यु १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगितामा जनप्रिय र सृजनाको जित

पोखरा । सृजना बोर्डिङ स्कुलले हिमालयन बोर्डिङलाई ९ रनले पराजित गरेको छ । पोखरामा आयोजित यु १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगितामा टस हारेर व्याटिङको अवसर पाएको सृजनाले सोनु यादवको उत्कृष्ट पारीमा ६ विकेटको क्षतिमा १३९ रनको योगफल तयार पार्यो । उनले तेस्रोा नम्बरमा आउँदै २४ बलमा सर्वाधिक ४८ रन बनाए । केवल दुई रनले अर्धशतक पुरा गर्नबाट चुके ।
त्यस्तै विशाल ढकालले ३५ बलमा अविजित ४२ रनको योगदान दिँदा दिवस तिवारीले ४५ बल खेल्दै ३० रन बनाए । लाईजु पुर्जाले ४ ओभर एक मेडन राख्दै ४१ रन दिएर २ विकेट लिए ।
जवाफी व्याटिङ गरेको हिमालयन भने ५ विकेटको क्षतिमा १३० रनमा समेटियो । जितको लक्ष्य पुरा गर्न ९ रनले चुक्यो । सन्दीप नेपालीले अविजित ४६ रन बनाउँदै जित तर्फ डोहोर्याए । तर अन्य व्याटरको भरपर्दो व्याटिङ नहुदाँ हार स्वीकार्न पुग्यो । सुदर्शन कोइरालाले १४ र सफल थापाले १२ रन बनाए । अवि पोखरेलले ४ ओभरमा १५ रन दिएर २ विकेट लिए ।
यसैगरी अर्को खेलमा जनप्रिय स्कुलले हावर्ड एकेडेमीलाई १३२ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको जनप्रियले मुस्कान भट्टराईको अर्धशतीय पारीमा १७८ रनको विशाल योगफल तयार पार्यो । ३९ बल खेल्ने क्रममा भट्टराईले १३ चौका र १ छक्का सहित ७८ रनको पारी खेले । त्यस्तै तेस्रो नम्बरमा आएका यथार्थ पौडेलले ३९ रन बनाए । टेकप्रसाद ढकाल भने १३ रनमा अविजित रहे । हिमान्त चापागाँईले दुई र दिप्सन भण्डारीले दुई विकेट लिए ।
विशाल लक्ष्य पछ्याएको हावर्ड एकेडेमी भने ४६ रनमा समेटियो । कृष्ण ढकाल र सन्देश तामाङले क्रमश चार र तीन विकेट लिएपछि हावर्डका व्याटर सस्तैमा पभेलियन फर्किए । सर्वाधिक रन अनुज गुरुङको नाममा लेखियो । उनले केवल ११ रन बनाए । व्याटरले १८ रन बनाउँदा २८ रन अतिरिक्त थपियो । मुस्कान भट्टराई प्यलेर अफ दि म्याच घोषित भए ।
तपाईको प्रतिक्रिया