
पोखरा ।
धनुष, वाँण र निशानासँग आमाछोरीको लगाव बढेको १ वर्ष भयो । छुट्टीका बेला छोरीलाई आर्चरी सिकाउन पुगेकी डा निता थापा केसीको मन पनि त्यतै मोडियो । अहिले स्नेहासँगै बिहानै पोखरा रंगशालास्थित आर्चरी मैदान पुग्छिन् । बिहानै खेल प्रशिक्षणसँगै उनीहरुको दिन सुरु हुन्छ ।
प्रशिक्षणपछि ४२ वर्षकी डा निता गण्डकी मेडिकल कजेलतिर लाग्छिन्, १४ वर्षीया स्नेहा सेन्ट मेरिज स्कुल । आमा दन्तरोग विशेषज्ञ हुन् भने छोरी ९ कक्ष पढ्ने विद्यार्थी । सिकाइपछि आमाछोरीले नै आर्चरी प्रतियोगितामा भाग लिए । कहिलेकाहीँ खेलकुदले पदकको मात्र अर्थ राख्दैन,सम्बन्धको नयाँ आयामसमेत सिर्जना गर्छ ।
यस्तै दृश्य शनिबार पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा देखियो । आमा धनुष तान्दै लक्ष्यमा निशाना लगाइरहेकी थिइन् । केही बेरपछि उही लक्ष्यतर्फ छोरीको पनि उस्तै प्रयत्न देखियो । यो केवल प्रतिस्पर्धा थिएन, थियो छ सम्बन्धको अर्को नाम । जुन, धनुषको डोरीले अझ कसिएर बलियो भएको छ ।
सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिपअन्तर्गत स्ट्यान्डर्ड महिला व्यक्तिगत स्पर्धाको सेमिफाइनलमा डा निता र उनकी छोरी स्नेहाबीच प्रतिस्पर्धा भयो । छोरीले आमालाई हराइन् र स्वर्ण पदकका लागि फाइनल यात्रा तय गरिन् ।
स्नेहा अन्ततः फाइनलमा उपविजेता बन्दै रजत पदक हात पारिन् । उता, तेस्रो स्थानका लागि खेलेकी आमा निता विजयी भइन्, कास्य पदक आफ्नो नाममा लेखाइन् । राष्ट्रिय प्रतियोगितामा पहिलोपटक सहभागी भएका दुवैले पदक पाएपछि उनीहरूको अनुभव निकै प्रेरणादायी बन्यो । आमाले दोस्रो प्रयास र छोरीको तेस्रो प्रयासमा मेडल घर भित्रियो ।
खेलपछि निताले नसोचेको सफलता हात परेको प्रतिक्रिया दिइन् । ‘हामीले खेल्न सुरु गरेको पनि धेरै भएको छैन । मभन्दा छोरी अझै बेटर छ । उनले जितिन्, म खुसी नै छु,’ नीता भन्छिन्, ‘मचाहिँ गुरुको आग्रहमा आएको हुँ । जित्छु नै भन्ने त थिएन । तर, गेम न हो कास्य भए पनि प्रदेशका लागि दिलाउन सफल भइयो ।’
यो पदकको मात्र कथा होइन । यो त्यो कथाको सुरुवात हो, जहाँ एक आमा छोरीलाई लिएर नयाँ यात्रामा निस्किएकी छन् । आफैँ यात्रु बनिन् । धनुष तानेर लक्ष्यमा निशाना लगाउने क्रममा उनीहरूले जीवनकै अर्को पाठ सिकेको स्नेहाले बताइन् । आमासँगै हिँड्दा लक्ष्य पुग्न सजिलो भएको उनको प्रतिक्रिया छ । ‘पहिलोपटक फाइनलसम्म पुग्नु ठूलो कुरा हो, त्यो पनि आमासँगै प्रतियोगिता खेलेर,’ स्नेहा भन्छिन्, ‘आमालाई प्रतिद्वन्द्वी पाउँदा पनि खुसी थिएँ ।’
उता, निता केसीको अनुहारमा सन्तुष्टिको चमक थियो । उनी भन्छिन्, ‘छोरीसँग खेल्न पाउनु, त्यो नै मेरो जित हो ।’ यात्रा कहाँसम्म पुग्ने हो भन्नेमा उनीहरु नै अनविज्ञ छन् । तर, छोरीले आर्चरीमै भविष्य देखिन् भनेसक्दो सहयोग गर्ने निताको भनाइ छ । ‘मेरो उमेर त ढल्किदै छ । अरु नानुहरु भएन भने अनि अवसर पाएँ भने अर्को अर्को प्रतियोगिता पनि खेल्छु,’ निता भन्छिन्, ‘यो क्षेत्रमा महिला खेलाडी नै कम छन् । त्यसैले राम्रो गर्ने हो भने अगाडि बढ्न मिल्ने ठाउँ छ । स्नेहाले यसमा भविष्य देख्छ भने मेरो फुल्ली सपोर्ट रहन्छ ।’
आमाछोरीको आर्चरी सिकाइ २०८० चैतदेखि सुरु भएको हो । चैतमा छोरीको वार्षिक परीक्षा सकिएपछि उनीहरु आर्चरी प्रशिक्षक किशोरकुमार गुरुङकहाँ पुगेका थिए । ‘सुरुमा किशोर गुरुङ सिकाउँदा छोरीलाई यसतर्फ रहर झांगिदै गयो । उसलाई ल्याएर एक्लै छोड्न त मिलेन । एक छिन साथी कुर्नुपर्ने भयो,’ निता भन्छिन्, ‘गुरुले तिमीले पनि गर, सक्छौं भनेर भन्नु भएपछि सिक्दा यहाँसम्म आएको हुँ ।’
सुरुमा ६ दिनको आधारभूत प्रशिक्षण लिएपछि सहज भएको उनले सम्झिइन् । प्रशिक्षण लिएको १ महिनापछि नै उनीहरुले २०८१ वैशाखमा भएको गण्डकी प्रदेश स्तरीय आर्चरी प्रतियोगितामा स्पर्धा गरे । आमाछोरी नै सहभागी भए पनि पदक हात परेन । सोही वर्षको फागुनमा भएको छनोट प्रतियोगितामा नीता सहभागी बन्न पाइनन्, छोरीले भाग लिए पनि सफलता मिलेन ।
अन्ततः अहिले उनीहरुलाई सफलता हात लाग्यो । उनीहरुलाई सिकाएका प्रदेश आर्चरी संघ अध्यक्ष किशोरकुमार गुरुङ खेलमा आमाछोरीकै राम्रो भविष्य देख्छन् । ‘उनीहरुले सिक्न थालेको धेरै पनि भएको छैन । पहिला छोरीलाई सिकाउन आएको थियो । मैलै केही हुँदैन सिक्नु भनेपछि राम्रै गरिरहेका छन्,’ गुरुङले भने, ‘छोरी त बल्ल १४ वर्ष पुगेको छ । पोटेन्सियल पनि छन् । भविष्य राम्रो देखेको छु ।’ निता र स्नेहाले समय, मेहनत र अनुशासनलाई प्राथमिकता दिँदा छोटो समयमै असाधारण सफलता मिलेको उनको ठम्याइँ छ ।

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया