मुढे–मूल र भौगर्भिक एवं बहुविषयगत चासो

प्राडा कृष्णबहादुर केसी २०८२ जेठ २७ गते १५:५९

विषय प्रवेश
गण्डकी प्रदेश, कास्की जिल्ला रूपा गाउँपालिका वडा नं. ६ अन्तर्गत तल्लो तालबेसी तीन ठुटेमा २०८१ साल चैत्र १४ गते महाशिवरात्रिको शुभदिनमा जमिनबाट माटो निकालेर/खारेर सम्याउने क्रममा निस्केको मुढाबाट अनौठो रूपमा पानीको मूल पलायो । खारेको जमिनबाट करिब डेढ मिटर बाहिर निस्केको मुढामा करिब पूर्व र पश्चिम फर्केका दुई धारा बनेर मूलको पानी बाहिर निस्क्यो । अचानक देखा परेको सो अद्वितीय मुढे–मूलको दृश्यले आम सर्वसाधारणलाई अचम्मित बनायो । अचम्म मान्नु स्वभाविकै पनि हो किनकि जमिन खारेर सम्याउने क्रममा मुढोबाट अचानक निस्केको सो मूलपानी साँच्चै नै रहस्यमय देखिन्छ ।

Advertisement

तर कुनै पनि वा जस्तो सुकै रहस्य पनि कुनै न कुनै कारणसँग जोडिएको हुन्छ र सोही कारणको परिणाम स्वरूप बाहिर देखा पर्दछ । त्यसरी प्राप्त दृश्यले जो कोहीलाई पनि अचम्मित गराउँदछ । यस्तो अचम्मको दृश्य उत्पन्न गराउने कारण के हो त ? यसको पृष्ठभूमि के होला ? यसका निम्ति अनुसन्धानात्मक सोच र खोज आवश्यक हुन्छ । माथि उल्लिखित अचम्मको दृश्य माथि विचार गर्दा यो पोखरा उपत्यकाको पिँधको निर्माण प्रक्रिया अन्तर्गतको क्वाटरनरी निक्षेपसँग जोडिएको छ । तसर्थ, यस लेखमा सो सम्बन्धमा नै अध्ययन अनुसन्धान केन्द्रित गरी निचोड निकाल्ने प्रयास गरिएको छ ।

अवस्थिति
रूपाताल तालबेसीमा रहेको मुढे मूल २८’ ८” उत्तर अक्षांश र ८४’ ८” पूर्व देशान्तरमा अवस्थित छ । यो स्थान गण्डकी प्रदेश कास्की जिल्ला रूपा गाउँपालिका वडा नं. ६ मा पर्दछ । समुद्र सतहबाट ६३० मिटर माथि रहेको यो ठाउँ रूपाताल क्रमशः पुरिँदा वा घट्दा बन्न गएको समतल भूमि हो । यसको उपयोग स्थानीय बासिन्दाहरूले धान खेतको रूपमा गर्दै आएका छन् ।

Advertisement

यसरी हाल फाँटको रूपमा रहेको यो स्थल तल्लो तालबेसी बस्ती र श्री रूपाज्योति माध्यमिक विद्यालयबाट करिब ३०० मिटर दूरीभित्रै छ । यसको उत्तर र पश्चिमतर्फ पोखरा महानगरपालिकाको वडा नं. ३१ को सुन्दरी डाँडा र बेगनास ताल क्षेत्र पर्दछ भने पूर्व र दक्षिणतर्फ रूपा गाउँपालिकाको वडा नं. ६ को क्षेत्र पर्दछ । यो स्थान रूपा गाउँपालिका र पोखरा महानगरपालिकाको सिमानामा छ ।

यथार्थ अवस्था
पोखरा उपत्यका हिमालयको मुख्य हिमालय शृङ्खला र महाभारत शृङ्खलाका बिचमा ती शृङ्खलाहरू टेथिस समुद्रको पिँधबाट उठ्दा बनेका सयौँ विवर्तनिक उपत्यकाहरूमध्येको एक हो । भौगर्भिक इतिहासको कालक्रममा मुख्य हिमालय र महाभारत शृङ्खलाहरू उठ्ने क्रम क्रमशः अहिले भन्दा करिब छ करोड ५० लाख र तीन करोड ५० लाख वर्ष अघि भएको थियो ।

Advertisement

यसै सन्दर्भमा हिमालयको कान्छो श्रेणी जसलाई भारतमा सिवालिक र नेपालमा चुरे पहाड भनिन्छ । यो शृङ्खला पनि मुख्य हिमालय र महाभारत श्रेणीसँग समानान्तर रूपमा पश्चिमबाट पूर्व फैलिएको छ । तर यो श्रेणी कोशी नदीसम्म मात्र शक्तिशाली हिमाली नदीहरूको कटानबाहेक अन्य ठाउँहरूमा लगातार छ । कोशी पूर्वमा भने थुम्का थुम्कीका रुपमा मात्र देखा पर्दछ, जस्तैः चुलाचुली, मैना चुली आदि ।

यो कान्छो हिमालय भने महाभारत श्रेणी उठ्नुभन्दा दुई करोड दस लाख वर्षपछि अथवा अहिले भन्दा एक करोड चालिस लाख वर्षअघि उठेको थियो । महाभारत र चुरे पहाड शृङ्खलाहरूका बिचमा थुप्रै भित्री उपत्यकाहरू छन्, जसलाई भित्री मधेस (भित्री मधेसलाई भारतमा दुन भनिन्छ जस्तै देरादुन, नेपालकै चितवनलाई पहिला राप्ती दुन भनिन्थ्यो) भनिन्छ । नेपालको दाङ, देउखुरी, चितवन, उदयपुर, सिन्धुली र भारतमा देहरादुन आदि हालसम्म पनि यथावत छन् ।


ती शृङ्खलाहरू उठ्नुको कारण प्लेट टेक्टोनिक हलचलद्वारा युरेसियन प्लेट मुनि इण्डियन प्लेट घुस्न जाँदा भएको हो । यी हिमालय शृङ्खलाहरू उठ्नु अघि यस स्थानमा टेथिस नामको समुद्र थियो । सो प्राचीन समुद्रको नाम टेथिस ग्रिसकी देवीको नामबाट राखिएको थियो । हिमालय उठेपछि सो टेथिस समुद्र विस्थापित भएको थियो । तर त्यसको अवशेष भूमध्य सागरको रूपमा अहिले पनि युरोप र अफ्रिकाको बिचमा अस्तित्वमा रहेकै छ । भौगर्भिक घटना क्रमको यो इतिहास बोकेको पोखरा उपत्यका क्वाटर्नरी निक्षेपका कारण त्यस प्रकारको विवर्तनिक उपत्यकाहरू मध्ये फरक प्रकृतिको र अद्वितीय रहेको छ ।

पोखरा उपत्यकाको क्षेत्रफल करिब ९७९.९७ वर्ग कि.मी. (कोत्रे खोला दोभान माथि) र उपत्यकाको पिँधको क्षेत्रफल १२३ वर्ग कि.मी. छ । पोखरा उपत्यकाको साबिक पिँध हिमाली भूभागको भौगर्भिक विभाजनमा कुन्छा निर्माण अन्तर्गत पर्दछ । सोही कुन्छा निर्माणको सतह पोखरा उपत्यका खण्डमा क्वाटर्नरी निक्षेपका परिघटनाहरू भएका थिए । पोखरा उपत्यकाको तत्कालीन सतह भौगर्भिक काल क्रमको पछिल्लो समयमा उच्च क्षमताको भूकम्पीय कम्पनसँग जोडिएर उत्पन्न तीन उच्च बाढीहरूद्वारा उत्पन्न क्वाटर्नरि निक्षेपबाट पुरिएको थियो ।

ती उच्च बाढीका घटनाहरूबाट पुरिन गएको पोखरा उपत्यका बगर/गेगर (पोखरा ग्रेभल) बास्तवमा संसारमै उल्लेखनीय क्वाटर्नरी निक्षेप हो । यसले थुप्रै प्रकारको भूआकृति, अद्वितीय भूस्वरूपहरू निर्माण गरेको छ । भूविज्ञानको अध्ययन अनुसन्धानको निमित्त अत्यन्त उर्वर र अनुकुल क्षेत्र छ । यसरी भौगर्भिक कालक्रमको क्वाटर्नरी अवधि अहिलेभन्दा करिब २६ लाख वर्षअघि देखि हालसम्मको अवधि) र यस अवधिको पनि पछिल्लो कालखण्डमा पोखरा ग्रेभल पोखरा उपत्यकाको साबिकको पिँध अथवा कुन्छा निर्माणको तत्कालीन सतहको पोखरा उपत्यकाको पिँधको खण्डमा जम्मा भएको थियो । सो जम्मा भएको सेडिमेन्ट वा पोखरा ग्रेभललाई क्वाटर्नरी निक्षेप नै भनिन्छ ।


सोही कुन्छा निर्माण खण्डको भूसतहमा विद्यमान पोखरा उपत्यकाको साबिकको पिँधमा पनि यसको वरपरका डाँडा पाखाहरूमा रहे भएका जस्तै वनस्पति तथा वन्यजन्तु थिए । डाँडा पाखा र पोखरा उपत्यकाको पिँधको वनस्पति, वनजंगल तथा वन्यजन्तुको अवस्थामा पूरै समानता थियो । यसको ज्वलन्त उदाहरण पोखरा उपत्यकाको पिँधमा अवशेषको रूपमा रहेका थुम्काहरू जस्तै भद्रकाली, विन्दवासिनी, वनपाले, अर्घाै ढिक, भण्डारढिक आदि जस्ता थुम्काहरू सप्रमाण जगजाहेर रहेका छन् भने ती थुम्काहरुको वरपरको जमीन पोखरा ग्रेभलले पुरिएको थियो ।

रुपातालमुनीको सो साबिकको जमिन दोभान खोला पोखरा निर्माणको उच्च बाढीको गेगर/बगरबाट अचानक थुनिएर जलमग्न भएर ताल बन्दा ती वनस्पति लगायतका रुखहरू डुबाउमा परेका थिए ।

तर भौगर्भिक इतिहासको लामो कालखण्डको पछिल्लो कालखण्ड क्वाटरनरी अवधिको पनि पछिल्लो अवधिमा पोखराको उत्तरमा रहेको मुख्य हिमालय श्रेणीको अन्नपूर्ण शृङ्खला– अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौथो र माछापुच्छ्रे हिमाल चुचुराहरूको बिच अथवा सेती नदी शिर प्रदेशमा साब्चे सर्क र यसको वरपर उच्च मेग्निच्युडको भूकम्पको कम्पनसँग जोडिएर मूलतः तीनवटा हलचल भए । सानातीना कम्पन र त्यसको असर त हुँदै रहे तर तीनीहरूको प्रभाव त्यस्तो गणनीय रूपमा रहेनन् भन्न सकिन्छ ।

पोखरा उपत्यका वा सेतीनदीमा ती ३ बाढीहरू पनि उच्च क्षमताको भूकम्पीय कम्पनसँग जोडिएको तथ्य लगभग प्रमाणित भएको विभिन्न अध्ययनद्वारा पुष्टि भएको छ । तीनै कम्पनहरूसँग जोडिएर साब्चे सर्कबाट उत्पन्न विशाल परिमाणको चुनयुक्त ग्रेभललाई पोखरा ग्रेभल भनिन्छ । सोही ग्रेभल र पोखरा उपत्यकाको पिँध साँदल, पोतेको फाँट, ज्यामिरबारी, कफुचे, धिप्राङ, भराभरी, मिर्सादेखि भिमाद/रानीपोखरीसम्मको तत्कालीन सतह व्यापक रूपमा पुरिएको थियो । यसरी थुप्रिएको पोखरा ग्रेभलको मोटाई सय सवा सय मिटरसम्म बाक्लो छ ।


ती तीन भूकम्पीय/भौगर्भिक घटनाहरूबाट उत्पन्न बाढीहरू र त्यसबाट पोखरा उपत्यकाको पिँधमा पर्न गएको प्रभावलाई भौगर्भिक भाषामा मूलतः तल्लाकोट निर्माण, घाचोक निर्माण र पोखरा निर्माण भनिन्छ । ती मध्ये तल्लाकोट निर्माणको घटनाको डेटिङ्ग गर्दा अहिलेभन्दा करिब १२–१४ हजार वर्ष अघि ठहराइएको छ । घाचोक निर्माणको अहिले भन्दा १०–१२ हजार वर्ष अघि भनिएको छ र पोखरा निर्माण अहिलेभन्दा ७०० देखि ११०० वर्ष अघिको घटना ठम्याइएको छ । यी घटनाहरुबाट उत्पन्न बाढीबाट तत्कालीन पोखरा उपत्यकाको पिँधमा घाचोक निर्माण अन्तर्गत २६.५ वर्ग कि.मी. र पोखरा निर्माण अन्तर्गत ९७.५ वर्ग कि.मी. क्षेत्रफल पुरिएको थियो ।

खानी तथा भूगर्भ विभागद्वारा तयार गरिएको पोखरा उपत्यकाको भौगर्भिक संरचनाको नक्सा– सन् १९९८
पोखरा उपत्यकाको तत्कालीन पिँध पोखरा ग्रेभलद्वारा पुरिने सोही क्रममा उपत्यका भएर प्रवाहित सेती नदीका सहायक खोलाहरुको मुख थुनिँदा तालहरुको निर्माण भएको थियो ।


भौगर्भिक इतिहासको कालक्रमको यिनै पछिल्ला भौगर्भिक घटनाहरूबाट उत्पन्न बाढी र त्यसको प्रभावबाट भएको सेती नदी वारिपारीको पोखरा उपत्यकाको पिँधमा जम्मा भएको बृहत् बगर गेगर निक्षेपलाई भौगर्भिक भाषामा क्वाटर्नरी निक्षेप भनिन्छ । यस अधययनको सिलसिलामा समेटिने क्षेत्र रूपातालको क्षेत्र हो । रूपातालको यो भूभाग पोखरा उपत्यकाको पिँधको पूर्वी कुनामा अवस्थित छ र यो भूभाग पनि पोखरा ग्रेभलको प्रभाव क्षेत्र अन्तर्गत पर्दछ ।

रूपाताल/तालवेसी (तल्लो ताल बेसी र उपल्लो तालबेसी) क्षेत्रमा पनि मुढे–मूलको सरोकार क्षेत्र तीनठुटे हो । तीन ठुटेको यो जमीन यथार्थमा रुपाताल पुरिँदै र खुम्चिँदै जाँदा बनेको स्थान हो । यसको वरपर रूपा ज्योति माध्यमिक विद्यालय, सेस्याङ्गदी कुना, दारेबाँध, देवीथान, जलदेवी आदि रहेका छन् । रूपातालको यो भूभाग मूलतः यस भेकको वयोबृद्धहरूको सम्झना अनुसार वि.सं. १९९० सालको र वि.सं. २००८ सालको स्थानीय ठूलो बाढीबाट बढी मात्रामा पुरिएको ठान्दछन् ।

रूपातालको आकार घट्नमा यसको जलाधार खास गरी दोभान खोलाको जलाधार क्षेत्रबाट प्रवाहित पाँगो लगायतको गेगर थुप्रिँदा र तालको पानी खोला छेउ स्थानबाट तल प्रवाहित तालको मुख गहिरिएर जाँदाको कारणबाट भएको हो । अनवरत पुरिने र खोला कटानबाट गहिरिने र तालको पानी घट्ने प्रक्रिया अद्यावधि जारी छ । भनिन्छ पोखरा उपत्यकामा ताल निर्माण हुने क्रम मूलतः पोखरा निर्माणको बखतमा भयो । फेवा बाहेकका अन्य तालहरूको निर्माण खास गरी पोखरा निर्माणको अवधिमा नै भयो । यसरी रूपाताल पोखरा निर्माणकै उच्च बाढीले ल्याएको विशाल गेगर/बगर (पोखरा ग्रेभल) ले दोभान खोलालाई थुनेपछि बनेको हो ।

त्यसर्थ, पोखरा निर्माणको यो अवधि अहिलेभन्दा ७०० देखि ११०० वर्ष अघिको अवधि ठह¥याइएको छ जो माथि नै उल्लेख गरिएको छ । रूपाताल निर्माण हुँदा तत्कालीन समयमा रहेको रूपातालको पिँधको साबिकको भूसतहमा यसको दायाँबायाँ रहेको भूसतहको जस्तै वनस्पति रहेको थियो । रूपातालमुनीको सो साबिकको जमिन दोभान खोला पोखरा निर्माणको उच्च बाढीको गेगर÷बगरबाट अचानक थुनिएर जलमग्न भएर ताल बन्दा ती वनस्पति लगायतका रुखहरू डुबाउमा परेका थिए ।


तालपानीको सतहभन्दा होचा वनस्पति त्यतिबेलै डुवानमा परेर सड्न/गल्न गए तर ताल पानीको सतह भन्दा अग्ला रुखहरू भने रुखहरूको क्षमताअनुसार पछिसम्म डुवान कै अवस्थामा खडा रहेर प्रजाति अनुसारको सहन गर्ने क्षमता अनुसार खडा रहे । त्यसरी रहेका रुखहरू कालान्तरमा क्रमशः ढल्दै र गड्दै गए । तीनीहरूको फेदहरू पनि यथास्थानमा यथावत छन् । यसको ज्वलन्त उदाहरण पोखराकै फेवा, बेगनास, रूपा लगायत प्रायः सबै तालहरुमा देखिन्छ ।

विगतमा ती तालहरूको पिँधबाट निकालिने गरेका काठका मुढाहरू त्यसका ज्वलन्त उदाहरण हुन् । ती मुढाहरूमध्ये बेगनास तालको लामिस्वारा तर्फको जल क्षेत्र मुनिबाट निकालिएको अधिकांश सालका मुढाहरू थिए । स्थानीय मानिसहरूले ती मुढाहरू निकालेर विक्री गर्ने गर्दथे ।

रूपातालको पिँधमा पनि त्यस्तो रुख र तीनको अवशेषका रूपमा रहेका पानी मुनि रहेका मुढाहरू उदाहरणकै रूपमा छन् । रूपातालको आकार घट्दै जाँदा पुरिएको जमीन र त्यसको परिणामस्वरूप उपलब्ध फाँट (खेत) मा पनि त्यस्ता मुढाहरू देखा परे । त्यसरी देखिएका मुढा÷ठुटाकै कारण त्यस स्थानको नामकरण पनि तीनठुटे गरियो । तीनठुटे भन्नुको कारण सो समयमा स्थानीयहरूले तीनवटा ठुटा देखे । वास्तवमा उहिलेका मानिसहरू ठाउँको नामकरण गर्ने सन्दर्भमा पनि सो ठाउँको विशेषतालाई मध्यनजरमा राखी यर्थातरुपमा नामकरण गर्दथे । त्यसैले कतिपय ठाउँको नामले नै त्यसको विशेषता झल्कन्छ ।

वास्तवमा तीन ठुटेका ती ठुटाहरू सहित हाल निस्केको मुढे–मूल र अन्य त्यस प्रकारका जैविक वा वानस्पतिक अवशेषहरूले यसको भौगर्भिक र भौगोलिक इतिहास प्रष्ट्याउँदछ । मूलतः पोखरा निर्माणको क्रममा सेती नदीमा आएको त्यस बेलाको उच्च बाढीको क्वाटर्नरी निक्षेपबाट स्याक्लुङ सग्रबास लगायतको जलाधार क्षेत्रबाट बग्ने दोभान खोलाको मुख थुनिन जाँदा रूपाताल बनेको थियो । भनिन्छ थुनिँदाको समय देखि धेरै पछिसम्म रूपातालको आकार हालको भन्दा धेरै ठूलो थियो र यो उपल्लो तालबेसीसम्म फैलिएको थियो ।

वि.सं. २०४४ सालतिर यसै पङ्क्तिकारले आफ्नै विद्यावारिधि अनुसन्धानका निमित्त तथ्याङ्क सङ्कलनको सिलसिलामा सर्वेक्षण गर्दाका बखत भेटिएका त्यस बखतका बयोवृद्धहरूले भन्नु भएको थियो कि उहाँहरूले पनि आफूहरू सानो हुँदा सुनेको कुरा यहाँहरूको पिताजीहरू भोट नुन लिन जाँदा मुस्ताङमा तत्कालीन बयोवृद्ध बुढीआमाहरूले सोध्ने गर्दथे रे कि त्यो उपल्लो तालबेसीको तालको पानीमा छ्यापछ्याप गर्ने वरको रुखको हाँगा अहिले छ कि छैन ? उनीहरूले त्यो बेला हिउँदे बसाइका समयमा यस भेगमा आएर भिक्षा माग्ने, सानो तीनो घुम्ती व्यापार जस्ता गतिविधि गर्ने गर्दथे ।

हिमाली भेगका त्यस प्रकारको अभ्यास अहिले भन्दा ३ दशक अघिसम्म पनि सक्रिय थियो । तर हालमा त्यस प्रकारको अभ्यासमा परिवर्तन आयो र त्यसले स्थायी बसोबासको रूप लिँदै गएको छ । पछि उमेर अवस्थाले आउन नसक्ने ती बुढीआमाहरूले तत्कालीन समयमा नुन लिन जाने मानिसहरूसँग गरेको सोधपुछले पनि ताल उपल्लो तालबेसीसम्म फैलिएको रहेछ भन्ने कुरा पुष्टि गर्दछ । साथै उपल्लो तालबेसी भएर फैलिएको दोभान खोलाको दायाँ बायाँ रहेका फाँटको स्वरूप र माटोको स्वभाव हेर्दा पनि प्रष्ट हुन्छ । यसबारेमा थप अनुसन्धान हुन सक्दछ ।


जेहोस्, माथि उल्लिखित विवरणले विगतमा रूपातालको आकार हालको भन्दा धेरै ठूलो थियो । ताल निर्माणको क्रममा साबिकको पुरिन गएको जमिनमा रहेको तत्कालीन वनस्पति र त्यहाँ रहेको विविध प्रजातिका ठूला रुखहरू पनि डुबानमा परेका थिए । कालान्तरमा ती रुखहरू क्रमशः ढल्दै गए र पानी मुनि रहन गए । ती रुखहरूको फेद तालको पानी मुनि नै रह्यो ।

त्यसको स्वभाविक प्राकृतिक प्रक्रिया निरन्तर रह्यो । यस्तै क्रममा तीन ठुटेमा रहेको ठुटाहरूले सो कुरालाई प्रष्ट पार्दछन् । हाल बाँध निर्माण र ताल बढाउने सन्दर्भमा जमिन मिलाउने वा सम्याउने क्रममा डोजर लगाउँदा सो मुढो करिब डेढ मिटर बाहिर निस्केको छ । भनिन्छ त्यस ठाउँमा हालको सम्याउने गतिविधिभन्दा पहिला पनि बुलबुले पानी आउने गर्दथ्यो । त्यसलाई दाउरे मूल पनि भनिन्थ्यो ।

मान्छेको सम्पर्क बढ्दै जादाँ
तर अहिले मुढो बाहिर निस्केपछि सो मूलको दुवैतर्फ पूर्व र पश्चिम फर्केर जलधारा देखा परेको छ । यसरी अचानक निस्केको कञ्चन जलधाराको स्वरूपले देख्ने÷जान्नेका मनमा थुप्रै प्रकारका सोचहरू उब्जेको छन् । व्यक्ति पिच्छेको अनुमान छ । त्यसो हुनु स्वभाविक नै हो । अन्यत्र पनि प्रकृतिको यस प्रकारको अनौठो/अद्वितीय उपजले उब्जेका उपलब्धिहरू देखिन्छन् ।

ती स्थानहरूमा स्थान विशेषको क्षमता अनुसार स्थानीयहरूद्वारा गरिएको प्रबद्र्धनबाट थुप्रै आकर्षक गन्तव्यहरू बनेका छन् र ती गन्तव्यहरूले स्थानीय जनजीवनमा थुप्रै प्रकारको प्रभाव पारेको देखिन्छ । यहाँ पनि सो अवस्था सिर्जना हुन सक्ने बलियो अवस्था प्रष्टसँग देखिन्छ । प्रकृतिको लामो अन्तरालको खेलमा उपलब्ध यो उपज निश्चित रूपमा वरदान÷उपहार हुन सक्दछ । यसले स्थानीय जनजीवनमा थुप्रै अनुकूल प्रभाव पैदा गर्न सक्दछ तर त्यसका निमित्त समुचित लेखाजोखा, संरक्षण र उपयोग गर्न सक्नुपर्दछ ।


जसो भए पनि यस सम्बन्धमा भौगर्भिक र भौगोलिक प्रक्रियागत तथ्यहरूको माथि उल्लिखित प्रारम्भिक अध्ययन अनुसार हाल त्यहाँ निस्केको मुढे–मूलको सम्बन्ध त्यहाँको भूमिगत जलाशयसँग छ र सो जलाशय ताल पुरिएको तलैया माटो र सम्भवतः पोखरा निर्माणको क्रमको क्वाटर्नरी निक्षेपको ग्रेगर र त्यसभन्दा तलको कुन्छा निर्माणको तहमुनि रहेको भूमिगत जलाशयसँग यसको सम्बन्ध छ । मुढो गहिरोसँग गडेको छ । कति गडेको छ उत्खनन गरेर थाहा लाग्दछ । गहिरो गढेकै कारण अचल छ ।

सो जलाशयसँग यस मुढाको कुनै न कुनै प्रकारको सम्बन्ध छ र त्यसबाट बन्न गएको छिद्रबाट सो जलले निकास पाएको छ र सो जल–निकास नै मुढे–मूलको रूपमा देखा परेको छ वा सो जलाशय नै यस मुढे–मूलको स्रोत हो । अब रह्यो कुरा यो अद्वितीय मूल त उपलब्ध भयो तर यसलाई जीवन्त कसरी बनाउने ? यसको स्वाभाविक प्रबद्र्धन कसरी गर्ने ? यसको समुचित उपयोग कसरी गर्ने ? भन्ने चुनौतीहरू छन् ।

यसै सन्दर्भमा भौगर्भिक, भौगोलिक लगायत बहु विषयगत सोच सहितको अध्ययन अनुसन्धानद्वारा यसको प्रबद्र्धनको दिगो उपाय खुट्याउनुपर्दछ । यसको स्थायित्वबारे यकिन ठहर हुनुपर्दछ । हाल तत्कालै वा अविलम्ब लिनुपर्ने आवश्यक कदम निम्न अनुसार देखिन्छ ।


१. देखा परेको मुढे–मूलको संरक्षणमा सबै उपायहरू प्रभावकारी रूपमा अपनाएर उचित संरक्षण गर्ने । मुढे–मूलको स्थायित्वबारे वैज्ञानिक खोज/अनुसन्धान गर्ने ।
२. मुढाको प्रजाति के हो ? सो पहिचान गर्ने र त्यसको वास्तविक अवस्थाबारे सम्बन्धित विज्ञहरूबाट जानकारी लिने, कार्बन डेटिङबाट उमेर पत्ता लगाउने र उहाँहरूको सुझाव अनुसार मुढालाई सकेसम्म लामो समयसम्म टिकाउने उपाय गर्ने ।
३. यसको सांस्कृतिक, धार्मिक र सामाजिक मूल्य मान्यताको सम्बन्धमा विज्ञहरूबाट अध्ययन अनुसन्धान गराई एकीन सल्लाह र सुझाव लिने र सोही अनुसार सम्भाव्य कार्य योजना बनाउने ।
४. मुढे–मूललाई मानिसको प्रत्यक्ष पहुँचबाट सुरक्षित राख्दै उपयोग गर्ने सुरक्षित प्रबन्ध मिलाउने । पानीको गुणस्तर परीक्षण गर्ने ।
५. यस स्थानलाई व्यवस्थित रूपमा धार्मिक तथा पर्या–पर्यटन लगायत मनोरञ्जनात्मक स्थलका रूपमा प्रबद्र्धन गर्ने र सबैका निमित्त लोकप्रिय गन्तव्यको रूपमा परिणत गर्ने
६. रूपातालको जल सतहको क्षेत्रफल हाल १.२७ वर्गकिलोमिटर छ । यसको सरदर जल गहिराई ३ मिटर र उच्चत्तम गहिराई ६ मिटर छ । यस तालमा प्रस्तावित नयाँ ५९० मिटर लामो माटोको बाँध बाँध्दा ४ मिटर जल सतह उठ्ने छ र यसको ताल पानी क्षेत्रफल १.९७ वर्ग किलोमिटर हुनेछ । सो अवस्थामा यस तीन ठुटेको मुढे–मूललाई कसरी सुरक्षित र अनुकूलन गर्ने भन्ने ठोस कार्ययोजना तयार गर्नुपर्दछ ।
७. दर्शनार्थीहरूको हालको चापलाई ख्याल गर्दै आवश्यक पूर्वाधार निर्माणको व्यवस्था गर्ने । दर्शनार्थीहरूको सो चापबाट मुढे–मूलको अवस्थामा कुनै प्रतिकूल प्रभाव नपर्ने वातावरण मिलाउने ।

द्रष्टव्य: थप सुझावको अपेक्षा गर्दै छलफलका निमित्त प्रस्तुत लेख ।

तपाईको प्रतिक्रिया