फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा’ चोक नामकरण

पोखरा । फुटबल खेलमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडी सावित्रा भण्डारीको सम्मानमा लमजुङको मस्र्याङदी गाउँपालिका–९ खुदी पुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरिने भएको छ।
वि.सं. २०५४ जेठ १० गते मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मिएकी सावित्रा भण्डारी नेपाली महिला फुटबलको एक चर्चित नाम हो। उनी ‘साम्बा’ उपनामले पनि परिचित छन्। सशस्त्र प्रहरी बल क्लबबाट आफ्नो व्यावसायिक फुटबल यात्रा सुरु गरेकी सावित्राले हालसम्म नेपाली राष्ट्रिय महिला टोलीका लागि ५० भन्दा बढी गोल गरिसकेकी छन्।
गाउँपालिकाको चैत ३ गते बसेको कार्यपालिका बैठकले सर्वसम्मतिले सावित्राको फोटोसहितको होल्डिङ बोर्ड राखेर ‘साम्बा चोक’ नामकरण गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले जानकारी दिए।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार, “हाम्रो चेली सावित्राले नेपाललाई विश्वसामु चिनाउन सफल भएकी छन्। यो हाम्रो लागि गौरवको विषय हो। राष्ट्रको गहनाको रूपमा स्थापित सावित्राको सम्मानार्थ चोकको नामाकरण गर्न लागिएको हो।”
अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जाने सडकमा रहेको मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई ‘साम्बा चोक’ नामाकरण गर्दा सावित्राको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने स्थानीयवासीले बताएका छन्।
हाल फ्रान्सेली लिग प्रिमियरको अँ आभोँ गेँगोँ फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपंक्तिमा खेल्दै आएकी सावित्राले आफ्नै नाममा चोकको नामाकरण गरिनु सम्मानजनक रहेको बताएकी छन्।
उनले भनिन्, “मेरो नाममा चोकको नामाकरण गर्ने निर्णयले मलाई अत्यन्त खुसी तुल्याएको छ। यो निर्णयका लागि म गाउँपालिका परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।”
सावित्रा भण्डारी नेपाली महिला फुटबल टोलीकी सर्वाधिक उच्च गोलकर्ता हुनुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने पहिलो नेपाली खेलाडी पनि हुन्।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया