जिप्रकामा रहेका थुनुवाकाे स्वास्थ्य जाँच

समाधान संवाददाता २०७६ कार्तिक २८ गते १४:०६

समाधान संवाददाता
पोखरा

विभिन्न अपराध आरोपमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा राखिएका थुनुवाको स्वास्थ्य जाँच गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी अस्पतालसँगको समन्वयमा पोखराको मणिपाल शिक्षण अस्पतालको चिकित्सक टोलीले बुधबार स्वास्थ्य जाँच गरेको हो । विभिन्न अपराध आरोपमा कास्की प्रहरीको थुनुवा कक्षमा ६७ पुरुष र ५ महिला गरी ७२ जना छन् ।

हिरासतमा राख्दा स्वास्थ्य सम्बन्धी निगरानी राज्यको दायित्व भएका कारण थुनुवाको नियमित स्वास्थ्य जाँच गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए ।

Advertisement

‘सहज अवस्थामा घरमै बसिरहेको मानिसलाई समेत संक्रमण हुन सक्छ भने हिरासत भनेको सहज पक्कै हुँदैन,’ उनले भने, ‘नियमित स्वास्थ्य जाँच गर्दा गम्भीर प्रकृतिको समस्या देखिएमा पनि प्रहरीकै निगरानीमा अस्पतालमा उपचार गर्ने गरिन्छ ।’

कास्की प्रहरी कार्यालयभित्रै स्वास्थ्य जाँच गर्न मणिपालबाट डा एलिसा मानन्धर, डा निलम श्रेष्ठ र स्मीता काफ्लेसहितको १० जनाको चिकित्सक टोली खटिएको अस्पतालका सिनियर मार्केटिङ एक्जुकेटिभ प्रेमबहादुर अर्यालले जानकारी दिए ।

Advertisement

थुनुवाहरुको जनरल मेडिसिन, ब्लड प्रेसर, छाला सम्बन्धी, आँखा, नाक, कान, घाँटी सम्बन्धी जाँच गरिएको उनले बताए । अस्पतालमै राखेर उपचार गर्नुपर्ने थुनुवाको हकमा विशेष सहुलियतका साथ उपचार गराइरहेको अर्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया