साग चल्दै, रंगशाला बन्दै !

समाधान संवाददाता २०७६ मंसिर १७ गते १३:५४

युवराज गुरुङ ‘युनिश’
पोखरा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) आइतबारबाट सुरु भएको छ । सागका २७ खेलमध्ये ८ खेल पोखरामा हुँदैछ । पोखरामा साग सुरुआत ब्याडमिन्टनबाट भएको हो ।

रंगशालामा एकातर्फ कडा सुरक्षाबीच १३ औं साग सञ्चालन भइरहेको छ । तर, त्यसकै अर्कातर्फ रंगशाला पुनर्निर्माणसमेत भइरहेको छ । आइतबार बिहान साग महिला फुटबल टोलीले पहिलो पटक नवनिर्मित रंगशालामा भएको फुटबल मैदानमा अभ्यास गरे । उनीहरुले अभ्यासलगत्तै मैदान पुनः मर्मत गरियो ।

Advertisement

मैदानको दुबो केही दिनअघिमात्रै रोपिएकाले मैदान आधा हरियो देखिन्छ भने आधा फुस्रो देखिन्छ । आयोजक टोली दुबोको कारण खेल नरोकिने र दुबो फेर्दै भएपनि खेल जारी रहने बताइरहेको छ । खेल मंसिर १७ गतेदेखि सुरु हुँदैछ ।

मैदानबाहिरको सिन्थेटिक एथ्लेटिक ट्र्याकको कामसमेत पूरा सकिएको छैन । प्राविधिक त्यसमा लागिरहेका छन् । १० हजार सिट क्षमताको प्यारापिट जडान गरिने भनिए पनि करिब ९ हजार सिट क्षमतामात्रै जडान गरिएको छ । महिला फुटबल खेलाडीका लागि चेन्जिङ रुम अझै तयार भइसकेको छैन ।

Advertisement

रंगशाला प्रवेशद्वारमा शनिबारदेखि नेपालको झन्डाअंकित फूलबारी बनाउन लागिएको छ । त्यसका लागि मैदानबाट बचेको दुबो बिच्छ्याएर सजाउने काम भइरहेको छ । शनिबारसम्म धुलाम्मे पोखरा रंगशालामा अभ्यासका लागि आउने खेलाडी मुखमा मास्क लगाएर आउन बाध्य छन् । रंगशालामा बनेको बाटो र वरिपरि खनिएका ठाउँमा धुलो नउडोस् भन्नका लागि प्रशस्त पानीको व्यवस्था गरिएको छ । जसमा प्रत्येक घन्टा पानी छ्याप्दै धुलो रोक्ने ‘प्रयास’ गरिएको छ ।

पोखरामा हुने सागको औपचारिक उद्घाटन भने सोमबार गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिउँसो २ बजे रंगशालामा गरेका थिए । पोखरामा हुने साग अन्तर्गत महिला फुटबल र क्रिकेट, आर्चरी, ब्याडमिन्टन र ह्यान्डबल पोखरा रंगशालामा हुँदैछन् । ट्रायथोलन र बिच भलिबल लेकसाइडमा हुनेछन् भने भारोत्तोलन माटेपानीमा हुँदैछ । पोखरा रंगशालामा हुने खेलमध्ये आइतबारबाट ब्याडमिन्टन खेल सुरु भएको हो । आइतबार खेलको उद्घाटन स्थानीय व्यवस्थापन तथा सहजीरण समिति संयोजक तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले उद्घाटन गरेकी थिइन् ।

‘पोखरा खेलकुदका लागि अति उत्तम ठाउँ हो । साग पोखरामा आयोजना गर्न पाउनु गौरवको कुरा हो,’ खेल उद्घाटन मन्त्री पुनमगरले भनिन्, ‘मौसम पनि खुलेको छ । नेपाली खेलाडीले पनि मौसमजस्तै खुलेर खेल्नुहोला ।’

तपाईको प्रतिक्रिया