सन्दर्भ विश्व रक्तदाता दिवस– १४ जुन २०२५

रगतको उपलब्धता, रक्तदाता र रगतको आवश्यकता

सूर्यप्रसाद ढकाल २०८२ जेठ ३० गते १५:०६

जिवहरूमा उत्कृष्ट प्राणीको रुपमा रहेको मानिस हो । आज २१ औं शताब्दीको समयमा मानिसले विज्ञान–प्रविधि, स्वास्थ्य लगायतका क्षेत्रमा ठूलो फड्को मारेको छ । ‘दिन दुइगुणा, राता चौगुणा’को हिसाबले नयाँ–नयाँ अन्वेषण गरेको छ, नयाँ खोजी गरेको छ अनी नयाँ प्रगति गरेको छ । त्यसरी नै स्वास्थ्य विज्ञानमा फड्को मारेको छ । तर पनि विभिन्न स्वास्थ्य समस्याले समय–समयमा चुनौति दिदै आएका छन् ।

Advertisement

मानव शरीरमा रगत एक महत्वपूर्ण तरल पदार्थ हो । स्वाचालित मुटुले विभिन्न रक्तनलीको माध्यमबाट मानव शरीरका कोष कोषमा रगत पुर्‍याउँदछ । रगतले शरीरलाई आवश्यक खाद्य पदार्थ, पोषक बस्तु, भिटामिन, मिनरल, पानी, अक्सिजन लगायतका पदार्थ पुर्‍याउने र कोषको विकारलाई बाहिर ल्याउने काममा सहयोग गर्दछ । रगतले शरीरमा तापक्रम आपूर्ति गर्ने, किटाणु मार्न सहयोग पुर्‍याउने, घाऊ निकोपार्न सघाउने लगायतका कार्य गर्दछ । सामान्यतया एउटा वयस्क मानिसको शरीरमा ५ लिटर रगत हुन्छ । रगत नियमित प्रवाह नै मानिसको जीवन हो ।


विश्व स्वास्थ्यको क्षेत्रमा यति ठुलो प्रगति गरेर विभिन्न जटिल भन्दा जटिल रोगका औषधी बनेका छन् । मानव शरीरमा विभिन्न अंग प्रत्यारोपण सम्भव भएको छ । कृतिम अंग समेत प्रत्यारोपण सम्भव बनाएका बेला विभिन्न कारणबाट मानव शरीरमा रगत कम हुँदा आवश्यक रगत तथा रक्ततत्वको विकल्प अहिलेसम्म बन्न सकेको छैन । मानव शरीरमा रगत कम भै आवश्यक पर्दा अर्काे स्वच्छ मानिसकै रगत झिकेर दिनु पर्दछ । यसलाई रक्तदान भनिन्छ । रक्तदान जिवन दान, जिवन दान महादान हो ।

Advertisement


मानिसको शरीरमा रगत कमी हुने अवस्थाहरुमा दुर्घटना परी रगत खेरजाँदा, महिला सुत्केरी हुँदा बढी रगत बगेर शरीरमा कम हुँदा, अप्रेसनको समयमा रगत बढी बगेर कम हुँदा, शरीरमा रगत कम गराउने रोगहरू ऐनिमिया, थालिमिया, हेमोफिलिया लगायतका समस्याहुँदा आदि हुन् । यस्तो समयमा आवश्यक रगत तथा रक्ततत्व बाहिरबाट पूर्ति गरिनु पर्दछ । शरीरमा रगत कमहुँदै जाँदा मानिसको मृत्यु समेत हुन्छ । त्यस्तो रगतको आपूर्ति भनेको स्वयंसेवी रक्तदाताको रगत दान नै हो ।

रगत एउटा द्रव्य पदार्थ हो । यसमा तरल भाग र ठोस भागहरू रहेका हुन्छन् । रगतमा ५५ प्रतिशत प्लाज्मा हुन्छ । यस भित्र पानी घुलित खनिज र अन्य रसायनहरू रहेका हुन्छन् । रगतको अर्काे ४५ प्रतिशत भाग राता रक्त कोष (आरबिसी० र सेता रक्तकोष (डब्लुबिसी० तथा प्लेटलेटसहरू रहेका हुन्छन् । यिनिहरू ठोस रूपमा रहेको हुन्छ । यिनिहरूको आकार ०.००२ मिलिमिटर हुने हुँदा रक्तनलीमा सजिलो बग्न सक्दछन् ।

Advertisement


एउटा मानिसको शरीरमा रहेको रक्तकोषहरूको आयु सिमित हुन्छ । राता रक्तकोष (आरबिसी) को आयु सामान्यतया १२० दिनको हुन्छ भने सेता रक्तकोषको आयु केही घण्टा देखि केही दिनको मात्र हुन्छ । त्यसैले हाम्रो शरीरमा रगतका कोषहरू बन्ने र नष्ट हुने प्रक्रिया नियमित चली रहन्छ । त्यसकारण एउटा स्वस्थ्य, निरोगी, निश्चित उमेर समूह र तौल भएका व्यक्तिले नियमित रक्तदान गर्न सक्दछ । एउटा स्वच्छ मानिसले रगत दिएर अर्काे मृत्युको मुखमा पुगिरहेको व्यक्तिलाई बचाइने भएकोले ‘‘रक्त दान जीवन दान, जीवन दान महानदान’’ भनिएको हो ।

रगतले शरीरमा तापक्रम आपूर्ति गर्ने, किटाणु मार्न सहयोग पुर्‍याउने, घाऊ निकोपार्न सघाउने लगायतका कार्य गर्दछ । सामान्यतया एउटा वयस्क मानिसको शरीरमा ५ लिटर रगत हुन्छ । रगत नियमित प्रवाह नै मानिसको जीवन हो ।


रगतको सहज उपलब्धता गराउनु भनेको सक्ने व्यक्तिले नियमित रक्तदान गर्नु हो । नियमित रक्तदान गर्नु भनेको सन्तुष्टि हुनु मात्र नभई स्वच्छताको प्रमाण पनि हो । ब्लड बैंकमा रगत लामो समय भण्डारण गरेर राख्न मिल्दैन । त्यस्तै सबै रक्त समूहको रगत सबैलाई दिन पनि मिल्दैन । आफ्नो रक्त समूह अनुसार मिल्ने रक्त समूहको मात्र रगत उपयुक्त हुन्छ । त्यसैले नियमित र आवश्यकतालाई ख्याल गरी रक्तदान गर्दा आवश्यक मानिसलाई रगत उपलब्ध गराउन सहज हुन्छ । अस्पतालमा बिरामीलाई रगतको आवश्यकता हुँदा पनि हामीले रक्तदान गरेनौ भने उसले रगत पाउँदैन ।


मानव शरीरमा हुने रगतका ५०० भन्दा बढी प्रकारका समूहहरू पत्ता लगाएका छन् । तर रक्तदान र स्वास्थ्य उपचारमा रगतको प्रयोगको हिसाबले २ वटा समूहलाई मात्र महत्व दिइन्छ । पहिलो एबी समूह, यसमा ए, बि, एबि र ई गरी चार प्रकार हुन्छन् भने दोस्रो आरएच समूह हो । आरएच भित्र आरएच पोजेटीभ र आरएच नेगेटिभ हो । त्यसैले आरएच पोजेटिभ र आरएच नेगेटिभ फ्याक्टरका आधारमा ए, बी, एबी र इलाई हेरिन्छ र त्यसैको आधार मिलाएर बिरामीलाई उपलब्ध गराइन्छ ।


कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?
१) उमेर १७ वर्ष पुरा भई ६० वर्ष ननाघेको,
२) शरीरको तौल ४५ केजी भन्दा बढी भएको,
३) होमोग्लोविन १२ ग्राम र सोभन्दा बढी भएको,
४) मुटु, कलेजो, फोक्सो राम्रो क्रियाशिल भएका व्यक्ति,
५) नियमित औषधी सेवन गर्ने व्यक्तिले डाक्टरको सल्लाह अनुसार मात्र गर्न सक्छन् ।

कस्ता व्यक्तिले रक्तदान गर्न सक्दैनन् ।
१) माथिको अनुसार उमेर समूह र तौल नमिलेको व्यक्ति,
२) एक पटक रक्तदान गरेको ३ महिना नभएको व्यक्ति,
३) छारेरोग, क्षयरोग, यौन रोग, मधुमेय, दम, मृगौला रोग, मुटुरोग, जण्डिस, विषम ज्वरो, एड्स जस्ता रोग लागेका व्यक्ति,
४) लागु औषध प्रयोगकर्ता,
५) महिला भएमा महिनाबारी सुरु भएको ८ दिनसम्म, सुत्केरी भएको बेला, बच्चालाई स्तनपान गराइरहेको अवधीभर र गर्भवती भएपश्चात् गर्नु हुँदैन ।

रक्तदान गर्न कतिसमय लाग्छ र रक्तदान पश्चात्को अवस्था
१) रक्तदान गर्न ५ देखि ७ मिनेट मात्र लाग्दछ,
२) रक्तदान गरेपश्चात् ५ मिनेट बेडमा वा कुर्सीमा बस्नु राम्रो हुन्छ,
३) रक्तदान गर्दा खाली पेटमा भन्दा केही खाएर गर्नु राम्रो हुन्छ,
४) रक्तदान गरी सकेपछि जुस, झोलीलो पदार्थ वा तरल पदार्थ खानु राम्रो हुन्छ,
५) रक्तदान गरे पश्चात् जुन कम गर्न पनि केही असर पर्दैन,
६) कम्तिमा रक्तदान गरेको ३ घण्टासम्म धुम्रपान, नशालु पदार्थ सेवन नगर्नु राम्रो हुन्छ,
७) रक्तदान गरेको कारण विशेष खाना खानु पर्ने, थप खाना आवश्यक पर्दैन ।

तपाई रक्तदान गर्न जादै हुनुहुन्छ?
१) भावनात्मक एवं मानसिक रूपले तयार हुनुहोस्,
२) रक्तदानको लागि खालीपेट नराख्नुहोस् । केही खाएर जानुहोस्,
३) आफ्नो स्वास्थ्य परीक्षण गराउनुहोस् । जस्तो प्रेसर हेर्ने, हेमोग्लोबिनको अवस्था जाँच गराउने गर्नुहोस्,
४) प्राविधिक(रक्त संचार सेवाका कर्मचारी)ले सोधेका प्रश्नको संकोच नमानी सहि जवाफ दिनुहोस्,
५) रक्तदानको लागि छनोट हुनुभएमा आफ्नो पालो अनुसार रक्तदान गर्नुहोस्,
६) रक्तदान गरे पश्चात् २/४ मिनेट बसेर आरम गर्नुहोस् र सुईले घोचेको ठाउँमा मालिस नगरी केही बेर औंलाको सहायताले हल्का थिच्नुहोस्,
७) सो पश्चात् हल्का नास्ता गर्ने झोलिलो पदार्थ पिउने गर्नुहोस्,
८) मध्यपान र धुम्रपानको लत भएमा कम्तीमा ३ घण्टा सेवा नगर्नुहोस् ।
९) रक्तदान गर्न पाएकोमा आयोजक र रक्त संचार सेवाका कर्मचारीलाई धन्यवाद दिनुहोस्,
१०) प्रत्येक ३/३ महिनामा रक्तदान गर्न तयार भई नियमित सम्पर्कमा रहनुहोस् ।


(लेखकः नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष हुनुहुन्छ । )

तपाईको प्रतिक्रिया