सम्पादकीय—प्रकोपअघि नै जनधनको क्षति रोक

समाधान संवाददाता २०८२ जेठ २ गते ९:५०

नेपालमा प्रायजसो जुन महिनाको दोश्रो साता (जेठको अन्तिम साता)मा मनसुन प्रवेश गर्छ । मनसुन याममा देशका अधिकांश देशका विभिन्न स्थानमा हुने वर्षातले धन जनको क्षति पुर्‍याउँछ । तर अहिले मनसुन सुरुहुन भन्दा एक महिना अगाडि देशभर अविरल वर्षा भइरहेको छ । वर्षाको कारण ठाउँ–ठाउँमा बाढी र पहिराले बितन्डा मच्चाइरहेको छ ।

Advertisement


गत असोज ११ र १२ गते रोशी खोलामा आएको बाढीले बगाउँदा क्षतविक्षत बनेपा सिन्धुली बर्दिवास (विपी) राजमार्ग वैशाखको अन्तिम साता आएको बाढीले फेरी क्षति पुर्‍याएको छ । अबिरल वर्षासँगै आएको बाढीले राजमार्ग अन्तर्गतको डाइभर्सन बगायो । बीपी राजमार्गका विभिन्न ठाउँ भासिएका छन् । पहिरो जान सुरु भइसकेको छ । पूर्व–पश्चिम राजमार्गको अवस्था पनि उस्तै छ । बुटबल नारायणगढ राजमार्ग सडक अन्तर्गत गिरुवारी खोलको पुल वर्षातले आएको बाढीको कारण भत्किएको छ ।


बर्खा नलाग्दै प्राकृतिक विपद्का घटना बढ्नु चिन्ताको विषय हो । २०८२ वैशाख १ देखि २८ गतेसम्मको अवधिमा बाढी पैरोको कारण २१ जनाको ज्यान गएको छ । ७ सय ३२ विपद्का घटनामा अनुमानित १७ करोडको क्षति भएको छ । विपद् व्यवस्थापनमा सरकारी सयन्त्र चुस्त दुरुस्त छैनन् । त्यसैले मनसुनी वर्षातको वेलमा झन ठुलो विपद्को सामना गर्नु पर्ने त्रास सर्वसाधारणमा छ ।

Advertisement


सरकारी निकायबीच समन्वय नहुँदा ठूलो मात्रामा धनजनको क्षति हुने गरेको विगतको तितो यथार्थ छ । विपद् पूर्वतयारी र विपद्जन्य प्रकोपमा परेको व्यक्तिको उद्धारमा गृह मन्त्रालय र प्राधिकरणबीच सहकार्यमा तारतम्य मिलेको छैन । प्राधिकरणले कुनै पनि निर्णय तत्कालै कार्यान्वयनमा लैजान सक्ने वातावरण छैन । प्राधिकरणका धेरै काम र संरचना निर्माणका लागि अनेक कानुन र अन्य क्षेत्रसँग ठोकिन्छन् । कानुनी झमेला र प्रक्रियागत झन्झट उस्तै छन ।

यही झन्झटले गर्दा नै २०८१ असोजमा गएको बाढीले बगाएको बीपी राजमार्गको पुनर्निर्माण अहिलेसम्म हुन सकेको छैन् । सरकारले राजमार्ग पुनर्निर्माणमा समयमा अग्रसरता नदेखाउँदा विपी राजमार्गमा वैशाखमै आएको बाढीले डाइभर्सन भत्किएको छ । आउँदो बर्खामा राजमार्ग पूर्णरुपमा ठप्प हुने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । विपद्जन्य प्रकोपबाट क्षति भएका संरचना निर्माण गर्नका लागि सरकारी प्रक्रिया अत्यन्तै लामो र झन्झटिलो छ । बाढीले सर्वस्व बगाएको परिवार वर्षौंसम्म अस्थायी टहरोमै बस्न बाध्य छन् ।

Advertisement


स्थानीय तहदेखि नै तालिमप्राप्त र आवश्यक उपकरणले सहितको विपद् उद्वार समूहको तयारी, एकीकृत घटना प्रतिवेदन प्रणाली, निश्चित मापदण्डबमोजिमको खोज तथा उद्वार टोली परिचालन, सुरक्षा निकायबाट विपद् प्रतिकार्यमा खटिने जनशक्तिको तालिम र उपकरणमा पर्याप्तता जरुरी छ । विपद् उत्थानशील पूर्वाधारका लागि विकास योजनामा विपद्का पक्षलाई समावेश गर्ने, जोखिमयुक्त बस्तीको पहिचान र स्थानान्तरण, व्यवस्थित र सुरक्षित बस्ती विकास योजना र सोको कार्यान्वयन लगायतका क्रियाकलापहरूलाई एकसाथ अघि बढाउनु आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया