लेकसिटी कलेजमा टाइम्स अफ इन्डियाका जिएम

समाधान संवाददाता २०७६ मंसिर १२ गते १८:५१

दक्षिण एसियाकै चर्चित मिडिया हाउस टाइम्स ग्रुपका जनरल म्यानेजर (जिएम) जोन कुरैनले लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा विद्यार्थी माझ ज्ञान र अनुभव बाँडेका छन् । विभिन्न पेसा व्यवसायमा उत्कृष्ट सफलता हाँसिल गरेका व्यक्तिको अनुभव र ज्ञान विद्यार्थीमाझ बाँड्ने उद्देश्य राखेर कलेजले बेलाबेला पाहुनाहरु बोलाउँदै आएको छ । त्यसै क्रममा जोन बिहीबार निम्त्याइएका थिए ।


जोनले आफ्ना मिडिया हाउसबाट प्रकाशन हुने टाइम्स अफ इन्डिया र भारतीय छापा माध्यमले सामना गरिरहेका चुनौतीबारे अवगत गराए । उनले डिजिटल युग र सामाजिक सञ्जालका कारण पत्रिकाहरुको आम्दानी घटिरहेको सुनाए । उनले भने, ‘नयाँनयाँ सिर्जना नभई विज्ञापनदाता आकर्षित गर्न गाह्रो छ ।’ विस्तारै डिजिटल ग्राहक र त्यसको रेभेन्यु वृद्धि हुँदै आइरहेको जोनले सुनाए ।


भारतमा छापा माध्यमको भविष्य कस्तो देख्नुहुन्छ भनेर जोनलाई विद्यार्थीले जिज्ञासा राखेका थिए । ‘अहिलेकै अवस्था हुने हो भने १० वर्षभित्र सबै पत्रिकाहरु डिजिटल भर्सनमा मात्रै सीमित हुन सक्छन्,’ जानेले उत्तर दिए ।

Advertisement


बाहिर आएजस्तो गरी भारतीय पत्रकारिता सरकारको दबाबमा नरहेको जोनको प्रष्टोक्ति थियो । उनले भने, ‘हाम्रो रेभेन्युको २५ प्रतिशतजस्तो सरकारी विज्ञापन होला, तर हामीलाई सरकारको पक्षमा लेख्नुपर्ने कुनै बाध्यता र दबाब छैन ।’ भारतीय पत्रकारहरुले प्रेस स्वतन्त्रताको भरपुर उपयोग गर्न पाउने वातावरण रहेको उनले सुनाए । जोनले विद्यार्थीमाझ अनुभव साट्न पाउँदा खुसी लागेको कलेजका प्रमुख डा. कपिल अधिकारीसँग बताएका थिए । जाेनसँगै कान्तिपुर दैनिकका सर्कुलेसन म्यानेजर मनोज बस्नेतले समेत अनुभव बाँडेका थिए ।


लेकसिटी कलेजमा बिहीबारै अर्का अतिथि लेखक अमर न्यौपानेले पठन संस्कृतिका बारेमा विद्यार्थीहरुलाई विभिन्न जानकारी गराएका थिए । ‘घरघरमा पुस्तकालय र व्यक्तिका झोलाझोलामा किताब भइदिए साह्रै सुन्दर हुन्थ्यो,’ न्यौपानेले भने । उनले पाठ्यपुस्तकसँगै अरु किताबहरु पनि विद्यार्थीहरुलाई हौस्याएका थिए । न्यौपानेले फेवाताल किनारमा आउँदो २७ देखि ३० गतेसम्म हुने नेपाल लिटरेचर फेस्टिभलमा सहभागी हुन विद्यार्थी र कलेज परिवारलाई निम्तोसमेत दिए ।

Advertisement

तपाईको प्रतिक्रिया