पोखरा १३ मा ‘शिक्षक उत्प्रेरणात्मक तथा शिक्षामा नवीन विधिको प्रयोग’ सम्बन्धी तालिम

समाधान संवाददाता २०८२ असार १ गते ७:२४

पोखरा ।


शिक्षकमा पेशाप्रति उत्प्रेरणा जगाउने, सिपमा अभिवृद्धि गर्ने र विद्यार्थीहरूको सिकाइमा सहजीकरण होस् भन्ने उद्देश्यले पोखरा महानगरपालिका वडा नं. १३ का तीनवटा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि ‘शिक्षक उत्प्रेरणात्मक तथा शिक्षण विधिमा नवीन प्रयोग’ शीर्षकमा तालिम सञ्चालन गरिएको छ ।

Advertisement

वडा शिक्षा समितिको आयोजनामा सम्पन्न उक्त तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समाजसेवी डम्बरबहादुर श्रेष्ठले यस्तो किसिमको तालिम सञ्चालन गरेर वडाले प्रशंसनीय काम गरेको भन्दै बधाई दिए । उनले शिक्षक समाज र राष्ट्रको वर्तमान तथा भविष्य भएकाले इमानदार, कर्तव्यनिष्ठ भएर पेशामा लाग्नुपर्नेमा जोड दिए । अध्ययनशील, प्रयोगशील र अनुशासित शिक्षकबाट राष्ट्रभित्र रहेका समस्याहरू समाधान गर्न सक्ने जनशक्ति तयार हुने भएकाले शिक्षकले आफ्नो पेशामा गर्व गर्नुपर्ने बताए ।

कार्यक्रममा वडा अध्यक्ष किरण बरालले वडाको समग्र विकास शिक्षाको माध्यमबाट मात्र सम्भव हुने भएकाले शिक्षा क्षेत्रको उन्नयनका लागि योजनाबद्ध ढङ्गमा अघि बढिरहेको जानकारी दिए । उनले शिक्षकहरू अनुकरणीय र नतिजामुखी बन्नुपर्नेमा जोड दिँदै यस्ता तालिममा सक्रिय सहभागिता आवश्यक हुने बताए ।

Advertisement

तालिममा प्रशिक्षक मोती पोख्रेल र प्रेमनारायण पोख्रेलले उत्प्रेरणात्मक विचार, शिक्षणका नवीन पद्धतिहरू, वर्तमान शिक्षाको औसत अवस्था, सुधारका विकल्पहरू, उत्प्रेरणाका विविध उपाय, समालोचनात्मक चिन्तन र सिकाइका रणनीतिहरूको विषयमा प्रशिक्षण दिए ।

वडा शिक्षा समितिका शैक्षिक समन्वय संयोजक राजेन्द्र भण्डारीले यस्ता तालिमले शिक्षक उत्प्रेरित हुने, सिकाइ अभियान सहज हुने र समग्र शिक्षाको उन्नयनमा टेवा पुग्ने बताए । उनले समयसापेक्ष यस्ता तालिमको निरन्तरता आवश्यक रहेको, शिक्षक स्वयं परिवर्तनशील बने समाज रुपान्तरण सम्भव हुने बताए ।

कार्यक्रममा स्वागत जनप्रतिनिधि सुचिता तमाङले गरिन् भने सञ्चालन शैक्षिक संयोजक राजेन्द्र भण्डारीले गरे । कार्यक्रममा आर्वा विजया माविका शिक्षक वेदप्रसाद अवस्थी, भद्रकाली माध्यमिक विद्यालयकी शिक्षिका शान्ति केसीलगायतका शिक्षकहरूले आफ्नो धारणा राखे ।

तालिममा श्री भद्रकाली माध्यमिक विद्यालय, रतनपाण्डे माध्यमिक विद्यालय र आर्वा विजया माविमा आधारभूत तथा माध्यमिक तहमा अध्यापन गराउने ३६ जना शिक्षकको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया