छेङ्गुरमा हाइ अल्टिच्युड खेल मैदान

समाधान संवाददाता २०८२ असार ३२ गते ११:५८

जोमसोम ।
यहाँको बारागुङ मुक्तिक्षेत्र २ छेङ्गुरमा हाइ अल्टिच्युड खेल मैदान निर्माण थालनी गरिएको छ । हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने गण्डकी प्रदेश सरकारको लक्ष्यअनुरुप प्रारम्भिक चरणमा खेल मैदान निर्माण थालनी गरिएको हो ।


सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्षमा विनियोजित ३० लाखमा खेलमैदान निर्माण सुरु गरिएको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिए । समुद्री सतहदेखि ३ हजार ९ सय मिटर उचाइमा रहेको बारागुङ २ छेङ्गुर गाउँ माथिको पाखोमा मैदान निर्माण सुरु भएको हो ।


‘चालु आवमा विनियोजित बजेटले स्थानीय उपभोक्ता समितिमार्फत खेल मैदान निर्माणको काम भएको हो’, कार्यालय प्रमुख दर्जीले भने, ‘सीमित बजेटमा यस पटक मैदानको जमिन सम्याउने, फिलिङ गर्ने, कटिङ गर्ने र ग्रेड मिलाउने काम सम्पन्न भएको छ ।’ उपभोक्ता समितिका सचिव गमबहादुर गुरुङले सीमित बजेटले प्रारम्भिक चरणका पूर्वाधार निर्माणअन्तर्गत फुटबल मैदान निर्माण भएको बताए । ‘अब स्टेज, प्यारापिट, ड्रेन र रङरोगन लगायत काम बाँकी छन्’, उनले भने ।

Advertisement


स्थानीय धावा छिरिङ गुरुङले यहाँ सुविधा सम्पन्न हाइअल्टिच्युड खेलमैदान निर्माण भएमा खेल पर्यटनको विकासमा ठूलो योगदान पुग्ने बताए । गण्डकी प्रदेश सरकारले हाइअल्टिच्युड अन्तरराष्ट्रिय ट्रेनिक सेन्टर निर्माण गर्ने लक्ष्यअनुरुप खेल मैदान निर्माण प्रारम्भ गरेको र यसलाई पूर्णथता दिनुपर्ने उनको भनाइ छ ।


नजिकै मुक्तिनाथ मन्दिर र अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत विश्वकै अग्लो उचाइमा रहेको भनिएको थोरंलापास यसै स्थान नजिकै छ । पछिल्लो सयम सडक यातायातको पहुँचसमेत भएकाले यहाँ अन्तरराष्ट्रिय हाइअल्टिच्युड ट्रेनिङ सेन्टर पूर्वाधार उपयुक्त भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले उल्लेख गरे । यहाँको पर्वतीय क्षेत्रमा सबै किसिमका खेलकुदको उपयुक्त प्रशिक्षण दिन सकिने र यसका लागि सरकारले छिटोभन्दा छिटो पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको आग्रह छ ।

Advertisement


मुक्तिनाथ क्षेत्रमा अन्तरराष्ट्रिय हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बनेमा मुस्ताङको मात्रै नभई समग्र गण्डकी प्रदेशकै खेल पर्यटनको विकास हुने जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या गुरुङले उल्लेख गरे ।


प्रदेश सरकारले यहाँ ट्रेनिक सेन्टर निर्माणका लागि ५ सय ७० रोपनी जग्गा आफ्नो नाममा ल्याउने योजना बनाएको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरिएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी अञ्जना शर्माले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया