अन्तर कलेज क्रिकेट बुधबारदेखि

पोखरा ।
पोखरामा बुधबारदेखि कलेज स्तरीय क्रिकेट प्रतियोगिता हुँदै छ । पोखराका विभिन्न क्याम्पसमा रहेका क्रिकेटका प्रतिभा खोजीका लागि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा असार २४ गतेसम्म अन्तर कलेज क्रिकेट लिग कप २०८२ हुने भएको हो ।
लेखनाथ स्थित इडन हेभन क्रिकेट मैदानमा हुने प्रतियोगितामा ५ टिम सहभागी हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । कंगारु एजुकेसन कन्सल्टेन्सी प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा पोखरा विश्वविद्यालय (पियु), पृथ्वीनारायण क्याम्पस (पिएन), गण्डकी विश्वविद्यालय (जियु), जनप्रिय बहुमुखी क्याम्पस (जेएमसी) र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी)ले सहभागिता जनाउने संघ अध्यक्ष वीरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा पृथ्वीनारायण क्याम्पस र पोखरा विश्वविद्यालय आमनेसामने हुँदै छन् । बुधबारको दोस्रो खेलमा पश्चिमान्चल इन्जिनियरिङ कलेज र गण्डकी विश्वविद्यालय प्रतिष्पर्धामा उत्रिने छन् ।
असार १९ गते पहिलो खेलमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसले पोखरा विश्वविद्यालय तथा दोस्रो खेलमा जनप्रिय क्याम्पसले पृथ्वीनारायण क्याम्पससँग प्रतिष्पर्धा गर्ने तय छ । तेस्रो दिन असार २० गते पहिलो खेलमा पोखरा विश्वविद्यालय र जनप्रिय क्याम्पस तथा दोस्रो खेलमा पृथ्वीनारायण क्याम्पस र गण्डकी विश्वविद्यालय आमनेसामने हुनेछन् ।
चौथो दिन असार २१ गते पहिलो खेलमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस र जनपिय क्याम्पस तथा दोस्रो खेलमा गण्डकी विश्वविद्यालय र पोखरा विश्वविद्यालय प्रतिष्पर्धामा उत्रिनेछन् । पाँचौं दिन असार २२ गते पहिलो खेलमा पृथ्वीनारायण क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस तथा दोस्रो खेलमा गण्डकी विश्वविद्यालय र जनप्रिय बहुमुखी क्याम्पसबीच प्रतिष्पर्धा हुने अध्यक्ष पुनले जानकारी दिए ।
प्रतियोगिताको अन्तिम दिन असार २४ गते उपाधिका लागि फाइनल प्रतिष्पर्धा हुनेछ । जसमा लिगको पहिलो र दोस्रो स्थानमा रहेका २ टिम मैदानमा उत्रिने छन् । पोखरालाई खेलकुदको सहरका रुपमा स्थापित गर्ने, खेलकुद र संस्कृतिको प्रवद्र्धन गर्दै क्षेत्रीय तथा राष्ट्रिय स्तरमा पोखराको उपस्थिति बलियो बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार पाउने छन् । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर तथा हरेक खेलमा प्लेयर अफ दी म्याच घोषणा गरी ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया