निजी क्षेत्र दुब्लाउँदा देश समृद्ध हुँदैनः अधिकारी

समाधान संवाददाता २०७६ मंसिर ४ गते १४:०७

समाधान संवाददाता
पोखरा

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले निजी क्षेत्र दुब्लाउँदै जाँदा समृद्धि प्राप्त नहुने बताएका छन् । उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई सँगै अघि बढाउन र सक्षम बनाउने दिशमा काम गर्न सरोकारवालासँग आग्रह गरे । अध्यक्ष अधिकारीले आठौँ राष्ट्रिय कर दिसवको सन्दर्भमा पोखरा उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय पोखराले सोमबार आयोजना गरेको ‘वर्तमान कर कानुन’बारे भएको अन्तक्र्रियामा यस्तो बनाएका हुन् ।

उनले व्यवसायी कर प्रशासनलाई देख्नासाथ तर्सने तथा राम्रा कार्यक्रम र नीति भए पनि कर प्रशासनले व्यवहारिकता नहेर्दा समस्या भएको तर्क गरे । उनले निजी क्षेत्र करको दायित्वबाट विमुख हुन नहुने जनाउाँदै कर प्रशासनमा पनि केही सुधार जरुरी रहेको औंल्याए ।

Advertisement

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले कुल ग्राहस्थ उत्पादनमा ७० प्रतिशत योगदान दिने निजी क्षेत्रलाई उपेक्षा गरेर अघि बढ्ने अवस्था नभएको प्रष्ट पारे । उनले अहिलेको प्रशासन कर मैत्री भएको र कर निर्धारणको पहिलो अधिकार पनि स्वंय करदातालाई दिइएको उल्लेख गरे ।

संघका उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदीले कर तिर्ने सहज वातावरण निर्माणमा गरी जटिलता केही भए त्यसबारे व्यवसायीलाई जानकारी दिन कर कार्यालय तयार हुनुपर्ने धारणा राखिन् । संघका महासचिव अर्जुन पोखरेलले राज्यलाई तिर्नुपर्ने करको दायित्वप्रति निजी क्षेत्र सचेत रहेको बताउँदै कर कानुनबारे जानकारी राख्न उद्योगी, व्यसायीसँग आग्रह गरे । संघका कार्यसमिति सदस्य चिन्तामणि बास्तोलाले सामाजिक सुरक्षा कोषका लागि छुट्याइएको रकम कहाँ जम्मा गर्ने भन्ने अन्योल चाडै हटाउन आग्रह गरे ।

Advertisement

पृथ्वी होटल संघका निवर्तमान अध्यक्ष कमल न्यौपानेले घरबहाल कर घरबेटीले नतिर्दा भाडामा बस्ने व्यवसायी प्रताडित भएको गुनासो गरे । हेभी इक्युपमेन्ट व्यवसायी बालकृष्ण कोइरालाले आफ्नो सेवा व्यवसायमा थपिएको मूल्य अभिवृद्धि कर र इन्धनमा छुट नदिँदा व्यवसाय धराशायी भएको बताए । इलेक्टोनिक्स व्यवसायी मुक्तिनाथ आचार्यले कमाउने व्यक्तिसँग कर लिने व्यवस्था कडाइका साथ लागु गर्न र घरबहाल कर घरधनीसँगै उठाउने व्यवस्था मिलाउन माग गरे ।

पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य ऋषिराम शर्माले टिडिएसलाई सम्पत्ति करमा मिलान गर्ने व्यवस्था कार्यान्वयन हुनुपर्ने धारणा राखे । पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले साना र मझौला व्यवसायीलाई संरक्षण गर्न कर प्रशासन लचिलो बन्नुपर्ने धारणा राखे ।

सबै करदाता कर अधिकृतः उप्रेती
आठौं कर सप्ताहको सन्दर्भमा आन्तरिक राजश्व कार्यालय पोखरा र पोखरा चेम्बर अफ कमर्स कास्कीले संयुक्त रुपमा उद्योगी र व्यवसायीसँग छलफल कार्यक्रम गरेका छन् । छलफलमा उद्योगी र व्यवसायीको प्रश्नको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख केशव उप्रेतीले जवाफ दिएका थिए ।

उप्रेतीले पहिलो कर अधिकृत व्यवसायी भएको बताए । उनले नेपालमा स्वयंले कर निर्धारण प्रणाली भएकाले सबै करदाता पहिलो कर अधिकृत भएको दाबी गरे । आन्तरिक राजस्व कार्यालय करदातामैत्री भएको दाबी गर्दै उनले नेपालको कर प्रणाली प्रगतिशील रहेको सुनाए । ‘करदाताले बिचौलियामार्फत फारम भराउँदा अनावश्यक व्ययभार व्यहोर्नुपरेको छ,’ उनले भने, ‘आन्तरिक राजस्व कार्यालयमा व्यवसाय दर्ता गर्दा कुनै पैसा लाग्दैन ।’

उनले चोरी, निकासी कम गर्न व्यवसाय अनिवार्य दर्ताको व्यवस्था गरिएको दावी गरे । उनले ३ तहको सरकारले आआफ्ना ढंगले कर तथा राजस्व उठाउने भएकाले एकद्वार प्रणाली अपनाउन नसकिएको बताए । उप्रेतीले कर सचेतना अन्तर्गत सिस्नुपानी नेपालले देशव्यापी करमैत्री यात्रा गर्ने जानकारी दिए । आन्तरिक राजस्व विभागको आयोजनामा मंसिर ६ गते पोखरा सभागृहमा सिस्नोपानी नेपालका कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नाने, अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षी, टंक आचार्य, शिशिर योगी, सरोज घिमिरे लगायतले हास्यव्यंग सहितको प्रस्तुति गर्ने उनले उल्लेख गरे ।

पोखरा चेम्बर अफ कमर्स अध्यक्ष किशान सुनारले उद्योगी व्यापारीको हकहित र सचेतनाका लागि नियमित प्रशिक्षण चलाउने प्रतिवद्धता गरे । घरवहालमा व्यवसाय गर्नेका समस्या हल गर्न पहल गर्ने उल्लेख गर्दै उनले हेल्प डेस्कमार्फत व्यवसायीका गुनासा सुन्ने संयन्त्र विकास गरेको बताए ।
कार्यक्रममा कमर्सका महासचिव उमराज बास्तोला, कार्यक्रम संयोजक नवराज आचार्य लगायतले व्यवसायीलाई परेका करसम्बन्धी समस्याबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया