कर्मचारीको मिलेमतोमै साटियो धितो जग्गा !

विकास रोकामगर
पोखरा
पोखरा महानगरले पोखराका मुख्य क्षेत्रमा पार्किङ व्यवस्थित गर्न र शुल्क उठाउन २०७३ सालमा अशेष निर्माण सेवालाई जिम्मा दिएको थियो । त्यसबेला महानगरले २ वर्षको सम्झौतासहित २ करोड ८८ लाखमा उक्त कम्पनीलाई टेन्डर दियो । जसको अवधि सकिएको १ वर्ष बितिसकेको छ ।
महानगरले कम्पनीबाट १ करोड ६२ लाख रुपैयाँ उठाउन बाँकी छ । सम्झौता सकिएको वर्ष दिन बित्दा कम्पनीसँग बाँकी रहेको रकम उठाउन सकिरहेको छैन । त्यसकारण केही समयअघि मात्रै बक्यौता असुल उपर गर्न समिति गठन गरेको छ । समितिको संयोजकमा पोखरा ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजू र सदस्यमा प्रशासन महाशाखा प्रमुख भरतराज पौडेल तथा अधिकृत शिवहरि शर्मा छन् ।
महानगरले हाल १ करोड रुपैयाँ बैंक ग्यारेन्टीबाट असुल्ने र बाँकी ६२ लाख रुपैयाँ धितो राखेको जग्गाबाट असुल्ने बताएको छ । ‘महानगरले आफ्नो रकम जसरी पनि असुल्छ, त्यसका लागि हामीले केही समयपछि सूचना प्रकाशित गर्छौं । जग्गाधनीले सूचना बमोजिम पैसा बुझाउन आए फुकुवा हुन्छ । नत्र लिलामी प्रक्रियामा जान्छौं,’ समितिका सदस्य शर्माले भने । तनहुँ म्याग्देमा उमेश गौतमको नाममा रहेको २७ रोपनी जग्गा धितो राखिएको छ ।
साटियो धितो जग्गा !
पार्किङको ठेक्का लिएको कम्पनी अशेष निर्माण सेवाले सुरुमा बैंक ग्यारेन्टी कृष्णकला केसीको नाममा पोखरा १० मा रहेको ३ सय ३३ वर्गमिटर जग्गा राखेको थियो । तर, हाल सो जग्गा धरौटीमा देखिँदैन, फुकुवा भइसकेको छ ।
केसीको उक्त जग्गा २०७४ चैत ९ गते नै फुकुवा भइसकेको महानगरसँग कागजात छ । त्यसको सट्टा तनहुँ जिल्लाको साविक छाङ गाविसमा उमेश गौतमको नाममा रहेको २७ रोपनी जग्गा रोक्का भएको छ । जुन जग्गा २०७४ कात्तिक ६ गते रोक्का भएको देखाइएको छ ।
‘पोखराको जग्गा फुकुवा कहिले भयो ? कुन प्रक्रियाले भयो ? पोखरामा धरौटी राखेको परिवर्तन भएर जग्गा कसरी तनहुँ पुग्यो ? मलाई महानगरले कुनै जानकारी दिएको छैन,’ अशेष निर्माण सेवाका ऋषिराम गौतमले फोन सम्पर्कमा भने, ‘कर्मचारीको मिलेमतोमा फसाउन खोजिएको छ ।’ उनले आफ्नो कम्पनीका लागि रोक्का गरिएको जग्गा आफूलाई जानकारी नै नदिइ साटफेर गरेको आरोप लगाए ।
‘धितो राखेको जग्गा कसरी परिवर्तन भयो त ?’ यसबारे महानगरका कर्मचारी नै अनभिज्ञ छन् । महानगर राजस्व शाखा अधिकृत छविलाल शर्मा पनि धितो राखेर रोक्का भइसकेको जग्गा साटफेर गर्न नमिल्ने बताउँछन् । ‘यसरी यताको उता, उताको यता त गर्न नमिल्ने हो,’ उनले भने ।
हाल धितोमा रहेको तनहुँ म्याग्देको जग्गा रोक्का र पोखरा १० मा फुकुवा भएको जग्गामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलको हस्ताक्षर छ । पौडेलकै मिलेमतोमा रोक्का महानगरले रोक्का गरेको जग्गा साटफेर गरेको आरोप महानगर स्रोतको छ । महानगरसँग भएको अभिलेखमा तनहुँ छाङको जग्गा रोक्का भएको ५ महिनापछि पोखराको जग्गा फुकुवा भएको देखिन्छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया