनको तथ्यांक हेर्ने हो भने नियम मिच्ने सवारी उल्लेख्य रहेको देखिन्छ ।

Advertisement

दसैैको अवधिमा गोरखामा ५ सय ३२ सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम पालना नगरेको भन्दै जिल्ला ट्राफिक कार्यालय गोरखाले ती सवारी साधनलाई जरिवाना गरेको बताएको छ ।घटस्थापनाका दिनदेखि २८ गतेसम्म जिल्लाका बिभिन्न स्थानमा चेकजाँचका क्रममा यी सवारीलाई कारबाही गरिएको ट्राफिक टीका शर्माले बताए । जसबाट यस अवधिमा ३ लाख ७० हजार ५ सय रुपैयाँ राजश्व संलकन भएको छ । ‘अरु बेला भन्दा चाडवाडका समयमा नियम उल्लंघन गर्नेको संख्या अलि बढी नै हुन्छ’, शर्माले भने ।

निमय उल्लंघन गर्नेमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । १५ दिनको अन्तरालमा जिल्लामा १ सय ७६ मोटरसाइकल कारवाहीमा पर्दा १ लाख २१ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको छ । १ सय ३५ जिप, कार र भ्यान ट्राफिक नियम विपरीत सञ्चालन भएका थिए । जसबाट १ लाख ३ हजार रुपैयाँ जरिवाना संकलन भएको छ । ९० वटा ट्रकका चालकलाई कारबाही गर्दा ६४ हजार राजश्व उठेको छ भने ६७ वटा ट्याक्टरबाट ४४ हजार ५ सय रुपैयाँ राजश्व असुल भएको ट्राफिक शर्माको भनाइ छ । ६४ वटा बससमेत ट्राफिकको कारबाहीमा परेका छन् । ती बसबाट ३७ हजार ५ सय जरिवाना संकलन भएको छ ।

Advertisement

गोरखाका बिभिन्न स्थानमा मादक पदार्थ सेवन गरी सवारी हाक्ने ८ जना कारबाहीका परेका छन् । उनीहरुबाट ८ हजार रुपैयाँ जरिवाना लिइएको कार्यालयले जनाएको छ । यस वर्ष जिल्ला भित्रिने सवारी साधनको संख्यामा वृद्धि हुँदा कारबाहीमा पर्नेको संख्यासमेत बढेको हो । ‘यो वर्ष गत वर्षको तुलनामा अलि बढी नै सवारी जिल्ला भित्रिए,’ ट्राफिक शर्माले भने, ‘सवारी बढेपछि कारबाहीमा पर्नेको संख्या बढ्नु पनि स्वभाविक नै हो ।’ हालसम्म जिल्लाका कुनै पनि स्थानबाट सवारीले बढी भाडा लिएको कार्यालयमा उजुरी भने नपरेको उनको दावी छ ।

तपाईको प्रतिक्रिया