दमाैली अस्पतालमा ४ वर्षमा २४ हजार ९ सय पटक डायलासिस

समाधान संवाददाता २०७६ मंसिर ४ गते १३:०४

कृष्ण न्यौपाने
दमौली

तनहुँको दमौली अस्पतालमा स्थापना भएको शत्रुधन मन्जु डायलासिस केन्द्रले मंगलबारबाट ४ वर्ष पूरा गरेको छ । विसं २०७२ साल मंसिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले ४ वर्षको अवधिमा २४ हजार ९ सय ८६ पटक डायलासिस सेवा प्रदान गरेको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । पण्डितका अनुसार केन्द्रबाट हालसम्म २ सय १० जना मृगौला पीडितले डायलासिस सेवा लिएका छन् । केन्द्रमा नियमित डायलासिस गराउने मृर्गौला पीडितको संख्या भने ७२ जना छन् ।

केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मृगौला पीडितले पनि डायलासिस सेवा लिइरहेका छन् । लमजुङ, गोरखा, स्याङ्जा, कास्की जिल्लाका मृगौला पीडितले केन्द्रबाट नियमित डायलासिस सेवा लिइरहेको पण्डितले जानकारी दिए । पण्डितका अनुसार हप्तामा २ पटक डायलासिस सेवा लिने मृगौला पीडित ६६ र हप्तामा ३ पटक डायलासिस सेवा लिने मृगौला पीडित ६ जना छन् । केन्द्रमा ९ वटा डायलासिस गराउने उपकरण छ । केन्द्रमा दैनिक २४ देखि २७ जना मृगौला पीडितले डायलासिस सेवा लिइरहेका छन् । केन्द्रमा मृगौैला पीडितको चाप बढेकाले माग अनुसार सेवा दिन कठिन भएको छ । केन्द्रमा १ पटकमा ९ जनाले डायलासिस सेवा लिन सक्छन् ।

Advertisement

भानु नगरपालिका ४ निवासी मुरली रानाभाटले दमौलीमै डायलासिस केन्द्र स्थापना भएपछि सहज भएको बताइन् । लमजुङका कमानसिंह गुरुङले पनि दमौलीबाट डायलासिस सेवा लिन पाउँदा सजिलो भएको सुनाए । हेल्थ केयर फाउन्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा १ करोड सहयोग गरेकी थिइन् भने पछि उपकरण थप गर्नका लागि २५ लाख उपलब्ध गराएकी थिइन् ।

केन्द्रमा सुरुमा १ करोड २० लाखको लागतमा ६ वटा डायलासिस उपकरण जडान गरिएको थियो । पछि ३ वटा उपकरण थप गरेपछि केन्द्रमा हाल ९ वटा डायलासिस उपकरण छ ।

Advertisement

तपाईको प्रतिक्रिया