शान्ति वनको उपयोग

पोखरा अनुपम प्राकृतिक सौन्दर्यले कुँदिएको उपत्यका हो । औंलामा गन्न सकिने विश्वका अति सुन्दर स्थलभित्र पोखरा पर्नेमा दुईमत नहुनु पर्दछ । प्रकृतिको यस्तो अनुपम वरदान प्राकृत पोखरा सांस्कृतिक विविधताले पनि उत्तिकै चुलिएको धरोहर हो । समुद्री सतहबाट सरदर ९ सय मिटरमा अवस्थित भई केवल ३० किलोमिटरभन्दा नजिकको काग उड्न सक्ने दूरीमा ८ हजार मिटरभन्दा अग्लो मनमोहक हिमाली शृंखला खुला रूपमा चुम्न सकिने विश्वकै एकमात्र अनौठो उपत्यका पोखरा हो । आफ्नो छातीमा थुप्रै मृत तथा जीवित ताल, तलैया साथै सेती नदीको माध्यमबाट कुँदिएको अपार गल्छी जस्ता भू–दृश्य बोक्ने श्रेय पनि यसलाई मिलेको छ ।
यी र यस्ता थुप्रै धरोहरको माध्यमबाट पोखराले विश्वलाई चुम्बकीय आकर्षण गर्न सकेको छ । यस्तो मनै भरभराउने मनोरम प्राकृतिक छटा बोकेको सुन्दर उपत्यकामा विद्यमान सांस्कृतिक स्वरूपहरूको पृष्ठभूमिको जरो त्यति लामो नभए तापनि अत्यन्त आकर्षक भने अवश्य छ । यस्तो आकर्षक तथा मनमोहक उपत्यकाको विगततर्फ घोत्लिँदा रैथाने पोखरेलीको मन–मस्तिष्कमा पुनआगमन हुने दुई–तीन दशकअघिको पोखराको यथार्थ तस्बिर यो पंक्तिकारले २०५० सालमा प्रकाशित अमर स्मारिकामा यस प्रकार लेखेको थियो–
‘बाँस, सिमल र गोलाइँचाको छायाँभित्र लुकेका विस्तृत पाटनहरू, काँस र टाप्रेघारीयुक्त सिरूघाँसे तराहरू, साँघुरा छिचल्न कठिन डहरहरूले डो¥याउने पुराना बस्तीहरू र मध्य युगीन शैलीकै टुकीले अँध्यारो तोड्ने घर, धन्सारहरू, टालेकै भए पनि सुरूवाल लाएर छाता काँधमा हाली बिहानको दालभातपछि बजार गोश्वारा अड्डातर्फ टहलिने र गोधुलीमा आ–आफ्ना पाटनमा आकासे समीक्षा गर्दै बस्तीतर्फ भित्रिने पोखरेली लोग्ने मानिसहरु, दाउरा, घाँस, पानी र पराल बोक्दा बोक्दा लखतरान देखिने स्वास्नी मानिसहरू, खेत र नदी किनारका तराहरूतिर प्रायः भेडा हेर्ने लाटा लठेब्रा र गाँडा–गल्चें उडाहरू, हवाइजहाज आइसकेपछि ल्याइएको पांग्राबाट सुरु भएको गोरुगाडाका सवारीहरु, पुरानो ध्वाँसे, रूकसेक बोकेर पेन्सन थाप्न आउने पेन्सनवालाका ताँती, हवाइजहाजबाट भर्खरै ओर्लेर भरियालाई बाकस, गुन्टा बोकाउँदै भट्टीवाल्नीको बीचमा द्विविधामा पर्ने लाहुरेहरू, लेवालीको भरमा वस्तु आपूर्ति हुने बजार तथा माध्यम बजारका पद्धतिहरू, ढुंगेसाँघु र बजारिया जात्राले आकर्षित गर्ने–गराउने सांस्कृतिक र व्यापारिक गतिविधिहरू, बजारभन्दा झट्ट बुझिने नालामुख, धोबीगौडा, भैरवटोल, रामकृष्ण टोल, साँघुमुख, रानीपौवा, माटेपानी, गौंडाको मुखहरू, समुद्रपारका सीमित सामान आपूर्ति गर्न एकाधिकार जमाएका फाट्टफुट्टे मनाङेहरू नैं पोखराको तत्कालीन अतीततर्फ घोत्लिँदा हाम्रो मानसपटलमा झट्ट खिचिने तस्बिरहरू हुन् ।’
तीन–चार दशकअघिको त्यस्तो पोखराले छोटो समयाभित्र थुप्रै सकारात्मक तथा नकारात्मक परिवर्तन बेहोरेको छ । जनसंख्या वृद्धिसँग एकलकाँटे रूपमा बढ्दै गरेको सहरीकरण, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता सेवामूलक क्रियाकलापतर्फ विशिष्टीकरण गर्न उत्सुक तथा उन्मुख संस्थागत प्रयत्न सीमित स्रोतकै आधारमा भए पनि चुनौती सामनाका साथ बामे सर्दै लर्याङलुरूङ गरेको भौतिक पूर्वाधार विकास, मानव संशाधन विकासतर्फ भएका फाट्टफुट्ट प्रगति तथा प्रयत्न; पोखराको आफनो पहिचानसहित संरक्षण र विकासतर्फ उन्मुख हुनुपर्दछ भन्ने सचेतता जाग्दै गइरहेको पोखरेली नागरिक समाज आदि पोखरा उपत्यकाले बेहोर्दै गरेको सकारात्मक परिवर्तन मान्न सकिन्छ ।
बढ्दो अवैध बस्ती र ती बस्तीसँग गाँसिएका थुप्रै विकृति तथा विसंगतिपूर्ण क्रियाकलाप, बढ्दो लागुपदार्थ दुव्र्यसन र समाजमा त्यसको कुप्रभाव, सहरी पूर्वाधार सेवाहरूको बढ्दो अपर्याप्तता, सार्वजनिक जग्गामाथिको बढ्दो अतिक्रमण, सांस्कृतिमा बढ्दो क्षयीकरण, आराम गर्नका निमित्त सहरी बसोबास मान्ने सोच, बढ्दो अव्यवस्थित फोहोरमैला आदिलाई छोटो समयावधिको अन्तरालमा पोखराले बेहोर्दै गरेको अशुभसूचक नकारात्मक परिवर्तन मान्न करै लाग्छ ।
परिवर्तनहरूको यस प्रकारको यथार्थ भएर गुज्रदै गरेको पोखराको वर्तमान तथा भविष्यतर्फ नियाल्दा साँच्चै नै भरोसा कम र बढ्दो त्रास देखिन्छ । भरोसा कम र बढ्दो त्रासयुक्त परिवर्तनको दोसाँधमा उभिएर अव्यवस्थित सहरीकरणतर्फ उन्मुख हुँदै गएको पोखरामा नगरवासीलाई दिगो विकास अभियानतर्फ डो¥याउने खालका क्रियाकलाप ठोसरूपमा उमार्नु र उमार्न सक्नु चुनौतीपूर्ण मूल मुद्दा मान्नुपर्दछ ।
पोखराको दिगो विकासको सन्दर्भमा टड्कारो रूपमा सम्बोधन गरिनुपर्ने थुप्रै मुद्दामध्ये यहाँको जैविक साथै यस क्रियाकलापसँग सन्निकट भएर आउने अन्य मनोरञ्जनात्मक क्रियाकलाप पनि पर्छन् । जैविक विविधता संरक्षण र दिगो विकासतर्फ होस उमार्ने खालको नमुना प्रदर्शन स्थलको विकास पोखरा जस्तो पर्यटकीय आकर्षणको थलोमा सहरीकरणको सुरूकालबाटै गाँसिनुपर्ने क्रियाकलाप थियो । सन्तुलित सहरी पर्यावरणका निमित्त सिर्जनात्मक रूपमा योजना र विकास गरिएको पार्क र मनोरञ्जन केन्द्रहरूको सुविधा हुनु आवश्यक हुन्छ ।
ढिलै भए पनि ली–बर्ड पोखराले स्वस्थ सहरीकरणतर्फ खाँचो ठानेको यस्तो महत्वपूर्ण पक्षलाई समेटेर पोखराको सहरीकरण प्रक्रियामा एउटा स्वस्थ सोच तथा प्रभावकारी कार्यान्वयन गर्ने गराउने प्रतिबद्धताका साथ ‘पोखराको शान्ति वनवाटिकामा जैविक विविधता पार्कको स्थापना र विकास’ शीर्षक प्रस्तावना अगाडि सारेको छ । हुन त शान्ति वनवाटिकामा मनोरञ्जन स्थल र बोटानिकल गार्डेन बनाउने उद्देश्यले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले त्यसअघि नै प्रस्ताव प्रस्तुत गरेको थियो ।
प्रस्तुत प्रस्ताव तत्कालीन पोखरा उपत्यका नगर विकास समितिले स्वीकार गरी कार्यान्वयनको निमित्त अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई नै दिने निर्णयसमेत गरेको थियो । तर, विविध कारणवश सो प्रस्ताव कार्यान्वयन हुन पाएन । जे–जसो भए तापनि ली–बर्डद्वारा हाल अगाडि सारिएको प्रस्तावना कार्यान्वयन गर्न ली– बर्डले पोखरा उपत्यका नगर विकास समितिसँग सहमति जुटाई आश्विन १२, २०६० मा सम्झौतासमेत गरिसकेको थियो ।
प्रस्तावित जैविक विविधता पार्क पोखरा महानगरपालिकाको वडा नं. ९ र १० को दोसाँध भएर बग्ने सेती नदीको दायाँ–बायाँको करिब ९.७ हेक्टर ( १९५ रोपनी) प्राकृतिक वन रहेको जमिन (वैरागी वन) मा पर्छ । शान्ति वनवाटिका अन्तर्गतको समुच्च १ सय ९५ रोपनी जमीन पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वको हो भन्ने कुरा दिनको घामजस्तै छर्लङ यथार्थलाई कृत्रिम ढंगले विवादित मानिनु, भनिनु वा बनाइनु निश्चय नै अत्यन्त नमीठो कुरा हो ।
जिम्मेवार निकायहरूबाट नै सिर्जित यस्तो प्रकारको त्रुटिपूर्ण निष्कर्ष र निर्णयद्वारा उत्पन्न सो विवाद निश्चय नै स्वस्थ पोखराको उज्ज्वल भविष्य र पोखरेलीको हितविपरीत छ । यस सम्बन्धमा वन विज्ञान अध्ययन संस्थान पोखराले वनवाटिकाको स्वामित्व र संरक्षणमा पटक पटक देखाएको अपरिपक्व चासोले वाटिकाको अग्र विकासतर्फ भाँजो तेस्र्याउने काम सिवाय केही गरेको देखिँदैन । वन विज्ञान अध्ययन संस्थान पोखराले मौका परे वनवाटिकाको स्वामित्व दाबी गर्दछ र मौका नपरे सो वनवाटिकाको मोहियानी हकमात्र पनि हुन्छ भन्ने गरेको छ । वन विज्ञान अध्ययन संस्थानको यस्तो दाबीले वनवाटिकाको अग्र विकास गर्न कठिन हुन्छ ।
बरू वनवाटिकाको समुचित विकास गर्न प्रतिबद्ध संस्थालाई वन विज्ञान अध्ययन संस्थानले मन, वचन र कर्मले सघाउँदा आफैँलाई हित हुने फलदायी नतिजा निस्कने देखिन्छ । ‘ताक परे तिवारी नत्र गोतामे’ भनेझैं सके स्वामित्व नसके मोहियानी दाबी गर्ने तर्क तेस्र्याएर वनवाटिकाको अग्रगमन रोक्न खोज्ने वन विज्ञान अध्ययन संस्थानको प्राज्ञिक प्रशासनको प्रयत्नले संस्थानकै गरिमामाथि आँच पुर्याउन सक्छ । वन विज्ञान अध्ययन संस्थानको बुद्धिमानी प्रस्तावित जैविक विविधता पार्कको सफलतातर्फ सकारात्मक दृष्टिकोण बनाई आफूसँग भएको ज्ञान र प्रविधिद्वारा सक्दो सहयोग गर्नुमा नै देखिनेछ ।
सम्झौतासमेत गरिसकिएको सो जैविक विविधता पार्कको प्रस्तावनाले पोखरा सहरको मुटुस्थलमा अवस्थित शान्ति वनवाटिकामा जैविक विविधता पार्क र मनोरञ्जन सुविधाहरूको विकास गर्ने लक्ष्य राखेको छ । जैविक विविधता पार्क वनस्पति तथा चिडियाखाना समेतको बगैंचा भन्ने जनाउँछ । वनस्पति बगैंचा र चिडियाखानाको परम्परागत सोचसमेतको भूमिका हाल आएर वातावरणीय शिक्षा विस्तारतर्फ महत्वपूर्ण ठानिएको छ । वातावरण शिक्षाविद्हरू प्राकृतिक पद्धतिमा विविध प्रजाती के–कसरी अन्तरक्रिया गर्दछन् भन्ने तथ्यतर्फ सोच केन्द्रित गर्दछन् । त्यस्ता जैविक विविधता पार्कको क्षेत्रफल जत्रोसुकै भए पनि पार्कभित्र थुप्रै कार्यक्रम प्रभावकारी रूपमा समेटिन सक्छन् ।
शान्ति वनवाटिकाको प्रस्तावित विविधता पार्कले पनि सान्दर्भिक उपभोक्ताको परामर्श लिएर केही वर्षको अन्तरालमा २२ वटा कार्यक्रमहरूको स्थापना विस्तारै गर्ने भएको छ । ती कार्यक्रमहरूमा बगैंचा, वृक्षरोपण ब्लक (दुर्लभ र लोपोन्मुख बिरूवा ब्लक, ऐतिहासिक महत्वका अथवा जीवित अवशेष ब्लक, अनुवांशिकी महत्वका प्रजाति ब्लक, आर्किड ब्लक, उनियो ब्लक, जंगली खाद्य बिरूवा ब्लक, गैर काष्ठ जंगल उत्पादन ब्लंक, जडीबुटी बिरुवा उत्पादन ब्लक, औषधिजन्य विरुवाहरूको इथ्नोबोटानिक बगैंचा ब्लक र धार्मिक बिरूवा ब्लक), फूल प्रदर्शन ब्लक (गुलाब बगैंचा, जंगली गहनामुखी फूल ब्लंक, बाह्य फूल ब्लक), चट्टान बगैंचा – केकटश ब्लक, सिमसार जैविक विविधता, ब्लक, एक्वारियम बगैचा अथवा मिनी चिडियाखाना, जैविक विविधता संग्रहालय (इथ्नोग्राफिक संग्रहालय, कृषि जैविक विविधता संग्रहालय अथवा जर्मप्लाज्म भण्डार, स्थानीय हर्वरियम), प्राकृतिक संरक्षण क्षेत्र बालोद्यान, वनभोज स्थल, सेवा–सुविधा (चिया, कफी खाजा, अनुसन्धान तथा तालिम), दृश्यावलोकन स्थल, दृश्यावलोकन डेक, झोलुंगे पुल, हिँड्ने र जगिङ गर्ने गोरेटो, शान्ति वन स्मारक वृक्षरोपण ब्लक, स्वर्गीय राजा श्री ५ वीरेन्द्रको सालिकको सौन्दर्यीकरण चराचुरूंगी दृश्यावलोकन स्थल, व्यापारिक नर्सरी र पार्कको भू–उपयोग पर्दछन् । यी कार्यक्रमहरूको सँगसँगै समावेश गर्नु सान्दर्भिक र आवश्यकता लोक संग्रहालय पनि हो भन्ने यस पंक्तिकारलाई महसुस भएको छ ।
प्रस्तावमा पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षको अध्यक्षतामा ली–बर्ड पोखराको कार्यकारी निर्देशक सदस्य सचिव रहेको सात सदस्यीय निर्देशक समितिको प्रस्तावना गरिएको छ । शान्ति वन जैविक विविधता पार्कको विकास र व्यवस्थापनको निमित्त निर्देशक समितिको सहयोगमा ली–बर्ड पोखराले वित्तीय स्रोत जुटाउने प्रण प्रस्तावमा गरेको छ । आयोजनाको प्रारम्भिक विकासको अवधि पाँच वर्ष र त्यसका निमित्त १० करोड रूपैयाँ बजेट आवश्यक भएको प्रस्तावमा उल्लेख गरिएको छ । आयोजनाको कुल अवधि १२ वर्ष तोकिएको छ ।
ढिलै भए पनि पोखरा उपत्यका खासगरी पोखरा नगरको मुटुस्थलअन्तर्गत विकास गर्न थालिएको प्रस्तावित शान्ति वन जैविक विविधता पार्क अत्यन्त स्वागतयोग्य कदम हो । यसले यस सुन्दर पोखरा उपत्यकामा महसुस गरिएको एउटा ठूलो खाँचो पूरा गर्ने जमर्को गरेको मान्न सकिन्छ । पोखराको थुप्रै खाँचोहरूमध्येको एउटा महत्वपूर्ण खाँचो पूरा गर्नसक्ने ठानिएको यो कदमलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगद्वारा सफल गराउन कम्मर कस्ने संस्था ली–बर्ड पोखरा निश्चय नै धन्यवादको पात्र बन्न पुगेको छ ।
यस समयसापेक्ष कदमप्रति सम्पूर्ण सरकारी–गैरसरकारी संघ–सङ्गठन तथा आमनागरिक समाजले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्दछ भन्ने यो पंक्तिकारको बलियो धारणा छ । यस्तो पुनीत कार्य थालनी गर्ने यस सु–अवसरमा कसैबाट कुनै पनि निहुँमा कहीं कतै छेकबार तथा अवरोध होइन, सहयोगी हातहरू पूर्णरूपमा फैलनुपर्दछ भन्ने यो पंक्तिकारको बलियो ठम्याइ छ । यस जैविक विविधता पार्कका कतिपय कार्यक्रमहरूको कार्यान्वयन प्रभावकारी बनाउन विशेषगरी वन विज्ञान अध्ययन संस्थान पोखराको भूमिका अहम् हुन जान्छ ।
यस पार्कको स्थापना तथा विकासमा वन विज्ञान अध्ययन संस्थान पोखरासँग उपलब्ध ज्ञान र प्रविधिको समुचित उपयोग हुँदा त्यसको प्रत्यक्ष फाइदा वन विज्ञान अध्ययन संस्थान स्वयम् र त्यसमा अध्ययनरत सयौं विद्यार्थीहरूलाई पनि हुनेछ । त्यस्तै ली – बर्ड पोखराले पनि पोखराको आत्मीय संलग्नता र सहयोग यस पुनीत कार्यमा जुटाउन हरसम्भव प्रयत्न गर्नु पनि उत्तिकै वाञ्छनीय देखिन्छ । वन विज्ञान अध्ययन संस्थान पोखराका सरोकारवाला सबै संघ–संस्था संगठनहरूमा समयानुचित सहयोग पु¥याउनु कर्तव्य ठानिनुपर्दछ ।
शान्ति वनवाटिका वरपर कार्यरत सवै प्रकारका समितिहरू तथा आमा समूहहरूले शान्ति वनवाटिका जैविक विविधता पार्कको कार्यक्रम कार्यान्वयनमा ली–बर्डलाई यथोचित सहयोग गर्न विशेष पहल गर्नुपर्दछ । ली–बर्ड पोखराले पनि सबै संगठित छिमेकी संस्थाहरू तथा समग्र पोखरेली नागरिक समाजको स्वस्थ सहयोग लिन सकारात्मक कदम लिन सक्नुपर्दछ । साथै सक्षम छिमेकी संस्थाहरूलाई पार्कका सान्दर्भिक कार्यक्रमहरू सञ्चालन गर्न जिम्मा दिने गरी ‘टम्र्स अफ रेफरेन्स स्पष्ट पारेर समावेश गर्दा पनि एकातर्फ ली–बर्डको बोझ हल्का हुनेछ भने अर्कोतर्फ व्यापक सहभागिता जुट्न गई पार्कको कार्यक्रम, कार्यान्वयन प्रभावकारी हुन सक्नेछ ।
जे होस् पोखरा उपत्यका नगर विकासको निवर्तमान समिति र ली–बर्ड’ पोखराबीच सम्पन्न यस सम्झौताको कार्यान्वयनलाई प्रभावकारी बनाउन वातावरणीय सचेतताले सुसूचित प्रत्येक पोखरेलीलगायत समग्र पोखरेली नागरिक समाज सक्रिय रहनुपर्दछ । राम्रै भए पनि अघिल्लो संगठनले थालनी गरेको कामको निरन्तरता पछिल्लो संगठनले तोड्नुपर्ने वा मोड्नुपर्ने नेपाली परम्परामा हुर्केको आनीबानीमा परिवर्तन ल्याई वर्तमान पोखरा उपत्यका नगर विकास समितिले पोखराको नितान्त खाँचो ठानिएको यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका निमित्त यथोचित वातावरण मिलाउन पहल गर्ने नै छ भन्ने अपेक्षा आम पोखरेलीले गर्नुपर्दछ ।
ली–बर्ड पोखराले पनि चुनौतीपूर्ण साथै अत्यन्त गहन महत्वको यो जिम्मेवारीलाई गम्भीरतापूर्वक बहन गर्न थालनी गरेर पोखराको स्थानीयदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्मको व्यापक सहयोग जुटाउन नहडबडाइकन अगाडी बढ्न कम्मर कस्नुपर्दछ । यसो गर्दा पोखराको अनुपम सुन्दरतामा अनौठो गहना थपिनेछ । बाह्य तथा आन्तरिक पर्यटकहरूका निमित्त अर्को एक थप आकर्षण थपिनेछ । पोखराका भोलिका सन्ततीले आफ्ना पूर्वजलाई स्मरण गर्ने र गुन मान्नैपने एक अविस्मरणीय चिनोको रूपमा यो पार्क सावित हुनेछ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया