मुग्लिन-पोखरा सडक चार लेनको बन्ने, एडिबीले स्वीकृत गर्‍यो २२ अर्ब ऋण

समाधान संवाददाता २०७६ कार्तिक १४ गते १२:१०

समाधान संवाददाता, काठमाडाैं

मुग्लिनदेखि पोखरासम्मको सडक विस्तारका लागि एसियाली विकास ब‌ैंकले २२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । बैंकले उक्त सडक खण्ड फराकिलो बनाउने र मर्मतका ऋण स्वीकृत गरेको जानकारी गराएको छ ।

सन् २०२५ सम्म निर्माण सम्पन्न हुने लक्ष्य लिइएको यो आयोजनामा पोखरादेखि आबुखैरेनीसम्मको ८१ किलोमिटर खण्ड चार लेनमा विस्तार गरिने छ ।

Advertisement

सरकारले पनि साढे ५ अर्ब लगानी गर्ने यो सडकको बाँकी ८ किलोमिटर खण्डमा पनि मर्मत हुने बताइएको छ ।

नेपालको मुख्य पर्यटकीय गन्तव्य पोखरा काठमाडौंबाट २ सय  किलोमिटरको दूरीमा छ । यो खण्डमा दैनिक ७ हजार ४ सय सवारीसाधन हिँड्छन् । अहिले उक्त सडक साँघुरो तथा गुणस्तर कमजोर हुँदा राम्रो यातायात नभएको गुनासो छ ।

Advertisement

विस्तारित सडकमा सुरक्षाका फिचर्स, चेतावनी लाइट सिस्टम जडान हुने एसियाली बिकास बैंकले जानकारी गराएको छ । सहरी क्षेत्रमा सडकमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि विशेष पूर्वाधार बनाइने बैंकले प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

यो आयोजना सम्पन्न भएपछि दुई ठूला सहरबीचको अविच्छिन्न यातायातमात्र नभइ यसले आर्थिक गतिविधि पनि बढाउने बैंकको विश्वास छ ।

‘यो आयोजनाले सडकको ट्राफिक क्षमता बढाउनेमात्र होइन विश्वासनीय र सुरिक्षत सडकबाट पोखरा र काठमाडौंलाई जोड्ने छ’ एसियाली विकास बैंकका यातायात विशेषज्ञ जोन जियोगेटले भने, ‘राजमार्ग चार लेनमा विस्तार हुनेछ, यसले यात्रा र समय, यात्रा लागत घटाउने छ । त्यस्तै यसले आन्तरिक बजारमा पहुँच बढाउनुका साथै रोजगारी र सामाजिक सेवामा पनि पहुँच बिस्तार गर्ने छ । आन्तरिक बजारसँगै यसले अन्तर्राष्ट्रिय बजारको पनि फराकिलो गेटवे बन्ने छ विशेषगरी भारतीय पर्यटकका लागि पोखरा सहज गन्तव्य बन्ने छ ।’


तपाईको प्रतिक्रिया