मृगौला किनबेच आरोपमा ५ पक्राउ

समाधान संवाददाता २०७६ असोज ३० गते १३:३०

समाधान संवाददाता
काठमाडौं

ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा १ व्यक्तिको नाममा अर्कै व्यक्तिको मृर्गौला झिकी किनबेच तथा प्रत्यारोपणमा संलग्न रहेको आरोपमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा निदान अस्पतालका सिइओ विपेन्द्र प्रधान, निदान अस्पतालका लिगल अफिसर कुमुदकुमार भट्टराई, निदान अस्पतालका चिकित्सक डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मृर्गौला ग्रहण गरेका काठमाडौं स्वयम्भु बस्ने रामेछाप दोरम्बाका शंकरलाल लामा छन् ।

Advertisement

काभ्रे स्थायी घर भई हाल भक्तपुरको एक गलैंचा कारखानामा काम गर्ने युवकलाई प्रलोभनमा पारी झुक्याएर मृगौला झिकेको आरोप छ । ब्युरोका अनुसार मृगौला रोगी शंकरलाल लामाले नक्कली भान्जा बनाएर काभ्रेका ती युवकको मृगौला आफ्नो शरीरमा प्रत्यारोपण गरेका थिए । यसका लागि निदान अस्पतालका डा. राजेश पन्त र सिइओ विपेन्द्र प्रधानले सघाएको प्रहरीले जनाएको छ । लामाले रामेछापकै आफ्नै भान्जाको मृगौला लिने भनेर नाता प्रमाणित गरेर ल्याए पनि मृगौला दिने बेलामा अर्कै मान्छेलाई उभ्याएको दाबी ब्युरोको छ।

‘नाता प्रमाणित गरेर ल्याएपछि मृगौला प्रत्यारोपणअघि अस्पतालको समितिले त्यसलाई स्वीकृति दिन्छ । त्यो समितिमा अस्पतालका चिकित्सक, सिइओ, कानुनी सल्लाहकार र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि पनि रहन्छन् । नाता प्रमाणित अनुसारको कागज समितिको बैठकमा पुगे पनि मृगौला दिने मान्छे भने परिवर्तन भएको देखिन्छ । त्यसमा समितिको लापरबाही देखिन्छ’, ब्युरो प्रवक्ता गोविन्द थपलियाले भने ।

Advertisement

मृगौला जो कोहीले पनि दान गर्न सक्छ । आफन्तबाट लिनका लागि नाता प्रमाणित गर्नुपर्छ भने नाता बाहिरकाबाट लिनका लागि प्रक्रिया लामो हुन्छ । तर पैसा लिएर मृगौला दिन पाइँदैन । ‘तर यहाँ मृगौला दिने मान्छेलाई प्रलोभन र झुक्यानमा पारिएको छ । गरिबीको फाइदा उठाइएको छ । मृगौला दिँदा केही असर पर्दैन पनि भनिएको रहेछ’, ब्युरोका डिएसपी राजकुमार सिलवालले भने ।

प्रहरीले मृगौला दिने व्यक्तिलाई ३ लाख रुपैयाँ दिइएको देखिए पनि त्यहाँ ठूलो रकमको चलखेल भएको आशंका गरेको छ । लामाको गत साउन २४ गते निदान अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

दलालमार्फत ती व्यक्ति मृगौला पीडितको सम्पर्कमा पुगेको र अस्पतालको समितिको बैठकले पनि गलत काम गरेकाले त्यहाँ मोटो रकमको चलखेल भएको हुन सक्ने ब्युरोको आशंका छ ।

मृगौला प्रत्यारोपण गरेको मात्र ११ लाख रुपैयाँ लाग्छ । सानै उमेरमा काठमाडौं छिरेका काभ्रेका ती युवक सहचालक, चालक हुँदै पछिल्लो समय गलैंचा कारखानामा काम गर्थे । उक्त अस्पतालमा मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सो घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरु उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान भइरहेको उक्त ब्युरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया