पर्वतीय दौड असोजमा हुने

समाधान संवाददाता २०८२ असार २९ गते ११:४४

पोखरा ।
विश्व पर्यटन दिवसको सन्दर्भमा दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता आगामी असोज महिनाको पहिलो हप्तामा आयोजना हुने भएको छ । पोखरा क्लिक अनलाइन सञ्चार गृहले पहिलो संस्करणको समीक्षा कार्यक्रममा प्रतियोगिताको दोस्रो संस्करणको मिति सार्वजनिक गरेको हो ।


कार्यक्रममा वक्ताहरुले पहिलो संस्करणमा देखिएका कमजोरी सुधार्दै प्रतियोगितालाई पर्यटन, स्वास्थ्य, खेलकुद र स्थानीय क्षेत्र प्रवद्र्धनसँग जोडेर अझ प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिए । गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले प्रतियोगितालाई सफल बनाउन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पुम्दीभुम्दी क्षेत्रको राष्ट्रियता बलियो रहेको उल्लेख गरे ।


उनले अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रसँग जोडेर आयोजना गरिने यस्ता कार्यक्रमले पारीको लेकसाइड जस्तै वारीको पुम्दीभुम्दी विकास गर्न सहयोग पुग्ने बताए । नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालयका प्रमुख मणिराज लामिछानेले सहभागी खेलाडीको अनलाइन बुकिङ समयमै खुला गर्न र पर्यटन दिवसकै सन्दर्भमा कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले प्रतियोगितालाई पर्वका रूपमा भव्य तयारीका साथ अघि बढाउनुपर्ने धारणा राखे ।

Advertisement


नेलम्बो नेपालका कार्यक्रम अधिकृत भीमप्रसाद भण्डारीले अघिल्लो संस्करणमा देखिएका समस्या समाधानका लागि समन्वय र जनसम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए । सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले पहिलो संस्करणमा केही कमजोरी भए पनि उत्साहजनक सहभागिताका कारण कार्यक्रम सफल भएको बताए ।


नेपाल भूतपूर्व खेलाडी मञ्चका सदस्य तथा प्राविधिक ओम गुरुङले प्रतिकूल मौसमका बीच पनि प्रतियोगिता सम्पन्न भएकोमा प्रशंसा गर्दै आगामी संस्करणमा मौसमजन्य चुनौतीको पूर्वतयारी आवश्यक रहेको सुझाव दिए । पर्यटनका प्राध्यापक दीपेन्द्र पहारीले खराब मौसमका बाबजुद समापन समारोह उत्कृष्ट रूपमा सम्पन्न भएको उल्लेख गरे ।

Advertisement


पत्रकार विजय नेपालले यस आयोजनाले स्थानीय जन्मथलोप्रति उत्तरदायित्वको भावना जागृत गराएको धारणा राखे । पत्रकार सन्देश श्रेष्ठले प्रतियोगिताको प्रभावकारी ब्रान्डिङमा ध्यान दिनुपर्ने बताए । पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतमले गाउँ, खेलकुद र स्थानीय पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे ।


पोखरा क्लिकका अध्यक्ष दीननाथ बरालले सबैको साथ र सहयोगले प्रतियोगिता सफल भएको भन्दै धन्यवाद व्यक्त गरे । कार्यक्रममा फोटो पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष दुर्गा पौडेल, पत्रकार सागर ढकाल, वसन्त बराल, सागर सुनार लगायतले रचनात्मक सुझाव प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया