८३ वर्षीय ‘पुतली बाजे’ लाई सम्मानार्थ नेपाली नागरिकता

समाधान संवाददाता २०७६ मंसिर ८ गते १२:५२

ईश्वर देवकोटा
पोखरा

पुतली बाजे नामले चर्चित बेलायतका नागरिक कोलिन स्मिथले सम्मानार्थ नागरिकता पाउने भएका छन् । नेपाल सरकारको गत कात्तिक २९ गते बसेको मन्त्रिपरिषद बैठकले लामो समयदेखि नेपाल रहँदै आएका स्थिमलाई योगदानको कदर गर्दै सम्मानपूर्वक नागरिकता प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाली नागरिकताका लागि उनले पेस गरेका आवश्यक कागजात हेरी सम्मानार्थ नागरिकता दिनका लागि गृहले मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका अधिकृत अरुण सापकोटाले स्मिथले सरकारको निर्णयानुसार नै नागरिकता पाउने जानकारी दिए ।

Advertisement

‘संघीय मन्त्रिपरिषदको निर्णयमा गृहले सम्मानार्थ जारी गर्न सक्छ,’ उनले भने, ‘धेरै पहिले २ जनालाई सम्मानार्थ नागरिकता दिएको थियो । बीचमा लामो समय भयो दिएको छैन । ऐन वा कार्यविधिमा पनि प्रष्ट खाका नभएकाले गृहले केही तयारी गरेर दिन्छ ।’ नागरिकता ऐन, २०६३ मा व्यवस्था भएअनुसार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सरकारले सम्मानार्थ नागरिकता प्रदान गर्न सकिने प्रावधान भने उल्लेख छ ।

स्थिम सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेसाका लागि नेपाल आएका थिए । उनी ८३ वर्ष पुगिसकेका छन् । गोरखाको अमरज्योति मावि (लुइँटेल) मा विज्ञान र गणित शिक्षकको रुपमा उनी कार्यरत थिए । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र दिवंगत भइसकेका वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा उनका शिष्य थिए । उनी पुतली विज्ञका रुपमा समेत परिचित छन् ।

Advertisement

नेपाली नागरिकताका लागि पटकपटक प्रयास गरेका स्मिथले पछिल्लोसमय जिल्ला प्रशासन कार्यालय कास्कीमा समेत निवेदन दिएका थिए । बेलायतमा आफ्ना कोही नभएको बताउने स्मिथ नेपालमै अन्तिम सास फेर्न मन भएको सुनाउँथे । जीवनको लामो कालखण्ड पुलतीको अनुसन्धानमै बिताएका स्थिमले त्यसबारे थुप्रै पुस्तक समेत प्रकाशन गरिसकेका छन् । स्मिथ पोखरा महानगरपालिका १८ ग्यारजातीस्थितमा बस्छन् । उनीसँग लामो सयम काम गर्ने एक परिचितको नामबाट घर जग्गा किनेर बस्दै आएका हुन् । भिसा अवधि थप्दै नेपाल बसेका स्मिथलाई गृहले सम्मानार्थ नागरिकता दिलाउने खबर पाएपछि उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालमा बधाई दिएका छन् ।

उनी केहीदिनमै नागरिकता प्राप्तिका लागि पोखराबाट काठमाडौं प्रस्थान गर्ने तयारीमा रहेको उनका निकटस्थले जानकारी दिएका छन् । गृह स्रोतका अनुसार हालसम्म नेपालमा यसअघि २ जनाले मात्रै पाएका थिए । गत कात्तिक २९ को मन्त्रिपरिषद निर्णयले स्मिथ सहित एक कोरियाली नागरिकलाई सम्मानार्थ नागरिकता दिने भएको हो । नेपालबाट पहिलो सम्मानार्थ नागरिकता पाउने व्यक्ति प्रथम सगरमाथा आरोही न्यूजिल्यान्डका नागरिक एडमन्ड हिलारी हुन् । यससँगै सम्मानार्थ नागरिकता पाउनेको संख्या ४ पुग्ने भएको छ ।

तपाईको प्रतिक्रिया