वर्डक्याम्प पोखरा हुने

पोखरा ।
प्राविधिक सम्मेलन वर्डक्याम्प पोखरा २०२५ जेठ ३० र ३१ गते हुने भएकाे छ । सम्मेलनमा नेपाल, भारत र बंगलादेशका सूचना प्रविधि (आईटी) विज्ञहरु सहभागी हुनेछन् ।
पोखरा इभेन्ट सेन्टर, बुलौदीमा हुने वर्ड क्याम्पलाई प्रविधिको महाकुम्भ मेलाको रुपमा समेत हेरिएको छ। सामुदायिक योगदान, ज्ञान आदानप्रदान र खुला प्रविधिको भावनालाई आत्मसात् गर्दै आयोजना हुँदै आएको कार्यक्रम विश्वभरका वर्डप्रेस प्रेमीको साझा मञ्च हो ।
पहिलो दिनः कन्ट्रीब्युटर डे (जेठ ३०)
कार्यक्रमको पहिलो दिन ’कन्ट्रीब्युटर डे’ मा सहभागीहरूले वर्डप्रेसको विकासमा प्रत्यक्ष योगदान दिने अवसर पाउनेछन्। अनुवाद, डिजाइन, डकुमेन्टेसन, कोडिङ, र प्रयोगकर्ता सहायता जस्ता विविध विधामा सहभागी भएर वर्डप्रेसलाई अझ मजबुत बनाउने कार्य गरिनेछ। अनुभव नभएकाहरूका लागि पनि सिक्ने र सँगसँगै योगदान गर्ने उत्कृष्ट अवसर हुनेछ।
दोस्राे दिनः सम्मेलन (जेठ ३१)
सम्मेलनको मुख्य कार्यक्रम जेठ ३१ गते हुनेछ, जहाँ विभिन्न सत्रहरू, प्यानल छलफल र छोटो प्रस्तुतिहरू रहनेछन्। भारत र बंगलादेशका अनुभवी आईटी विज्ञहरूले विभिन्न विषयमा आफ्ना प्रस्तुति दिनेछन् — वेब विकास, सामग्री रणनीति, पहुँच (बअअभककष्दष्ष्तिथ), उद्यमशीलता र खुला वेबको भविष्य जस्ता विषयहरू समेटिनेछन्।
सामुदायिक प्रयासमा आधारित अन्तर्राष्ट्रिय सम्मेलन
वर्डक्याम्प पोखराको विशेषता भनेको यसको सामुदायिक स्वरुप हो। नेपाल र विदेशबाट आउने सहभागीहरु — वक्ताहरु समेत — आफ्नो यात्रा तथा आवास खर्च आफैँ व्यहोरेर सम्मेलनमा सहभागी हुँदैछन्। स्थानीय स्वयंसेवकहरूद्वारा पूर्ण रुपमा व्यवस्थापन गरिएको यो कार्यक्रम वर्डप्रेस समुदायको आत्मनिर्भरता र सहकार्यको प्रतीक बनेको छ।
टिकट मूल्य रु १५००, खानेकुरा र टिसर्ट समावेश
सम्मेलनमा सहभागी हुन चाहनेले रु १५०० मा टिकट किन्न सक्नेछन्। यो शुल्कमा कार्यक्रमको प्रवेश, टिसर्ट, लन्च र कफी समावेश छ। साथै, विभिन्न भुक्तानी साझेदारहरुमार्फत अतिरिक्त छुटहरू पनि उपलब्ध छन्। कार्यक्रममा करिब ८०० जनाको सहभागिता रहने आयोजकले अनुमान गरेका छन्।
पोखरामा आयोजना हुन लागेको यो सम्मेलन खुला वेब, सामुदायिक योगदान र डिजिटल सिर्जनशीलताको उत्सव बन्नेछ।
तपाईको प्रतिक्रिया