आमा नाटकका पात्रहरुसँगको एक सजीव अनुभूति

शनिबार साँझ, जब बाहिर झरी निरन्तर परिरहेको थियो, पोखरा थिएटरको टिनको छानोमा झर्ने पानीका थोपा-थोपा संगीत बनेर बजिरहेका थिए। त्यो दृश्यले नाटकसँग एक विचित्रको सम्बन्ध गाँसिरहेको थियो। थिएटरभित्रको कथा र थिएटरबाहिरको वातावरण मिलेर एउटा भावनात्मक बादल बनेको थियो, जसले दर्शकको मन भिजाइरहेको थियो। त्यही क्षण थियो जब नाटक ‘आमा’ — जसको समर्पण र ममता शाश्वत छु दर्शकका आँखाबाट मनसम्म, अनि मनबाट जीवनसम्मको यात्रा तय गरिरहेको थियो।
यो नाटक हेर्दा केवल दृश्यहरू देखिँदैनथे, अनुभव हुन्थे। संवादहरू केवल सुनिँदैनथे, हृदयमा पस्थे। र पात्रहरू केवल अभिनय गर्दैनथे, तिनीहरू सजीव भएर हाम्रो अगाडि बस्थे। सो मञ्चमा धेरै पटक मैले नि विभिन्न पात्र बनी जीवन जिउने मौका पाएको छु। तर त्यस दिन दर्शक भएर नाटक हेरिरहँदा पनि नाटक मै जिए जस्तो महसुस भयो। म आफै अभिमन्यु पो हो कि जस्तो लाग्यो।
तीर्थ श्रेष्ठका ‘आमा’ ५ कवितालाई आधार बनाएर नारायण न्यौपानेको लेख-निर्देशनमा यो नाटक तयार भएको हो। गत वर्ष राजु स्याङ्तानका कवितामा आधारित उनको नाटक ‘मजदुरमार्ग’ हेरेपछि यो नाटक हेर्न ममा अझ कौतूहलता थियो।
फूलमायाको प्रतीक्षा — एउटा आमाको प्रतीक कथा ।
नाटकको केन्द्रमा थिइन् फूलमाया — एउटी आमा, जसको जीवन निरन्तर प्रतीक्षा, त्याग र मायाले भरिएको छ। कृष्टि गुरुङद्वारा अभिनीत फूलमायाको चरित्र अत्यन्त गहिरो भावनात्मक तहमा पुगेर रचना गरिएको थियो। उनले पात्रलाई केवल निभाइनन्, उनले त्यो पात्र बनेर जीवनको अनेक पाना देखाइन् — बाल्यकालदेखि युवावस्था, विवाह, आमापन र वृद्धावस्था हुँदै एकान्तसम्म।
फूलमायासँगै उनको मौनता बोल्थ्यो। उनका आँखा, उनका सास, उनका हातले कोरेका धर्साहरु, सियो, सिलाई मेसिन, धागोको डल्लो – सबै प्रतीक थिए। जब उनले मञ्चमा धर्साहरू कोर्दै थिइन् र ती धर्सा सपनामा सर्प बनेर डस्न आउँथे, त्यो एक सशक्त दृश्यात्मक प्रतीक थियो — पीडा र सपनाको द्वन्द्व। त्यो क्षण केवल भयानक थिएन, त्यो सन्देशयुक्त पनि थियो — आज हजारौँ आमाहरु आफ्ना सपनाका सर्पहरुसँगै बाँचिरहेका छन्।
हरेक दर्शकले आफ्नो आमाको ममता र समर्पण बुझ्ने अभिलाषा राखोस्।’ तर नाटकको अन्त्यमा मेरा आँखाबाट आँसु खसे। मलाई आफ्नै जीवनको कुनै कुनामा फर्काइदियो।
‘सपना’ — बालपनको स्मृति कि अन्तरआत्माको स्वरहरु
नाटकको अर्को सशक्त पात्र थिइन् सपना — फूलमायाकी बाल्यकालकी साथी, एउटा बोल्ने गुडिया, तर वास्तवमा उनको अन्तरआत्मा। अञ्जली शाहीले सपना पात्रलाई केवल नाटकीय बनाइनन्, उनले त्यो भूमिका भित्रको अदृश्य पीडाको आवाज बनेर प्रस्तुत गरिन्। उनका संवादहरू यति गहिरा थिए कि ती सिधै दर्शकको मनको कुनै बन्द ढोकामा ढकढक्याउँथे। उनले मौन भावद्वारा फूलमायाको अन्तरमनको आवाज प्रस्तुत गरिन्। उनको भौतिकिकृत उपस्थिति मार्मिक लाग्छ।
सिद्धार्थ र अभिमन्यु — नाटकका सन्देश वाहक पात्रहरू
सिद्धार्थ, फूलमायाका पति, रमेशबाबु तिमिल्सिनाको अभिनयमा जीवन्त बनेका थिए। उनी शान्तिको खोजमा हिँड्ने पात्र थिए, तर जीवनको सबैभन्दा अशान्त पार्ने निर्णय पनि उनकै थियो — परिवार छाड्ने। त्यो द्वन्द्व दर्शकले मनमनै महसुस गरे। दर्शकका आँखा बोल्थे — ‘कति राम्रो हुन्थ्यो, उनी फर्केर केही क्षण परिवारसँग बिताइदिए भने’ ।
अभिमन्यु (सुसन पौडेल)को उपस्थितिले नाटकमा अर्को सन्देश बोकेको थियो — परदेश जाने सन्तान र ती सन्तानको पर्खाइमा बस्ने आमा। ‘छिट्टै फर्किन्छु आमा’ भन्ने संवाद केवल अभिनय थिएन, त्यो आज पनि लाखौँ घरमा गुञ्जिरहेको वास्तविकता थियो। सुसन नाटकको क्लाइमेक्समा छोटो समयको लागि आउँछन् तर व्यापक प्रभाव छोड्न सकेका छन्।
फूलमायाका आमा-बुबा — अनुशासन र ममतालाई समेट्ने छायाचरित्रहरु
सीतला अधिकारीद्वारा अभिनीत फूलमायाकी आमा र धनकाजी श्रेष्ठद्वारा अभिनीत उनका पिता, नाटकमा चेतना र पीडाको सन्तुलन थिए। आमा कठोर देखिन्थिन्, तर त्यो कठोरता भित्र लुकेको माया, चिन्ता र साहस आज पनि समाजमा पाइने मातृ-चरित्रको प्रतिनिधित्व थियो। बुबाको एक-एक शब्दमा थियो सहानुभूति र त्यो नमिठो बुझेको यथार्थ जसले जीवन सहज हुँदैन भन्ने सम्झना दिलाउँथ्यो।
सहायक पात्रहरु — दृश्यको शक्ति बढाउने मौन हस्ताक्षरहरु
धर्साहरू, सर्प, मलामीहरु, गाउँलेहरू र बुढाबुढी — यी सबै पात्रहरू नाटकको सौन्दर्यशास्त्रमा अत्यन्त गहिरो महत्त्व बोकेका थिए। श्रीकृष्ण भण्डारी, सृष्टि पंगेनी र राहुल श्रेष्ठ जस्ता कलाकारहरूले यस्ता भूमिकालाई सामान्य हैसियतमा नझारेर सजीव प्रतीक बनाए। मलामीहरूको संवाद ‘अब अन्त्य भयो’ भन्ने भाव बोके पनि, त्यो अन्त्य थिएन — त्यो एउटा चक्रव्यूहको सुरुवात थियो।
निष्कर्ष — नाटक होइन, जीवनको प्रस्तुति
नाटकको सेट डिजाइन, प्रप्स, लाइट र साउन्ड संयोजन अत्यन्त प्रभावकारी थियो। सिलाई मेसिन, धागो, सपना गुडिया — यी सबै वस्तु मात्रै थिएनन्, पात्र थिए। लाइटिङ र साउन्ड डिजाइनले नाटकको दृश्यात्मक गहिराइमा प्रभावकारिता ल्याएको थियो। वर्षात्को आवाज, रेडियो नेपालको समाचार, जनआन्दोलनका सन्दर्भहरु — सबैले दर्शकलाई केवल थिएटरमा होइन, समयको गहिरो तहमा लगेर पुऱ्यायो।
संगीतको संयोजनले नाटकको भावनात्मक आवेगलाई अझ तीव्र बनायो, विशेष गरी मौन क्षणहरुमा। नाटकको पटकथा, निर्देशन र सहनिर्देशन सामूहिक श्रम र समर्पणको उत्कृष्ट उदाहरण थियो। नारायण न्यौपानेले यसको नेतृत्व सफलतापूर्वक गरेको पाइन्छ। उनले पात्रहरूको विकास, मञ्चको प्रयोग, प्रतीकात्मकता र भावनात्मक लयलाई सन्तुलनपूर्वक प्रस्तुत गरेका छन्। यस नाटकमा प्रयोग भएका प्रतीक (सपना, धर्सा, धागो, सर्प) केवल सौन्दर्यशास्त्रका लागि होइन, सामाजिक यथार्थ बुझाउने माध्यम बनेका छन्।
‘आमा’ नाटक एउटा कथा होइन, जीवनको सजीव प्रस्तुति थियो। एउटा भेटघाटमा लेखक-निर्देशक न्यौपानेले भनेका थिए, ‘यस नाटक हेर्दा दर्शकलाई रुवाउने सोच हाम्रो होइन। बरु मनमा एउटा गाँठो पारोस्। मन भारी होस्। अनि हरेक दर्शकले आफ्नो आमाको ममता र समर्पण बुझ्ने अभिलाषा राखोस्।’ तर नाटकको अन्त्यमा मेरा आँखाबाट आँसु खसे। मलाई आफ्नै जीवनको कुनै कुनामा फर्काइदियो।
मञ्चमा बत्ती बन्द भयो, दर्शकदीर्घा तर्फ बत्ती बालेर ‘नाटक सकियो’ भन्ने शाब्दिक अन्त्य भए पनि, त्यो अनुभूतिको यात्रा भने अझै सकिएको थिएन। हुन त दृश्य सकियो, संवाद बन्द भए, तर त्यो फूलमायाको प्रतीक्षा, सपनाको चिच्याहट, र आमाको भित्री चिसो अझै पनि मञ्चभित्र होइन, दर्शकहरुको मनमा चलिरहेकै छ। अहिले लेख्दा पनि चलिरहेको छ। अझै चलिरहने छ….









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया