रेडक्रसको जिल्लास्तरीय संरक्षक गोष्ठी

समाधान संवाददाता २०८२ जेठ ३ गते १५:५५

पोखरा ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले शुक्रबार जुनियर तथा युवा समितिको २८ औं संरक्षक (प्रधानाध्यापक) गोष्ठी गरेको छ । जुनियर रेडक्रस सर्कल छोरेपाटन मावि पोखराको आतिथ्यता तथा व्यवस्थापन भएको गोष्ठीमा ६५ जुनियर सर्कलका संरक्षक सहभागी बने ।

गोष्ठीमा रेडक्रस कास्कीका उपमन्त्री तथा जुनियर तथा युवा सर्कलका संयोजक डिल्लीराम बरालले आगामी वर्षका कार्यक्रमहरुको माग र बाँडफाँड सम्बन्धमा, रेडक्रस कास्कीका तालिम संयोजक नवराज भण्डारीले जुनियर सर्कलको अनिवार्य दायित्व, जुनियर युवा निर्देशिकामा भएका परिवर्तन एवं नीति र सर्कलका गतिविधिमा संरक्षकको भूमिकाबारे सहजीकरण गरे । व्रम्हकुमारी अप्सराले नेतृत्व सीप तथा मूल्य शिक्षाको महत्व विषयमा प्रकाश पारिन् ।

‘मानवताको पक्षमा’ भन्ने नाराका साथ भएको गोष्ठी गण्डकी प्रदेशका प्रमुख डिल्लीराम भट्टले उद्घाटन गरे । उनले रेडक्रसको गतिविधि मानवीय र सेवाभावसँग जोडिने बताए । स्वयंसेवी कार्यकर्ता उत्पादन, सामाजिक भावको विकास र विपद्का बेलामा पहिलो सम्झने संस्था रेडक्रस भएको चर्चा गरे । उनले रेडक्रसले सबै काम राज्यका निकायसँगको सहकार्यमा गरेको खण्डमा बढी प्रभावकारी हुने उल्लेख गरे ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डेले रेडक्रसले जुनियर तथा युवा सर्कलमार्फत युवा विद्यार्थीलाई असल आचरण गर्न सिकाउने जानकारी दिए । शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले रेडक्रस अभियानले विद्यालयदेखि असल संस्कार र सेवाको भावना सिकाउने प्रयास गरेको चर्चा गरे ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी कास्की सभापति उर्मिला खड्काले जुनियर तथा युवा सर्कलको गतिविधि रेडक्रस अभियानको महत्वपूर्ण पक्ष भएको बताइन् । रेडक्रस कास्कीका मन्त्री सन्तोष अधिकारीले विद्यालयका प्रधानाध्यापकले जुनियर सर्कलको संरक्षकका हिसाबले तल्लो तहबाट मानवीय सेवाको काम गरेको उल्लेख गरे । उनले २७ औं संरक्षक गोष्ठीले निर्धारण गरेका सबै काम सम्पन्न गरेको जानकारी दिए ।

रेडक्रस कास्कीका उपमन्त्री बरालले २८ औं संरक्षक गोष्ठीले १९ वटा कार्यक्रम तय गरेको बताए । उनले गोष्ठीबाट पारित सबै कार्यक्रम कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगी, नेपाल रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, छोरेपाटन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारी, विद्यालयका प्रधानाध्यापक डिल्लीराज शर्मा, जुनियर तथा युवा समिति गण्डकी सदस्य रमेशराज भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष ईन्द्रमान खत्री, सर्कलका अध्यक्ष सुवास सुवेदी, सचिव अनुष्का ढकाल, ओआइ पब्लिकेसनका प्रालिका प्रतिनिधि अन्जना श्रेष्ठ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया