पत्रकार भादगाउँलेको निर्देशनमा लाहुरे चामबहादुरको वृत्तचित्र ‘करबाकेलीका नायक’

काठमाडौं ।
म्याग्दीका एक जना लाहुरेको सुकर्म समेटेर वृत्तचित्र बनाइएको छ, ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’। करबाकेली क्षेत्रका नायक पुनको जीवनकथाले जन्मथलोको मुहार फेर्ने प्रेरित गर्दछ।
लाहुरे चामबहादुरले आफ्नो जन्मथलो अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको विकासमा पुर्याएको योगदान अतुलनीय छ। उनको कामलाई पर्यटन पत्रकार अमृत भादगाउँलेले वृत्तचित्रमा समेटेका हुन्।
काठमाडौंकोे विश्वज्योति सिनेप्लेक्समा मङ्गलबार वृत्तचित्र प्रदर्शन गरियो। प्रदर्शनीमा पर्यटन, सिनेमा, साहित्य, कला, सङ्गीत, समाजसेवा, पत्रकारिता र शिक्षा क्षेत्रका दर्शक खचाखच थिए। उनीहरूले ध्यानपूर्वक वृत्तचित्र अवलोकन गरे।
मानवअधिकारवादी नेतृ मोहना अन्सारीको प्रमुख आतिथ्यतामा भएको प्रदर्शन कार्यक्रममा अन्सारीसहित वृत्तचित्रका निर्देशक भादगाउँले, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, लेखक शेखर खरेल, चलचित्र निर्देशक रवि सायमि र समाजसेवी पुनले सम्बोधन गरेका थिए।
यस वृत्तचित्रले सकारात्मक सन्देश प्रवाह गरेको उनीहरूले प्रतिक्रिया दिए। पुनले आफ्नो माटोको विकास र आफ्नो संस्कृतिको संरक्षणमा पुर्याएको योगदान अनुकरणीय छ।
‘आफ्नो पहिचानको संरक्षण गर्दै समाजलाई उज्यालो बाटोमा हिँडाउन सफल चामबहादुर दाइको जीवनकथा प्रेरणादायी छ’, कार्यक्रममा अन्सारीले भनिन्, ‘जन्मथलोको विकासमा उहाँले गर्नु भएको सुकर्म वृत्तचित्रमा हेर्न पाउँदा मनमा ऊर्जा बढ्यो।’
पुनकै नेतृत्वमा करबाकेली क्षेत्र पर्यटकीय गन्तव्य बनिसकेको छ। गाउँमा सांस्कृतिक एवम् पर्यटकीय जागरण भित्रिएको छ।
‘एउटा सिँगो गन्तव्यको विकासमा एउटा व्यक्तिले पुर्याएको योगदान प्रशंसनीय छ’, पर्यटन बोर्डका सिइओ जोशीले भने, ‘हामी करबाकेली इको ट्रेकको प्रवद्र्धनमा हातेमालो गर्नेछौं।’
राधा पुनले निर्माण गरेको वृत्तचित्र १७ मिनेट लामो छ। यसमा लाहुरे चामबहादुर पुनको जीवनका आरोह, अवरोह र सुकर्म समेटिएको छ। पर्यटन पत्रकार अमृत भादगाउँलेले निर्देशन गरेको वृत्तचित्रका सिनेम्याटोग्राफर भवानी शिलाकार, दृश्य सम्पादक सुदीप श्रेष्ठ र व्याकग्राउन्ड सङ्गीतकार जी पुन हुन्।
स्मरणीय छ, समाजसेवी पुन करबाकेली क्षेत्रको विकासमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय छन्। उनकै नेतृत्वमा त्यहाँको काफलडाँडामा करबाकेली थान, पुन सामुदायिक सङ्ग्रहालय, सामुदायिक पाहुनाघर आदि बनाइएका छन्। त्यति मात्र होइन, पुनहिलदेखि करबाकेली थान भएर बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको टे«क’का रुपमा ब्रान्डिङ गरिएको छ ।
नागरिकको सहयोग जुटाएर उनकै नेतृत्वमा यी सबै काम गरिएका हुन्।
समाजसेवी पुनले जीवनका उर्बर १५ वर्ष बेलायती सेनामा विताए। त्यसपछि सेकेन्ड करियरका रुपमा १० वर्ष ब्रुनाईका सुल्तानको सेवा गरे। ब्रुनाईबाट फर्केपछि उनी जन्मथलो करबाकेली क्षेत्रलाई उज्यालो बनाउने अभियानमा खटिएका छन्।
तपाईको प्रतिक्रिया