एसओएस गण्डकीमा पुरस्कार वितरण

पोखरा ।
एसओएस हर्मन माइनर गण्डकीले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई एक समारोहबीच पुरस्कृत गरेको छ । कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई मात्र पुरस्कृत गर्दा सीमित विद्यार्थी मात्र पुरस्कृत हुने भएकाले विद्यालयले विषयगत रूपमा उत्कृष्ट अंक प्राप्त गर्ने कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका १७० जना विद्यार्थीलाई पुरस्कृत गरेको हो ।
पोखरा महानगरपालिका शिक्षा समितिका सदस्य एवं वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर वानियाँ, एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्य, चन्दादाता शारदा पराजुली, विद्यालयका प्राचार्य चूडामणि सुवेदीलगायतले पुरस्कार प्रदान गरे ।
एसओएस वालग्राम गण्डकीमा आश्रित असहाय र विपन्न परिवारका बालबालिकासहित करिब १,००० बालबालिका अध्ययनरत छन् । शैक्षिक गतिविधिसँगै विद्यालयले अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्टता हासिल गर्दै आएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर वानियाँले भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकासलाई पनि सँगसँगै लैजान वडा कार्यालयले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्यमशीलता, स्वरोजगारजस्ता विषयलाई प्राथमिकतामा राखेको बताए ।
उनले वडा कार्यालयले एसओएस विद्यालयमा विद्यार्थीलाई छिट्टै प्लम्बिङ, हाउस वायरिङ, इलेक्ट्रिसियन, मोबाइल मर्मतसम्बन्धी जीवनोपयोगी व्यवहारिक शिक्षा दिनका लागि आवश्यक बजेट विनियोजन गरेर अगाडि बढेको जानकारी दिए। ‘विद्यालयमा व्यावहारिक शिक्षा आवश्यक छ, त्यसका लागि वडा कार्यालयको साथ र सहयोग सधैं रहनेछ,’ उनले भने ।
विद्यालयका प्रधानाध्यापक एवं कार्यक्रमका सभापति चूडामणि सुवेदीले विद्यालयबाहिरका सबै खालका प्रतिस्पर्धामा आफूलाई अव्वल राख्ने गरी विद्यार्थीले गरेको मेहनतको प्रशंसा गरे । उनले आगामी दिनमा विद्यालयलाई अझ उन्नत ढंगले अगाडि बढाउन शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र अन्य सरोकारवाला सबै एकजुट भएर लाग्नुपर्ने विश्वास व्यक्त गरे ।
विद्यालयले पठन संस्कृति विकास गर्ने उद्देश्य राख्दै ‘मिनी लाइब्रेरी’को अवधारणा अघि सारेको छ । यसबाट विद्यालयको शैक्षिक उन्नयनमा थप टेवा पुग्ने विश्वास विद्यालयले लिएको छ । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रममार्फत आफ्नो कला प्रस्तुत गरेका थिए । विद्यार्थीको कलात्मक प्रस्तुतिले त्यहाँ उपस्थित अभिभावकहरूलाई समेत स्तब्ध बनाएको थियो ।
विद्यार्थीहरूले आफैं तयार पारेको नाटकले हरेक घरपरिवारका सदस्यको माया र संरक्षण पाएमा कोही पनि बाबा–आमाले वृद्धाश्रमको वास गर्नुपर्दैन भन्ने सन्देश दिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक वीरसिंह बुढाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका शारदा रेग्मी र ध्रुवराज पौडेलले गरेका थिए ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया