पर्यटन मन्त्रीद्धारा मराङ होम–स्टे उद्घाटन

समाधान संवाददाता २०७६ कार्तिक १३ गते १३:३२

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईद्धारा सोमबार मराङ सामुदायिक होम स्टे उद्घाटन । तस्विर सौजन्य जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ ।

सुन्दरकुमार थकाली, जोमसोम

अप्पर मुस्ताङको मुख्य राजमार्ग सडक सञ्जाल देखि करिव ५ किमी पश्चिममा रहेको मराङ सामुदायिक होम स्टेको सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एक समारोहकाबीच उद्घाटन गरेका छन् । प्रस्तावित चराङ बिमानस्थलको संम्भाव्यता अध्ययन र निरीक्षण गर्ने क्रममा मन्त्री भट्टराईले होम स्टे उद्घाटन गरेका हुन् ।

Advertisement

सो अवसरमा मन्त्री भट्टराईले चराङमा एयरपोर्ट बनेपछि धेरै धेरै स्वदेशी तथा बिदेशी पर्यटक यहाँ आउने भएकाले होम स्टे का साथै होटलहरुको संख्या बृद्धि गर्नुपर्ने उल्लेख गरे । यहा एयरपोर्ट बनाउन सबै हिसाबले उपयुक्त भएको मन्त्री भट्टराइको भनाई थियो । उनले पर्यटन बिकासका लागि होम स्टे संञ्चालन ग्रामिण भेकका जनतालाई गतिलो माध्यम भएको बताए । मन्त्री भट्टराईले सरकारले पर्यटन बिकासका लागि भौतिक पुर्वाधार र प्रचार प्रसारमा जोड दिएको जनाए । सरकारले भिजिट नेपाल २०२० लक्ष्य गर्दै पर्यटन विकासको उपयुक्त श्रोत निर्माण गर्दै गरेको अवस्थामा ग्रामिण होम स्टेले पर्यटकले खोजेका र चाहेका सबै कुरा पुरा गर्न सक्ने उल्लेख गरे । संघीय सांसद पे्रमप्रसाद तुलाचनले मुस्ताङको पर्यटन शिङ्गो नेपालको पर्यटन संग जोडिएकाले यसका लागि सरकारले यहाका प्राकृतिक श्रोत साधनलाई जिवन्त तुल्याउन आवश्यक भएको औल्याए । प्रदेश सांसद ईन्द्रधारा बिष्टले होम स्टे संञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताए ।

मराङमा ५ घरधुरीले होम स्टे संञ्चालन गरेका छन् । केही महिना अघि अघोषित रुपमा सुरु भएको होम स्टेको पर्यटन मन्त्री भट्टराईले सोमबार उद्घाटन गरेका हुन् । नजिकै रहेको उपल्लो मुस्ताङको लोमान्थाङ र चराङ गाउ गुल्जार रहदा होम स्टे सुरु भएको यो गाउ ओझेलमा पर्दै आईरहेको थियो । सामान्यतया बिदेशी पर्यटक मात्र पुग्ने गरेको मराङ गाउमा स्वदेशी पर्यटक समेत पुग्ने वातावरण सृजना गर्न खोजिएको जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिईन ।

Advertisement

कृषि र पर्यटन व्यवसायमा आवद्ध मराङबासीमा होम स्टे संञ्चालनले पर्यटन व्यवसाय गर्ने आधार तय भएको हो । यसका लागि प्रादेशिक होम स्टे संञ्चालनका लागि गण्डकी प्रदेशल जिल्लाका ३ होम स्टेलाई प्राथमिकतामा राखेको थियो । गत आर्थिक बर्ष मराङ सहित बाकी २ होम स्टेलाई गण्डकी प्रदेशले १० लाख अनुदान उपलब्ध गराएको थियो । प्राप्त अनुदान र गाउपालिकाको अनुदानबाट होम स्टे पूर्वाधारमा जोड दिएको गाउपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । यसअघि अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापबाट पनि होमस्टे कुकिङ र पर्यटक आतिथ्यताका संम्वन्धि तालिम दिएको थियो । कुल ४६ घरधुरी रहेको मराङ गाउमा क्रमशः होमस्टे संख्या बृद्धि गर्ने लक्ष्य रहेको होम स्टे संञ्चालक धावा गुरुङले जानकारी दिए ।

उपल्लो मुस्ताङको अनौठो भुगोल र मनोरम प्राकृतिक सौन्दर्यले पर्यटक मोहित हुन्छन् । यहा नेपालकै पुरानो घर गुम्बा अवस्थित छ ।यस्तै मराङ पुग्ने स्वदेशी तथा बिदेशी पर्यटकले लाङबुछे भ्यु प्वाईन्ट ,गोलाखा गुफा ,ट्रेसर गुफा ,ङ्ग्री पेनचेन फुट प्रिन्ट एण्ड गुफा ,एप्पल गार्डेन र गासे फु अवलोकन गर्न सक्नेछन् । यस्तै त्यहा पुग्ने पर्यटकले विभिन्न अर्गानिक लोकल खानाको परिकारको स्वाद समेत लिन सक्ने छन् भने त्यहा रहेको ऐतिहाँसिक तथा धार्मिक बिषय बस्तुको अध्ययन र अवलोकन गर्न समेत सकिने मराङ सामुदायिक होम स्टेले जनाएको छ ।

तपाईको प्रतिक्रिया