गुरुकुल शिक्षामा आकर्षण

पोखरा । पोखरा ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय वैदिक गुरुकुलीय पद्धति अनुसारको शिक्षाका लागि विद्यार्थी तथा अभिभावककको आकर्षण बन्दै गएको छ । कक्षा ६ देखि १० सम्म निशुल्क आवास र भोजनको व्यवस्था गर्दै आएको विद्यालयमा हाल देशका विभिन्न जिल्लाबाट आएका २९ विद्यार्थी छन् ।
गुणस्तरीय शिक्षामा जोड दिँदै आएको यस विद्यालयलाई वैदिक गुरुकुलीय पद्धति अनुसारको गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाचार्य प्रकाश उपाध्याय (रेग्मी)ले बताए । विद्यालयले निशुल्क आवाश एवम् भोजनको व्यवस्थासहित विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउँदै आएको छ ।
विद्यालयले साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तर्गत संस्कृतभाषा सम्भाषण, वक्तृत्कला, हाजिरीजवाफ, प्रवचन, वादविवाद, कविता, खेलकुद आदि सञ्चालन गरेको छ भने योगाभ्यास, संगीत शिक्षा आदि सञ्चालन गरिरहेको छ । वार्षिक रुपमा शैक्षिक अवलोकन भ्रमण, वनभोज जस्ता विभिन्न क्रियाकलापका साथै अनुशासित तथा जेहेन्दार विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्थासमेत गरिएको छ ।
विद्यालयमा नेपाली, अंग्रेजी, गणित, सामाजिक, वेद, व्याकरण, संस्कृत भाषा, कर्मकाण्ड, गीत कम्प्युटर आदि विषय पठपाठन हुन्छ । विद्यालयले यस शैक्षिक वर्षका लागि पनि सीमित सिटका लागि कक्षा ६, ७, ८ र ९ मा आवेदन फारम आह्वान गरेको सहायक प्रधानाचार्य प्रविण पौडेलले जानकारी दिए ।
आगामी फागुन ८ गतेसम्म फाराम आह्वान गरिएको र प्राप्त आवेदन अनुसार वैशाख ९ गते प्रवेश परीक्षा गरिने उनको भनाइ छ । निम्बार्क सम्प्रदाय विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा राधाकृष्ण मन्दिर स्थापना भएपछिको महत्वपूर्ण उपलब्धिका रूपमा यहाँस्थित वृद्धाश्रम र गुरुकुल संस्कृत विद्यालयलाई लिने गरिएको छ ।
मन्दिर स्थापनाको पाँच दशकपछि २०७० मा स्वीकृति प्राप्त गरी २०७१ सालबाट राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनमा ल्याइएको हो । शुक्लागण्डकीको पावन तट पोखरा र मुक्तिनाथको प्रवेशद्वार गगन, च्यवन आदि ऋषिहरूको तपस्थलिमा रहेको यस विद्यालयलाई महत्वपूर्ण शैक्षिक गन्तव्यका रुपमा विकास गर्न खोजिएको छ । संस्कृत माध्यमिक विद्यालयको पाठ्यक्रममा आधारित रही गुणस्तरीय शिक्षाका लागि विद्यालय निरन्तर क्रियाशील रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले सुनाए ।
तपाईको प्रतिक्रिया