पोखरामा साग तयारीः बिच भलिबल कोट निर्माण तीव्र

समाधान संवाददाता २०७६ कार्तिक ५ गते १४:०४

सुरेशराज अधिकारी
पोखरा

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बिच भलिबल प्रतियोगिताका लागि वाराही घाटको खेल मैदान निर्माण प्रक्रिया अघि बढेको छ । साग खेलका लागि वाराही घाटको खेलमैदानमा अहिले १ भलिबल कोर्ट बनेको छ ।

यसअघि पोखरामा बिच भलिबलबको कोर्ट निर्माण गरिएको थिएन । ५ रोपनी क्षेत्रफलमा ३ वटा कोर्ट बनाउने योजना अघि बढिसकेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुरीले बताए ।

Advertisement

अहिले कोर्ट निर्माण स्थलमा माटोले पुर्ने काम भइरहेको छ । कात्तिक २ देखि काम सुरु भएको मैदानमा भएको झाडी पन्छाएर माटोले पुर्ने काम भएको छ । फेवातालको माथिल्लो भागको माटोले अहिले पुर्ने काम भएको हो । फेवातालको माथिल्लो भागको माटो उपयुक्त भएका कारण उक्त माटो प्रयोग गरिएको हो ।

५५ सय घनमिटर माटोले उक्त ठाउँमा पुनुपर्ने पराजुलीले बताए । खेलमैदान बनाउने ठाउँको जमीन गहिरो भएको कारण माटोले पुर्नु परेको हो ।

Advertisement

उनले अहिले २७ सय घनमिटर माटो खेल मैदानमा हालिसकेको बताए । पराजुलीका अनुसारमा २ वटा जेसीबीले माटो खन्ने र सम्याउने १२ वटा टिप्परले माटो बोक्ने काम भइरहेको छ । बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म काम चलेको छ । उनका अनुसार ४ दिनमा भलिबल कोर्ट निर्माण पूरा हुनेछ । चेन्जिङ रुम र अन्य भौतिक संरचना पनि निर्माणका लागि योजना अघि बढेको छ । तर पूर्णरुपमा काम सम्पन्न हुन अझै १० दिन लाग्नेछ । आगामी ९ गतेदेखि बिच भलिबलका खेलाडीलाई पोखराको खेल मैदानमा नै प्रशिक्षण दिइनेछ । खेल मैदान वरिपरि अस्थायी चर्पी प्रयोग हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राजेश गुरुङले बिच भलिबलका लागि मात्र ५२ लाख रुपैयाँ बजेट निकासा भएको बताए । उनले अबको केही दिनमा नै थप बजेट निकास हुने बताए । १ महिनाअघि नै बिच भलिबलका लागि भौतिक संरचना निर्माण गर्न ५२ लाख रुपैयाँ माग गरिएको थियो । ट्रायथोलन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन पोखरामा हुने गुरुङले बताए । गुरुङले अन्य खेलका लागि पनि भौतिक संरचना निर्माण तीव्र पारिएको बताए ।

तपाईको प्रतिक्रिया