१६२ बालबालिकालाई शैक्षिक सामग्री वितरण

समाधान संवाददाता २०८२ वैशाख ३० गते १९:४६

बुलिङटार । कोपिला नेपाल र बुलिङटार गाउँपालिकाको संयुक्त साझेदारीमा सञ्चालन गरिएको “भविष्यका लागि सशक्तिकरण परियोजना” अन्तर्गत शैक्षिक सामग्री सहयोग, बाल क्लब सञ्चालन र बाल अधिकार सम्बन्धी सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम यस वर्षको वैशाख २२ गतेदेखि २९ गतेसम्म विभिन्न चरणमा सञ्चालन गरिएको हो।

Advertisement

कार्यक्रमको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाहरूलाई शैक्षिक पहुँचमा सहजता ल्याउनु, उनीहरूलाई विद्यालयमा आकर्षित गर्नु र बाल अधिकार सम्बन्धी चेतना अभिवृद्धि गर्नु रहेको थियो। यस अभियान अन्तर्गत बुलिङटार गाउँपालिका भित्रका आठवटा माध्यमिक विद्यालयहरू—त्रिभुवन, शिव, छत्तिसा, जनजागृति, सेतिनाग, गोरखकाली, उदय र देववडाचुलीमा अध्ययनरत १६२ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो।

प्रत्येक बालबालिकालाई विद्यालय पोशाक, कापी, कलम, झोला र स्वीटरसहितका आवश्यक शैक्षिक सामग्रीहरू वितरण गरिएको कार्यक्रमका संयोजकले जानकारी दिए। यस किसिमको सहयोगले आर्थिक अभावका कारण विद्यालय जानबाट वञ्चित हुँदै आएका बालबालिकाहरूलाई नियमित अध्ययनमा फर्कन थप उत्प्रेरणा मिल्ने विश्वास कार्यक्रम आयोजकहरूको छ।

कार्यक्रमका दौरान प्रत्येक विद्यालयमा बाल क्लबको सुदृढीकरण, बालअधिकारका बारेमा छलफल र सचेतना सत्र पनि सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू, प्रधानाध्यापकहरू, फोकल पर्सनहरू तथा बाल क्लब अध्यक्षहरूको सक्रिय सहभागिता थियो।

कार्यक्रमको अनुगमनका लागि कोपिला नेपालका संस्थापक तथा सल्लाहकार प्रकाशराज वाग्ले र कार्यकारी निर्देशक विना सिलवाल स्वयं बुलिङटारमा उपस्थित भई बालबालिकासँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए।

Advertisement

सोही कार्यक्रममा सहभागी वक्ताहरूले यस्ता कार्यक्रमहरूले आर्थिक अवस्था कमजोर भएका अभिभावकहरूलाई राहत प्रदान गर्नुका साथै, बालबालिकाहरूको पढाइमा निरन्तरता कायम राख्न अत्यन्त मद्दत पुग्ने धारणा व्यक्त गरेका थिए।

पूरे कार्यक्रमको समन्वय र सहजीकरणमा तीर्थबहादुर थापा र चुत्र राना मगरले विशेष भूमिका निर्वाह गरेका थिए।

कोपिला नेपालले आगामी दिनहरूमा पनि यस्ता समावेशी र बालमैत्री कार्यक्रमहरूलाई अझ प्रभावकारी ढंगले विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया