विश्वस्तरीय सैन्य अभ्यासमा नेपाली सेनालाई स्वर्णपदक

समाधान संवाददाता २०७६ असोज ३० गते १३:२३

समाधान संवाददाता
काठमाडौं

बेलायतमा भएको विश्वस्तरीय सैन्य अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्णपदक जितेको छ । युद्धकालीन विशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिविधि समेटेर सञ्चालन गरिने अभ्यासमा नेपाली सेनाले स्वर्णपदक जितेको हो ।

जंगी अड्डाका अनुसार संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २४ गतेबाट भएको ‘एक्सरसाइज क्याम्ब्रिएन प्याट्रोल २०१९’मा नेपाली सेनाका मेजर अशिम देव गुरुङसहितको १० जनाको सैनिक टोली गएको थियो ।

Advertisement

कठिन भौगोलिक इलाकामा सञ्चालन भएको सो अभ्यासमा सहभागीहरूले २ दिनभित्रमा हतियार तथा करिब ५० पौन्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्छन् ।

यस क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारिति स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमता लगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता लगायत दक्षताको परीक्षण गरिन्छ ।

Advertisement

संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपाल समेत अन्य ३४ देशका गरि कूल १४० सैन्य टोलीहरूको सहभागिता रहेको थियो । उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व विशेष फौज बाहिनी, पशुपति प्रसाद गण र गौरीबक्स गुल्मको टोलीले गरेका थिए ।

उक्त प्रतियोगितामा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्तिहरु सम्मिलित टिम सहभागी हुने गर्छ ।

‘नेपाली सेनाको कौशल र साहस यो अभ्यासमा देखिएको छ, नेपाली सेना सक्षम छ भन्ने यसले प्रमाणित पनि गरेको छ,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने ।

तपाईको प्रतिक्रिया