जिएसएमए–एनसेल सहकार्य

पोखरा ।
एनसेलले अपांगता भएका व्यक्तिहरुको डिजिटल समावेशीकरणलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै जिएसएमएले जारी गरेको अपांगता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवद्र्धन गर्ने सिद्धान्तहरुमा हस्ताक्षर गरेको छ ।
जिएसएमए विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन हो । जिएसएमएका यी सिद्धान्तले डिजिटल समावेशीकरण प्रवद्र्धन गर्न र मोबाइल सेवामा अपांगता भएका व्यक्तिहरूको पहुँचको खाडल हटाउन विश्वभरका मोबाइल सेवा प्रदायकहरूलाई प्रेरणा र मार्गनिर्देशन प्रदान गर्दछ ।
जिएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाहरुको पहुँच र यसका अवसरबाट पाइने लाभ समान रुपमा सुनिश्चित गराउन पर्छ भन्ने एनसेलको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । यी सिद्धान्तमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनी हो । यो उपलब्धिले एनसेलका हाल जारी विभिन्न पहल तथा प्रयासहरूलाई थप बलियो बनाउँछ ।
अपांगता भएका व्यक्तिहरूका लागि सधैं अन योजनामा डेटामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्र, पारा खेलाडीलाई सशक्त बनाइने
यस्ता कार्यमा अपांगता भएका व्यक्तिहरूका लागि सधैं अन योजना अन्तर्गत डेटामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्रहरु, पूर्ण रुपमा अपांगता मैत्री कार्यालय संरचना, नेपालका पारा खेलाडीलाई सशक्त बनाउने सहकार्य लगायतका पहल समावेश रहेका छन् । एक अग्रणी जिएसएम मोबाइल सेवा प्रदायकको रुपमा, एनसेलले समावेशीकरण, दिगोपन, र उद्देश्यप्रेरित नवप्रवर्तनका कार्यहरुमा केन्द्रित रहँदै आएको छ ।
अब एनसेलले आफ्ना सेवाहरूको पहुँचलाई अझै सहज बनाउँदै लैजाने, समावेशी ग्राहक अनुभव प्रवद्र्धन गर्ने र समुदायसँग सहकार्य गर्दै सकारात्मक प्रभाव सिर्जना गर्ने जस्ता कार्यहरु गर्दै जानेछ । एक हस्ताक्षरकर्ता रुपमा, एनसेलले एक्सेसिबिलिटी अर्थात पहुँच योग्यतालाई आफ्नो संस्थागत रणनीतिमा समावेश गर्ने, समावेशी सेवा तथा सुविधाहरू डिजाइन गर्ने र अपांगता भएका व्यक्तिहरूको समुदायसँग सक्रिय रूपमा संलग्न भई उनीहरुको विशेष आवश्यकतालाई बुझ्न र समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।
‘हामीले केवल सम्पर्क स्थापित गर्ने कनेक्टिभिटी सेवा मात्र उपलब्ध गराइरहेका छैनौं, हामी मानिसलाई सशक्त बनाइरहेका छौं । जिएसएमएसँग अपांगता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवद्र्धन गर्ने यी सिद्धान्तमार्फत हामी नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपरोस् भन्ने सुनिश्चित गर्न महत्वपूर्ण कदम अगाडि बढिइरहेका छौं । हातेमालो गर्दै, हामीले डिजिटल दुनियामा सफल हुने समावेशी र सशक्त समाज निर्माण गर्ने लक्ष्य राखेका छौं,’ एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।
यो सहकार्यसँगै, एनसेलले विश्वभरका दूरसञ्चारका अग्रणीमाझ आफूलाई सामेल गराउँदै मोबाइल प्रविधिलाई अझ समावेशी बनाउन एकसाथ काम गर्ने भएको छ । जसले अपांगता भएका व्यक्तिलाई सेवामा कनेक्टेड मात्र नबनाई उनीहरुको सशक्तीकरणमा मद्दत प्रदान गर्ने छ ।
तपाईको प्रतिक्रिया