विदेशिने प्रवृत्तिले उच्च शिक्षामा परेको असर

विगत केही दशकदेखि नेपाली समाजमा विदेशिने प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । विशेषतः युवा पुस्ता उच्च शिक्षा हासिल गर्न, जीवनस्तर उकास्न, रोजगारीका अवसर खोज्न तथा सुरक्षित भविष्य सुनिश्चित गर्न विदेशिन थालेका छन् । नेपालमा राजनीतिक अस्थिरता, शिक्षाको गुणस्तरप्रति शंका, बेरोजगारी, तथा विश्वव्यापी प्रतिस्पर्धामा आउनुपर्ने आकांक्षाले विदेशी शिक्षाप्रति युवाहरूलाई आकर्षित गरिरहेको छ ।
विशेष गरी उच्च शिक्षाको सन्दर्भमा हेर्दा विदेशिने प्रवृत्तिले नेपाली शिक्षण संस्थाहरूमा विद्यार्थीको संख्या घट्ने, मेधावी जनशक्ति गुम्ने, अनुसन्धान तथा शिक्षाको गुणस्तरमा प्रतिकूल असर पार्ने जस्ता समस्याहरू निम्त्याएको छ । यद्यपि यसले व्यक्तिलाई नयाँ अवसर, सीप र ज्ञान प्राप्त गर्ने सम्भावना पनि दिएको छ ।
सबैभन्दा पहिलो र प्रत्यक्ष असर भनेको मेधावी तथा सक्षम विद्यार्थीहरू बाहिरिनु हो । यिनीहरू उच्च शिक्षा लिने उद्देश्यले जान्छन्, तर अध्ययनपछि फर्कने दर न्यून हुन्छ । यसले देशलाई आवश्यक मानव संसाधन अभाव गराउँछ । विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, व्यवस्थापनलगायतका क्षेत्रका क्षमतावान विद्यार्थीहरू विदेशी विश्वविद्यालयमा गई स्थायी बसोबासको बाटो रोज्ने गर्छन् । नेपालका विश्वविद्यालय तथा उच्च शिक्षालयहरूले विद्यार्थीहरू गुमाइरहेका छन् ।
निजी कलेजहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न थालेका भए पनि विदेशको डिग्रीप्रतिको आकर्षण रहन्छ । यसले गर्दा कलेजहरूमा विद्यार्थीहरूको संख्या कम हुँदै गएको छ, जसले आर्थिक संकट, कार्यक्रमहरू बन्द हुने, पठनपाठनमा विविधता नहुने जस्ता समस्याहरू ल्याएको छ । विदेशिने प्रवृत्ति विद्यार्थीहरूमा मात्र सीमित छैन । नेपाली विश्वविद्यालय तथा अनुसन्धान केन्द्रमा कार्यरत प्राध्यापक तथा अनुसन्धानकर्ता पनि विदेशतिर गइरहेका छन् ।
उच्च पारिश्रमिक, अनुसन्धानको राम्रो वातावरण र सम्मानजनक पेशागत जीवनका कारण शिक्षण, शोध क्षेत्रका विज्ञहरू पनि विदेश पलायन भइरहेका छन् । विदेशी शिक्षा प्रणालीप्रति विश्वास बढ्दा नेपाली शिक्षण प्रणालीप्रति शंका उत्पन्न हुन्छ । यसले विद्यार्थी, अभिभावक, अनि समाजमा समेत ‘नेपालमा पढेर केही हुँदैन’ भन्ने मानसिकता विकास गर्छ, जसले शैक्षिक संस्थाको मनोबल गिराउँछ । विदेशिने चाहनाले गर्दा नेपालमै रहेका निजी कलेजहरूले विदेशी विश्वविद्यालयको शाखा वा साझेदारी कार्यक्रम सञ्चालन गर्न थालेका छन् । कतिपय संस्थाहरू व्यावसायिक लाभ मात्र खोज्ने हुँदा गुणस्तरीय शिक्षाभन्दा बढी नाफाकेन्द्रित हुने प्रवृत्ति बढेको छ ।
सकारात्मक पक्षहरू
यद्यपि विदेशिने प्रवृत्ति अनेक समस्या र चुनौतीसँग सम्बन्धित छ, यसका केही सकारात्मक पक्षहरू पनि छन् जसलाई नकार्न सकिँदैन । उचित व्यवस्थापन गरिएमा यी पक्षहरु देशको सामाजिक, शैक्षिक र आर्थिक विकासमा सहयोग पुर्याउन सक्छन् । विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्दा विद्यार्थीहरूले विश्वस्तरीय शिक्षण पद्धति, आधुनिक प्रविधि, अनुसन्धानको अवसर, र अन्तर्राष्ट्रिय स्तरका शिक्षकहरूसँग ज्ञान आदानप्रदान गर्ने मौका पाउँछन् ।
उच्च शिक्षाका लागि विदेश गएका विद्यार्थीहरू फर्कने दर न्यून छ, जसले नेपालमा मानव संसाधन अभाव निम्त्याउँछ।
यसले उनीहरूको शैक्षिक स्तरमा गुणात्मक सुधार ल्याउँछ । विदेशमा अध्ययन गर्दा विभिन्न देश, भाषा, संस्कृति, विचार र कार्यशैलीसँग परिचित हुन पाइन्छ । यसले विद्यार्थीलाई बहुसांस्कृतिक अनुभव प्राप्त गराउँछ र उनीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउँछ । विदेशी शैक्षिक प्रणाली प्रायः व्यावसायिक सीप र व्यवहारिक ज्ञानमा केन्द्रित हुन्छ । यस्तो शिक्षापद्धतिले नेतृत्व क्षमता, अनुसन्धानको सीप, समस्या समाधान गर्ने क्षमता, र आधुनिक प्रविधिमा दक्षता विकास गर्छ । विद्यार्थीहरूले पढाइपछि विदेशी मुलुकमा काम पाउँछन् ।
यसबाट कमाइ भएको पैसा (रेमिट्यान्स) नेपाल पठाउँदा परिवारको आर्थिक अवस्था सुधार हुन्छ र राष्ट्रको विदेशी मुद्रा भण्डारमा पनि योगदान पुग्छ । विदेशमा रहेका नेपाली विद्यार्थी तथा पेशाकर्मीहरू देशमा रहेका आफ्ना साथीभाइ र संस्थाहरूसँग अनलाइन प्लेटफर्ममार्फत निरन्तर सम्पर्कमा रहने गर्छन् । यसले प्रविधिको प्रयोग बढाउँछ र नयाँ सञ्जाल विस्तार गर्न सहयोग गर्छ । विदेशी अनुभव लिएर फर्किएका व्यक्तिहरू नेपालमा व्यवसाय, उद्योग वा सामाजिक अभियान सञ्चालन गर्न सक्ने सम्भावना हुन्छ ।
यस्ता उद्यमशील व्यक्तिहरूले देशमा रोजगारी सिर्जना, सीप स्थानान्तरण, र आर्थिक विकासमा योगदान दिन सक्छन् । विदेशी शिक्षा प्रणालीप्रति आकर्षण बढ्दा नेपाली शिक्षण संस्थाहरूमा पनि गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने दबाब पर्छ । यसले शिक्षण संस्थाहरूबीच प्रतिस्पर्धा बढाउँछ ।
व्यवस्थापनका उपायहरू
विदेशिने प्रवृत्ति नेपालमा द्रुत गतिमा बढ्दै गएको यथार्थ हो । यद्यपि यसलाई पूर्ण रूपमा रोक्न सकिन्न, यसले पार्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सकिन्छ । उच्च शिक्षामा विदेशिने प्रवृत्तिको प्रभावलाई सन्तुलनमा ल्याउनका लागि निम्न उपायहरू अवलम्बन गर्न आवश्यक छः
नेपालका विश्वविद्यालय र कलेजहरूले आफ्नो शैक्षिक गुणस्तरमा सुधार ल्याउनुपर्छ । अद्यावधिक पाठ्यक्रम, अनुभवी शिक्षक, प्रयोगात्मक सिकाइ प्रणाली, र प्रविधिको प्रभावकारी प्रयोगले विद्यार्थीहरूलाई देशमै अध्ययन गर्न प्रोत्साहित गर्न सकिन्छ । शोध र नवप्रवर्तनलाई प्राथमिकता दिइनुपर्छ । सरकार तथा निजी क्षेत्रले अनुसन्धान केन्द्रहरूमा लगानी गरी विद्यार्थीहरूलाई अनुसन्धानमा संलग्न हुन उत्प्रेरित गर्नुपर्छ ।
नेपालका शिक्षण संस्थाहरूले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गरी संयुक्त डिग्री कार्यक्रम, एक्सचेन्ज प्रोग्राम, र भर्चुअल क्लासेज सञ्चालन गर्नुपर्छ । यसले विदेश जाने आवश्यकता न्यून हुन्छ । विदेशमा पढेर फर्किएका व्यक्तिहरूलाई नेपालमै योग्यताअनुसारको रोजगारीको व्यवस्था हुनुपर्छ । दक्ष जनशक्तिलाई उपयोग गर्न सक्ने वातावरण तयार पारिएमा विदेश गएकाहरू पनि फर्कन इच्छुक हुन्छन् । योग्य शिक्षक र अनुसन्धानकर्ता विदेश पलायन हुन नदिन तिनीहरूलाई सम्मान, सुरक्षित जागिर, तलबवृद्धि, तालिम र प्रविधिको सुविधा दिनुपर्छ ।
विदेश जाने सोच बनाइसकेका विद्यार्थीलाई स्पष्ट जानकारी, अवसर र चुनौतीहरूबारे अवगत गराउन कलेज तथा विश्वविद्यालयहरूले क्यारियर काउन्सेलिङ र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । शिक्षा नीतिहरू यथार्थपरक, समयसापेक्ष र व्यवहारिक हुनुपर्छ । राष्ट्रिय आवश्यकताअनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने रणनीति अपनाइने हो भने विदेशिनुको आवश्यकता घट्छ । विद्यार्थीहरूमा देशप्रेम, सामाजिक उत्तरदायित्व, र राष्ट्र निर्माणको भावना विकास गर्न पाठ्यक्रममा नै यस्ता विषयहरू समावेश गरिनु आवश्यक छ । देशको हितलाई प्राथमिकतामा राख्ने चेतना निर्माण गरी विदेश जानेलाई फर्केर सेवा गर्ने प्रेरणा दिन सकिन्छ ।
यी उपायहरू अपनाएर उच्च शिक्षामा विदेशिने प्रवृत्तिलाई सन्तुलित ढंगले व्यवस्थापन गर्न सकिन्छ । विदेशिनु आवश्यक हुँदा पनि त्यसको प्रभाव देशको विकासमा सकारात्मक हुने गरी नीतिगत, संस्थागत र मानसिक रूपमा तयारी गर्नु आजको आवश्यकता हो । विदेशिने प्रवृत्ति अहिलेको समयको यथार्थ हो ।
यसलाई पूर्ण रूपमा रोक्न सकिँदैन, तर व्यवस्थापन गर्न सकिन्छ । नेपालमा शिक्षाको गुणस्तर, अनुसन्धानको अवसर, प्रविधिको प्रयोग, र पेशागत सुरक्षाको ग्यारेन्टी हुन सकेमा विद्यार्थीहरू विदेश जानुभन्दा देशमै बसेर उच्च शिक्षा हासिल गर्न रुचाउनेछन् । विदेशिनु कुनै गलत कुरा होइन, तर देशलाई क्षति हुने गरी अत्यधिक पलायन हुनु भने चिन्ताको विषय हो । त्यसैले विदेशिने प्रवृत्तिलाई सन्तुलित ढंगले व्यवस्थापन गर्न आजको आवश्यकता हो ।
(लामिछाने जनप्रकाश बहुमुखी क्याम्पस पोखरा–२९, भण्डारढिकमा अनुसन्धान विभाग प्रमुख छन्)









चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
सडक सञ्जालमा जोडिँदै गुर्जा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया