प्रतिभा माविमा फुटसल सुरु

समाधान संवाददाता २०८२ असार ६ गते १६:५४

पोखरा ।
प्रतिभा माध्यमिक विद्यालय पोखरा ३ नदीपुरमा शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । क्रिएटिभीटी एन्ड स्पोर्टस् फेयर २०८२ अन्तर्गत भएको प्रतियोगिता २ दिनसम्म चल्नेछ ।


माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फुटसल प्रतियोगिता गरेको हो । प्रतियोगिता कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जीतले उद्घाटन गरे । प्रतियोगिताका संयोजक तथा प्रतिभा माविका प्लस टु इन्चार्ज राकेश जोशीले यसमा विभिन्न विद्यालयका २८ वटा टिम सहभागी बनेको बताए ।


एसइई दिएर फुर्सदिला बनेका विद्यार्थीलाई खेलकुद गतिविधिमा सक्रिय बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको जोशीले बताए । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः २० र १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ ।

Advertisement


रञ्जितले खेलाडी पहिचान गर्नका लागि यस्ता प्रतियोगिता उपयुक्त अवसर भएको बताए । ‘विद्यालय तहमा अध्ययन गरिरहँदा कतिपय विद्यार्थीले आफ्नो क्षमता देखाउने अवसर पाएका हुँदैनन्,’ उनले भने, ‘फुटसलका यस्ता प्रतियोगिता नयाँ खेलाडी पहिचान गर्ने अवसर हो । बेलैमा उनीहरुको क्षमता पहिचान गर्न सकियो भने त्यसले भविश्यमा अब्बल खेलाडी उत्पादन गर्न सघाउँछ ।’


फुटबल खेलाडी चन्द्र गुरुङले विद्यार्थीका लागि फुटसलको मैदान क्षमता देखाउने अवसर बनेको बताए । विद्यालयका प्राचार्य किरण सापकोटाले फुटसल प्रतियोगिताले युवा पुस्ताको पछिल्लो खेल चासोलाई सम्बोधन गरेको बताए । ‘अहिले टोल टोलमा फुटसल मैदान तयार छन । खेलका यी पूर्वाधारले स्वास्थ्यमा पनि लाभ भएको छ । यसले नयाँ खेलाडी पहिचान र उत्पादनमा पनि योगदान दिएको छ,’ सापकोटाले भने, ‘खेलाडीले क्षमता देखाउने अवसर पनि पाएका छन् ।’

Advertisement


कतिपय खेलाडीमा खेल कौशल भए पनि अवसर नपाउँदा उनीहरुको प्रतिभा लुक्ने गरेको उनले बताए । ‘खेलाडीलाई सक्षमता प्रर्दशन गर्ने अवसर पनि यस्तै प्रतियोगिता हुन्,’ उनले भने । विद्यालयले ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत गत असार १ देखि विभिन्न खेलकुद तथा रचनात्मक गतिविधिका प्रतियोगिता सञ्चालन गरिरहेको छ ।


असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि भएका थिए । शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । शनिबार हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता हुँदै छन् । यो अवधिमा छात्रा र छात्रको बास्केटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन प्रतियोगिता सकिएका छन् । विद्यालयले अघिल्ला वर्ष पनि एसइइ दिएका विद्यार्थीका लागि यस्तै कार्यक्रम गर्ने गरेको थियो ।

तपाईको प्रतिक्रिया