पोखरा–मुग्लिन सडक सहज बन्दै

गण्डकी ।
निर्माण चरणमा खेपेको धूलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब ४ लेनको सडकमा पोखरा–मुग्लिन यात्रा गर्न पाउने भएका छन् । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ ।
५० वर्षअघि निर्माण भएको पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । गण्डकी प्रदेशको ‘लाइफलाइन’का रूपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा हालसम्म भौतिक प्रगति ८२.९५ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने)मा ५०.३४ प्रतिशत पुगेको छ । पूर्वी खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार ४१ दशमवल ४५ किमी दूरीको उक्त खण्डमा ३ किमीमात्र कालोपत्र हुन बाँकी छ ।
‘कालोपत्र अन्तिम चरणमा पुगेको छ, दमौली र डुम्रे बजारमा गरी करिब २ किमी सडक छ लेनको बनेको छ, अन्यत्र चार लेनको छ’, उनी भन्छन्, ‘आगामी असारभित्रमा पूर्वी खण्डको काम सक्ने लक्ष्य छ ।’ पूर्वी खण्डमा पर्ने १७ साना–ठूला पक्की पुल गत वर्ष नै निर्माण भएको इन्जिनियर पाण्डेले सुनाए ।
तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ । कोभिड महामारी लगायतका कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय तीव्र गतिमा सडक निर्माणको काम भएको छ । पूर्वी खण्डमा विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । उक्त खण्डको ठेक्का रकम ६ अर्ब २१ करोड ३१ लाख छ ।
आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख कृष्णबहादुर कुँवरले आगामी जेठ पहिलो साताभित्र उक्त खण्डमा एकतर्फी (दुई लेन)मा कालोपत्रको काम सकिने बताए । ३८ दशमलव ८८ किमि दूरीको उक्त खण्डमा हालसम्म ३५ दशमलव ५ किमी एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।
‘करिब ३ किमीमात्र एकतर्फी कालोपत्र हुन बाँकी छ, १८ किमीमा दुईतर्फी नै कालोपत्र भइसकेको छ’, आयोजना प्रमुख कुँवरले भने, ‘आउँदो असारभित्रमा ३० किमि दूरीमा दुईतर्फी नै कालोपत्र सक्ने लक्ष्य छ ।’ कास्कीको अमरसिंह, चाउथे, विजयपुर, तालचोक लगायत क्षेत्रमा एकतर्फी कालोपत्र हुन बाँकी छ ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि सेती पुलसम्म एकतर्फी कालोपत्र भइसकेको छ । ‘बिजुलीका पोल सार्न भएको ढिलाइले सडक निर्माणमा पनि केही असर पुर्याइरहेको छ’, उनी भनछन्, ‘अझै चार सय जति विद्युत् पोल हटाउनुपर्ने अवस्था छ ।” आगामी पुससम्म ठेक्काको म्याद रहेकाले उक्त अवधिमा कालोपत्र सक्ने गरी कामलाई गति दिइएको उनको भनाइ छ ।
कालोपत्र सकिएपछि फुटपाथ, सडक सुरक्षा लगायतका काम सुरु हुने छन् । पश्चिम खण्डमा १८ दशमलव ५ किमि दूरीमा ६ लेन र बाँकीमा ४ लेनको सडक बन्नेछ ।
‘यस खण्डमा सहरी क्षेत्र बढी भएकाले ६ लेनमा सडक विस्तार गरिएको हो’, आयोजना प्रमुख कुँवरले भने, ‘तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि ६ लेन सडक निर्माण भएको छ ।’ पश्चिम खण्डका १२ वटा पुलमध्ये १० वटा बनिसकेका छन् । कास्कीको विजयपुर र तनहुँको शेराटारमा पुल निर्माणको काम भइरहेको छ ।
पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत काम भइरहेको आयोजना प्रमुख कुँवरले बताए । उक्त पुलको भौतिक प्रगति ४४ दशमलव ६६ पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ । भ्याटबाहेक ९४ करोडको ठेक्कामा आकर्षक पुल बन्न लागेको हो ।
तनहुँको जामुनेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको ठेक्का पाएको थियो ।
दुवै खण्डका अधिकांश ठाउँमा एकतर्फी कालोपत्र भइसकेकाले पोखरा–मुग्लिन सडक यात्रा सहज बन्दै गएको छ । दुईतर्फी नै कालोपत्र सकिएपछि पोखरादेखि काठमाडौँ, नारायणगढ लगायतका गन्तव्यको यात्रा अझ धेरै छोटिनेछ । ८१ किमि दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । सरकारको प्राथमिकता प्राप्त यस सडक आयोजना निर्माणलाई गति दिन पोखराका पर्यटन व्यवसायी लगायतले दबाब दिँदै आएका थिए ।
गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडक मार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आउजाउ गर्दा धूलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका अन्त्य हुनेछ ।
पोखरा महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष राजेश गुरुङले सडक विस्तारका क्रममा सालिक लगायतका संरचना हटाउँदा पोखराका चोक पनि खुला र आकर्षक देखिएको बताए । अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोकलगायत ठाउँमा मापदण्ड विपरीतका संरचना हटाएर चोकहरूलाई चौडा बनाइएको हो ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया