असार १५ को औचित्य

नेपाल कृषिप्रधान देश हो, जहाँ कुल जनसंख्याको ठूलो भाग कृषि पेशामा निर्भर छ । यस देशको प्रमुख अन्नबाली भनेको धान हो । धान नेपालीको जीवन, संस्कार, परम्परा, चाडपर्व, सामाजिक संरचना, तथा आर्थिक समृद्धिको मेरुदण्ड मानिन्छ । नेपालमा वर्षा याम सुरुआतसँगै असार महिनामा धान रोपाइँको मुख्य सिजन सुरु हुन्छ । यही समयलाई नेपालीले धान दिवस अर्थात् राष्ट्रिय धान दिवस को रूपमा मनाउँदै आएका छन्, जुन प्रत्येक वर्ष असार १५ गतेका दिन मनाइन्छ ।
असार १५, मानो रोपेर मुरी उब्जाउने दिन नेपाली कृषि जीवनशैलीसँग गहिरो सम्बन्ध राख्ने विशेष दिन हो । यो भनाइले थोरै बीउ रोपे पनि राम्रो मिहिनेत र सहकार्यद्वारा धेरै फल प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन्छ । यो दिन विशेषगरी किसानको कडा मेहनत र कृषि परिश्रमको सम्मानस्वरूप मनाइन्छ, जुन कृषिसँग सम्बन्धित संस्कार, परम्परा र वातावरणीय सम्बन्धमा आधारित छ । असार १५ को दिनलाई नेपालीले रोपाइँ महोत्सव, माटोको पर्व, किसान दिवस र भात खानु पर्ने दिन भनेर पनि चिन्ने गर्छन् ।
यस दिन देशका विभिन्न भागमा रोपाइँ, हिलो खेल, धान रोप्ने प्रतियोगिता, दोहोरी गीत, नाचगान, दहीचिउरा भोज जस्ता कार्यक्रम आयोजना गरिन्छन् । जसले नेपाली कृषि संस्कृतिको संरक्षण, संवद्र्धन र भावी पुस्तामा हस्तान्तरण गर्न सघाउ पु¥याउँछ ।
असार १५ ले प्रकृति र मानवबीचको सम्बन्ध, खेत र किसानबीचको अन्तरक्रिया, रित्तो खेतलाई हरियालीमा बदल्ने मेहनत र श्रमको महत्व उजागर गर्ने अवसर हो । यसले कृषि पेशालाई सम्मान जनाउने, ग्रामीण जीवनशैलीको मूल्यांकन गर्ने र कृषि उत्पादकत्वको बृद्धिमा प्रेरणा दिने महत्वपूर्ण अवसर दिन्छ । धान दिवसको इतिहास हेर्दा, सन् २०५८ सालमा नेपाल सरकारको निर्णय अनुसार असार १५ लाई औपचारिक रूपमा राष्ट्रिय धान दिवस घोषणा गरिएको हो । यसअघि पनि यो दिन गैरसरकारी रूपमा उत्सवको रूपमा मनाइँदै आएको थियो । तर, औपचारिक रूपमा मनाउन थालिएपछि कृषि तथा वन मन्त्रालय, कृषि अनुसन्धान परिषद्, कृषि सेवा कार्यालयहरू, सामुदायिक समूहहरु, स्थानीय तह र विद्यालयहरूमा विविध कार्यक्रमहरू आयोजना गर्न थालिएको छ ।
यसले कृषकलाई उत्साहित बनाउनुका साथै कृषि क्षेत्रमा नवप्रविधि र अनुसन्धानको पहुँच पुर्याउने माध्यमको रुपमा समेत भूमिका खेलेको छ । धान रोपाइँ प्रक्रिया निकै झन्झटिलो हुन्छ, जसमा खेत जोत्नेदेखि पानी व्यवस्थापन, गोडमेल, मल हाल्ने, र रोग नियन्त्रणसम्मका विविध चरण पर्छन् । असार १५ लाई सबैभन्दा व्यस्त र उत्पादनमुखी दिनका रूपमा लिइन्छ । यस दिन महिला हिलोमा भिजेर, हातमा धानको बीउ लिएर, दोहोरी गाउँदै, रमाइलो गर्दै रोपाइँमा लागेका दृश्यले हाम्रो समाजको कृषि संस्कृतिको सौन्दर्य झल्काउँछ । पुरुषहरू हलो जोत्न, पानीको व्यवस्थापन गर्न, आली लगाउने, रोपाइँको सम्पूर्ण व्यवस्थापन गर्न र खेतको सतह तयार गर्न खटिन्छन् ।
यो महिलादेखि वृद्ध, बच्चादेखि युवासम्म सबैले मिलेर गर्ने सामूहिक प्रयास हो, जसले सामुदायिक भावना, सहयोगी प्रवृत्ति र परस्पर सम्बन्ध बलियो बनाउँछ । असार १५ को दिनमा धेरै स्थानमा विद्यालय, क्याम्पस, सहकारी संस्था र सरकारी कार्यालयहरुले पनि रोपाइँमा भाग लिने, खेतमा गइ हिलो खेल्ने, धान रोप्ने र किसानसँग अनुभव साट्ने कार्यक्रम आयोजना गरिएका छन् । यसरी यस पर्वले सहकार्य र सहजीवनको पाठ सिकाउँछ । असार १५ को अर्को प्रमुख पक्ष भनेको दहीचिउरा खाने चलन हो । खेतमा रोपाइँ गरेपछि थकित शरीरलाई शितलता दिने, पाचन प्रणालीलाई राहत दिने र ऊर्जाको स्रोत बन्ने यो परिकार परम्परागत रूपमा असार १५ मा अनिवार्य मानिन्छ । यसले पोषण र परम्पराको सन्तुलन मिलाउँछ ।
अहिले असार १५ को महत्व अझ बढेको छ । जसले हामीलाई कृषि आत्मनिर्भरता र जिम्मेवारी सम्झाउँछ ।
विगतमा असार १५ लाई केवल रोपाइँको दिन मानिएको भए पनि हाल यसलाई राष्ट्रिय धान दिवस भनेर नीति निर्माणको स्तरमै स्थापना गरिएको छ । जसले कृषि उत्पादनमा आत्मनिर्भरता ल्याउने, आयातीत चामलमा भरपर्नुपर्ने अवस्था घटाउने, र घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । जलवायु परिवर्तन, असमयको वर्षा, बाढी, पहिरो, उब्जनीको कमी, र प्रविधिको अभाव जस्ता समस्याले कृषि क्षेत्रलाई चुनौती दिइरहेकै सन्दर्भमा यस्तो दिवसले कृषि क्षेत्रलाई फेरि प्राथमिकतामा ल्याउने अवसर दिन्छ । ग्रामीण युवा कृषिमा आकर्षित हुनु पर्ने, परम्परागत खेती प्रणालीमा सुधार ल्याई आधुनिक प्रविधिको उपयोग हुनुपर्ने, बीउको गुणस्तर, सिँचाइको सुविधा, मल र प्राविधिक सेवाको सहजता बढाउनुपर्ने आवश्यकता यस दिवसले झल्काउँछ ।
अहिले नेपालमा धानको थुप्रै जात लगाइन्छन् । परम्परागत (स्थानिक) प्रजातिमा साँठो, मार्सी, झिरा, गौरिया, अंकरे, कालीझिनी, रम्भा, बाँसे, सिम्बो, कन्चन यस्तै गरी सुधारिएको÷उन्नत प्रजातिहरू, नेपाल कृषि अनुसन्धान परिषद्द्वारा सिफारिस गरिएका जातमा मसुली, चितवन १, चितवन ३,खुमल ४, खुमल ११, खुमल १७, रमधान १, रमधान २, सुखा धान १, सुखा धान २, सुखा धान ३, सम्राट, अन्नपूर्ण, गोरखा १, गोरखा २.हर्दिनाथ १, हर्दिनाथ २ आदि छन् ।
हाइब्रिड प्रजातिहरू (केही निजी कम्पनीहरूले भित्र्याएकासमेतमा) सोनिया, सुपर मिर्ची, आरएच १०, जिएस–२, आशा हाइब्रिड आदि प्रजाति देशका विभिन्न भौगोलिक क्षेत्रअनुसार लगाइन्छन् । उच्च पहाडी क्षेत्रमा जेठ अन्तिमदेखि साउनसम्म, तराई र भित्री मधेसमा जेठको सुरुमा नै धान रोपाइँ सुरु हुन्छ । त्यसैले असार १५ लाई राष्ट्रिय स्तरमा मध्यबिन्दु मानी सबै क्षेत्रले उत्सवका रूपमा मनाउँछन् । यही दिनलाई लक्षित गर्दै कृषि मेला, बीउ प्रदर्शनी, किसान सम्मान, प्रविधि प्रदर्शन, कृषक गोष्ठी, तथा सञ्चारमाध्यममा कृषि सम्बन्धी सामग्री प्रकाशन प्रसारण गरिन्छन् ।
असार १५ कृषि पर्यटनको सम्भावना बोकेको पर्व पनि हो । अहिले आन्तरिक तथा बाह्य पर्यटक असार १५ को दिनमा धान रोपाइँ हेर्न, खेतमा हिलो खेल्न, दोहोरी गाउन र नेपाली संस्कृतिको रमाइलो पक्ष बुझ्नका लागि विभिन्न ग्रामीण भेगमा जाने चलन बढ्दो छ । विशेषगरी पोखरा, ललितपुर, चितवन, काभ्रे, भोजपुर, स्याङ्जा, तनहुँ, लमजुङ, गुल्मी, पाल्पा, इलाम, झापा, धनुषा, कैलाली आदि जिल्लामा यो पर्व विशेष रूपले उत्साहपूर्वक मनाइन्छ । यसको भरपर्दो व्यवस्थापन गरेमा कृषि पर्यटन, ग्रामीण पर्यटन र सांस्कृतिक पर्यटनको समायोजन गरी रोजगारी सिर्जना गर्न सकिन्छ ।
धान दिवसले सरकार, समुदाय, किसान, अनुसन्धान संस्था र बजारबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्दछ । साथै, युवा पुस्तालाई आफ्नो माटो, आफ्नो पेशा र आफ्नै उत्पादनप्रति गर्व गर्न सिकाउँछ । पछिल्लो समयमा वैदेशिक रोजगारी र शिक्षाको नाममा कृषिप्रतिको आकर्षण घट्दो क्रममा छ । पछिल्ला वर्षमा खेतीप्रति युवा पुस्ताको घट्दो चासो, जग्गा बाँझो राख्ने प्रवृत्ति र कृषिमा प्रविधिको अभावले धान उत्पादनमा समस्या देखिन थालेको छ । यस्तो अवस्थामा असार १५ को महत्व अझ बढेको छ, जसले हामीलाई कृषि आत्मनिर्भरता र कृषिप्रतिको जिम्मेवारी सम्झाउँछ ।
यस्तो अवस्थामा असार १५ को सन्देशले आफ्नै माटोको महत्व, आत्मनिर्भरताको आवश्यकता र कृषिमा सम्भावना रहेको संकेत गर्दछ । धान उत्पादनमा आत्मनिर्भर बनेरमात्र हामी खाद्य सुरक्षाको ग्यारेन्टी दिन सक्छौं । आयात घटाएर हाम्रो कृषिलाई दिगो बनाउन सकिन्छ । त्यसैले असार १५ केवल रोपाइँको दिनमात्र नभई राष्ट्रिय आत्मसम्मान, परम्परा र भविष्यको मार्गनिर्देशन गर्ने दिवस हो । यसले एकातर्फ अन्नको महत्व बुझाउँछ भने अर्कोतर्फ किसानको पसिनाको मूल्य पनि चिनाउँछ । धान दिवस अर्थात् असार १५ मा सरकारको उत्तरदायित्व अत्यन्तै महत्वपूर्ण हुन्छ, किनभने यो दिवस कृषकको श्रमको सम्मानमात्र होइन, कृषि क्षेत्रको समग्र विकासप्रति सरकारको प्रतिबद्धताको पनि प्रतीक हो ।
राज्यले यस्ता दिवसको माध्यमबाट कृषकलाई समयमै गुणस्तरीय बीउ, मल, औजार र सिंचाइ सुविधा उपलब्ध गराउनुका साथै, रोपाइँको समयमै मौसमको पूर्वानुमान, कीरा नियन्त्रण, र प्राविधिक सहयोग पनि प्रदान गर्नुपर्छ । धान दिवसको अवसरमा सरकारले कृषकप्रति सम्मान जनाउने, उनीहरूको समस्या सुन्ने र दीर्घकालीन कृषि नीति ल्याउने अवसरको रूपमा लिनुपर्छ । यस्ता कार्यक्रममा कृषकलाई प्रोत्साहन दिने, नयाँ प्रविधि र वैज्ञानिक तरिकाको जानकारी दिने र सफल कृषकलाई सम्मान गर्ने जस्ता कार्य सरकारको दायित्वभित्र पर्छन् ।
धान उत्पादनमा आत्मनिर्भर बनाउने दीर्घकालीन योजनाको तयारी र कार्यान्वयन सरकारको जिम्मेवारी हो । बजारीकरण, बिमा योजना, र अनुदान कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न सकेमात्र कृषकको जीवनस्तर सुधार हुन्छ । त्यसैले धान दिवस सरकारका लागि कृषि क्षेत्रमा गरिनुपर्ने सुधार, लगानी र नीति निर्माणको समीक्षा गर्ने अवसर पनि हो, जसबाट कृषकप्रति उत्तरदायी शासनको अनुभूति दिलाउन सकिन्छ । अन्ततः, धान दिवस हामी सबै नेपालीका लागि माटोको माया, प्रकृतिको सम्मान, परिश्रमको पहिचान र भविष्यको सम्भावनाको पर्व हो । यसको संरक्षण, प्रवद्र्धन र सशक्तीकरणमा हामी सबैको सामूहिक प्रयास आवश्यक छ ।
( लामिछाने जनप्रकाश बहुमुखी क्याम्पस अनुसन्धान विभाग प्रमुख छन् )









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया