थन्डरबोल्ट आहा राराको क्वार्टर फाइनलमा

प्रतियोगितामा शनिबारदेखि क्वार्टर फाइनलका खेल

धनबहादुर गुरुङ २०८१ माघ २५ गते २०:५१

पोखरा । भारतको थन्डरबोल्ट नर्थ युनाइटेड क्लब पोखरामा जारी २४ औं आहारारा पोखरा गोल्डकपको क्वार्टर फाइनल प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको चौथो प्रिक्वार्टर फाइनल खेलमा थन्डरबोल्टले संकटा क्बललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

Advertisement

सुरुवाती अग्रता बनाएको संकटाले खेलमा लय गुमाउँदा ३ गोल व्यहोरेको हो । खेलको १७ औं मिनेटमा मनिष पौडेलको गोलमा अग्रता बनाएको संकटाविरुद्ध ३५ औं मिनेटमा टाला, ७७ औं मिनेटमा करण राई र ८९ औं मिनेटमा आदर्श तामाङले थन्डरका लागि गोल गरे ।

दुवै टिमले खेलको सुरुआत निकै मन्द गतिमा गरेका थिए ।१२ औं मिनेटमा संकटाका अभिषेक लामाले मिलाइदिएको पास सिधैं विपक्षी गोलरक्षक लाक्पा भुटियाको हातमा पुग्यो । १६ औं मिनेटमा थन्डरबोल्टका लागि आदर्श तामाङको लेफ्ट फुटेट सट फ्रेममा परेन । त्यसको १ मिनेटपछि पासाङ लामाले डिबक्स भित्रबाट मिलाइदिएको पासमा मनिषले सेकेन्ड बार च्याप्दै प्रहार गरेको बलले सिधैं जाली चुम्यो ।

खेलको ३३ औं मिनेटमा पाहुना टोलीले पेनाल्टी पायो । संकटाका फोफोनाले क्रस गरेको बल भेट्ने क्रममा अभिषेक लामाले करण राईलाई लडाएपछि पाएको पेनाल्टीमा टालाले ३५ औं मिनेटमा सहजै गोल गर्दै टिमलाई बराबरीको अवस्थामा पुर्‍याए । पहिलो हाफको अन्त्यतिर भने पाहुना टोलीले निकै राम्रो अवसर खेर फाल्यो ।

४५ औं मिनेटमा आदर्श तामाङको फ्रिकिक प्रहरमा संकटाका बोएटिङले संकट टारे । थप गरिएको २ मिनेटको अन्तिममा २ प्रहार विफल बने । थपिएको समयमा एन्ड्रयुको प्रहार क्रसबारबाट बाहिरियो भने एन्थोनी क्षेत्रीको पासमा एन्ड्रयुको हेडिङ संकटाका गोलरक्षक दीप कार्कीले सहजै बचाए ।

Advertisement

दोस्रो हाफको सुरुआती समयबाटै आक्रामक बनेको संकटाले बारम्बार राम्रा अवसर खेर फाल्यो । अभिनाश स्याङ्तानले मैदानको बिच भागबाट दिएको पासलाई चन्दनकुमार दासले २ डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको बल थन्डरका गोलरक्षक लाक्पाले बचाए । त्यसको ४ मिनेटपछि संकटाका अबेका रिचर्डको कर्नर प्रहार थन्डरबोल्टका खेलाडीले क्लियर गरे ।
६७ औं मिनेटमा संकटाको प्रहारमा क्रसबार बाधक बन्यो । अबेकाले पेनाल्टी बक्सबाट हानेको पावरफुल सट बारमा लागेर फर्कियो । त्यसपछि पाहुना टोलीले लय समात्दै गयो । ७७ औं मिनेटमा थन्डरबोल्टका करण राईले गोल गरे । एन्ड्रयुको क्रसमा करणले प्रहार गरेको बलमा संकटाका डिफेन्डर र गोलरक्षक दीप कार्कीले कुनै अवसर पाएनन् । त्यसको २ मिनेटपछि संकटाले बराबरी गोल गर्ने अवसर पाए पनि उपयोग गर्न सकेन ।

चन्दनकुमार दासको पासमा कार्लोसको हेडिङ बल थन्डरका गोलरक्षक लाक्पाले सहजै बचाए । ७९ औं मिनेटमा करण राईले वान भर्सेस वानको प्रहार गरेको बल गोलरक्षक दिीपले रोके । १० मिनेटपछि भने दीपको गल्तीका कारण संकटाले अर्को गोल व्यहोर्‍यो । दीप पोस्ट छाडेर अगाडि बढेको अवस्थामा आदर्श तामाङले मैदानको बिच भागबाट गोल गर्दै थन्डरबोल्टलाई ३–१ को अग्रता दिलाए ।

थन्डरबोल्टका प्रशिक्षक सोनाम छिरिङ भुटियाले योजना अनुसार खेल्दा सफल बनेको बताए । टिममा अनुभवी खेलाडी भएकाले पनि सहज भएको उनले सुनाए । ॅयो प्रतियोगितामा कमजोर टिम आउँदैनन् । विपक्षी टिम पनि राम्रो हो । राम्रो प्रतिष्पर्धा रहेको थियो,’ उनले भने, ॅजित्नेमा हामी कन्फिडेन्ट नै थियौं तर ओभर कन्फिडेन्ट थिएनौं । आ–आफ्नो योजना अनुसार खेल्ने हो ।’

संकटाका प्रशिक्षक रवीन्द्र शिलाकारले खेलाडी अभावका कारण राम्रो प्रदर्शन गर्न नसकेको तर्क गरे । विपक्षी खेलाडीले राम्रो खेलेको भन्दा पनि आफ्ना खेलाडीले लय बिगार्दा हार व्यहोरेको उनको भनाइ थियो । ॅमोफसलमा भएको टाइट गेमका कारण खेलाडी बाँडिनुपर्‍यो । सिजनका लागि थोरै खेलाडी कन्ट्रयाक्ट गरेका थियौं । ननकन्ट्रयाक्टहरु अरु क्लबबाट खेलिरहेका छन्,’ उनले भने, ॅसोही कारण हामीसँग बेन्चमा थोरै खेलाडी थिए । यसले रणनीति परिवर्तन गर्न पनिसमस्या भयो ।’

शुक्रबारको खेलसँगै प्रतियोगितामा क्वार्टर फाइनल समीकरण पूरा भएको छ । नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा शनिबारदेखि क्वार्टर फाइनलका खेल हुनेछन् । थन्डरबोल्टले अब क्वार्टर फाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग माघ २९ गते खेल्नेछ । प्रतियोगिता अन्तर्गत शनिबार पहिलो क्वार्टर फाइनल खेल ब्रिगेड ब्वाइज क्लब क्लब युके र नेपाल पुलिस क्लबबिच हुँदै छ । फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउने छन् ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया