जेनजी पुस्ताले बिपीलाई कसरी चिन्ने ?

भानु पराजुली २०८२ साउन ६ गते ११:०१

आज साउन ६ गते अर्थात् नेपाली राजनीति र साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको जन्म दिवस । गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य सहितको नेपाली कांग्रेस निर्माण गर्ने व्यक्तित्व हो,– बिपी कोइराला । नेपाली राजनीतिमा आफ्नै माटोको सुगन्धित विचार प्रजातान्त्रिक समाजवादका प्रणेता बिपी कोइरालालाई अहिलेको २१ औं शताब्दीको युवा पुस्ताले कसरी चिन्छ र चिन्ने गर्छ भन्ने विषयमा घनीभूत छलफल र चर्चा हुन जरुरी छ ।

Advertisement


नेपालको इतिहासका थोरै मात्रै यस्ता बहुआयामिक व्यक्तित्व छन्, जसको नाम सुन्ने बित्तिकै राजनीतिदेखि साहित्यसम्म, समाजदेखि दर्शनसम्मका बहुआयामी छविहरू एकैपल्ट उजागर भइहाल्छन् । त्यस्तो एउटा व्यक्तित्व बिपी कोइराला हो । उहाँ एउटा राजनीतिज्ञ मात्रै नभई गहिरो चिन्तक, साहित्यकार, समाजशास्त्री र मानवतावादी पनि मान्न सकिन्छ । तर आजको पुस्ताका लागि बिपी को हो ? के उहाँ एउटा पुरानो इतिहास मात्रै हो त ? कि वर्तमान र भविष्यको प्रेरणाको स्रोत पनि हो ? प्रश्न उठ्छ, के अहिलेको पुस्ताले बिपी कोइरालालाई चिन्छ ? यदि चिन्छ भने कति गहिरोसँग ? र यदि चिन्दैन भने, अब कसरी चिनाउने ? यहाँ यही प्रश्नको उत्तर खोज्ने प्रयास गरिनेछ ।


स्वतन्त्रता संग्रामका अभियन्ता कृष्णप्रसाद कोइराला पुत्र बिपी कोइरालाको जन्म सन् १९१४ मा भारतको बनारसमा भएको थियो । बाल्यकालदेखि नै राजनीतिक माहोलमा हुर्केका बिपी भारतीय स्वतन्त्रता संग्रामसँग नजिकबाट जोडिनुभयो । बिपी कोइरालालाई बुझ्नु भनेको केवल एक ऐतिहासिक व्यक्तित्व सम्झनु मात्रै होइन । उहाँलाई चिन्नु नेपालको लोकतान्त्रिक चेतना, समाज परिवर्तनको दर्शन र साहित्यिक विवेकको गहिराइमा प्रवेश गर्नु पनि हो । २०१५ सालको ऐतिहासिक आमनिर्वाचनबाट नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएका उहाँ २०१७ मा दरबारद्वारा अपदस्थ हुनुभयो र दशकौँ जेल जीवन बिताउनुभयो । तर उहाँ सधैं ‘राष्ट्रिय मेलमिलाप’, ‘लोकतान्त्रिक समाजवाद’ र ‘व्यक्तिको स्वतन्त्रता’ को पक्षमा अडिग रहनुभयो ।

Advertisement


नेपालमा ’प्रजातान्त्रिक समाजवाद’ को नयाँ रूपको आन्दोलन कोइरालाले सुरु गर्नुभएको थियो । देश अहिले बिपी कोइराला जीवित छँदाको जस्तो छैन । उहाँले सोचेको जस्तो भयो वा भएन त्यसको मूल्यांकन जरुरी छ । उहाँकै २००६ सालको एउटा सपना संविधानसभा मार्फत देशमा संविधान बनाउने ऐतिहासिक काम भने नेपाली कांग्रेसकै नेतृत्वमा गठित सरकारले २०७२ सालमा पूरा पनि गरेको छ । विगतका आन्दोलन, संविधानसभा र व्यवस्थासँगै नेपाली कांग्रेस पनि आफ्नो मूल धारबाट रूपान्तरण भइसकेको छ । पुस्तान्तरणको मुद्दा पेचिलो छ । संविधानको मूल विशेषता नै गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्ष र संघीयता हो । यही पृष्ठभूमिमा बिपीको चिन्तन र विचारलाई आजको सन्दर्भमा जोड्नुपर्छ भन्ने लाग्छ ।


बिपी कोइरालाले राजालाई कहिल्यै लोकतन्त्रको लागि अपरिहार्य मान्नुभएन । लोकतन्त्रको सर्तमा मात्रै संवैधानिक राजतन्त्रलाई स्वीकारेको पाइन्छ । ’जनताका प्रतिनिधिलाई राजा राख्न मन छैन भने, राजालाई विधानमा स्थान दिलाउन खोज्नु अप्रजातान्त्रिक मात्रै होइन ठूलो राजनीतिक मूर्खता हुनेछ’ उहाँले भन्नुभएको छ । बिपी कोइरालाले राष्ट्रियतालाई जहिले पनि जनताको सापेक्षतामा हेरेको देखिन्छ । राष्ट्रियताको पहिलो र अन्तिम तत्व र सर्त नै जनता हो, भूगोल होइन । उहाँको बुझाइमा राष्ट्र र राजाको कुनै सम्बन्ध छैन । धर्म निरपेक्षता बिपीको जीवन दर्शनमा मात्रै होइन स्वयम् कोइराला परिवारको संस्कारमा समेत पाइन्छ ।

Advertisement

त्यसको मुख्य उद्देश्य भनेको राजनीतिक सत्ताका लागि धर्मको उपयोग नगर्ने भन्ने हो । धार्मिक अवधारणा र मान्यतामा शासन चलाउने कुरा ठीक होइन भन्ने तर्क उहाँको थियो । यसको अर्थ यो पनि होइन कि राजनीति गर्नेमा धार्मिक निष्ठा हुनु हुँदैन भन्ने हो । उहाँले धार्मिक स्वतन्त्रतालाई बढी महत्व दिनुभएको छ । संघीयता लोकतन्त्रकै एउटा संरचना हो, बिपीको समयमा संघीयताको आवाज उठाउने अवस्था नै थिएन । लोकतन्त्र खोसिएको बेला संघीयताको आवाज उठ्न सक्ने कुरा पनि भएन । बिपीको राष्ट्रियता सम्बन्धी विचारलाई मनन गर्ने हो भने त्यसले संघीयतालाई नकारेको छैन ।


बिपीको निधन पछि विश्व राजनीतिक बहसमा धेरै नयाँ कुरा आएको छ । उहाँको जीवनकालमा शीतयुद्ध थियो । अन्तरदेशीय द्वन्द्व थियो । लोकतन्त्र नभएका देशमा लोकतन्त्र बहालीका लागि आन्दोलन जारी थियो । उहाँको देहान्त भएको यो करिब ४ दशकमा विश्व राजनीतिको मुद्दा नै बदलिएको छ । प्रकृति बदलिएको छ । अहिले आन्तरिक द्वन्द्व बढेको छ । पहिचान, पहुँच, समावेशीकरण, समानुपातिक प्रतिनिधित्व र सहभागिता जस्ता विषय प्रखर छन् । परम्परागत औजारबाट यसको सम्बोधन सम्भव छैन । नवीन औजार चाहिएको छ । नयाँ परिवेशमा उहाँका विचार र चिन्तनलाई नयाँ तरिकाले बुझाउन जरुरी छ । बिपीले प्रतिपादन गरेको विचार र मान्यता वा दृष्टिकोणमा समस्या होइन त्यसको विवेकशील समयसापेक्ष बुझाइ राख्न नसक्ने र नचाहने हाम्रो पुस्ताको हो । उहाँका विचार झन् सान्दर्भिक छन् ।

जेनजी पुस्ता र बिपी कोइरालाबीचको सम्बन्ध सतहमा हेर्दा टाढाको लाग्न पनि सक्छ । तर गहिरिएर हेर्दा स्वतन्त्र सोच, समानताको खोज, न्यायका लागि संघर्ष र नेतृत्वप्रति अपेक्षामा यी दुईबीच घनिष्ठ सम्बन्ध देखिन्छ ।

जेनजी पुस्तासँग र बिपी कोइराला
अहिलेको पुस्ता टेक्नोलोजीमै अभ्यस्त, ग्लोबल संस्कृतिमा पलाएको र ‘तत्काल ग्राटिफिकेसन’ खोज्ने पुस्ता हो । उनीहरूका लागि इतिहास भनेको पाठ्यपुस्तकको एउटा अध्याय वा परीक्षा पास गर्ने साधन मात्रै बन्छ । यस्तो अवस्थामा बिपी कोइराला जस्ता ऐतिहासिक व्यक्तित्वलाई उनीहरूले कसरी बुझ्ने ? यो चुनौतीपूर्ण नै छ । तर बिपी केवल इतिहास होइनन् वा उहाँ विचार मात्रै पनि होइन । उहाँ त चेतना, साहस र आजको समाजलाई दिशा निर्देश गर्ने एक अब्बल निर्देशक पनि हो । प्रत्येक पटक समयले नयाँ पुस्ता जन्माउँछ, भने इतिहासले प्रेरणा दिने पात्रहरू छोड्दै जान्छ । आजको जेनजी पुस्ता अर्थात् सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका युवा, डिजिटल युगमा हुर्किरहेका छन्, जहाँ प्रविधि, सामाजिक सञ्जाल र ग्लोबल सोच प्रमुख छ । उनीहरूको जीवनशैली, सोच र व्यवहार अघिल्लो पुस्ताभन्दा धेरै फरक छ । तर के यी पुस्ताले लोकतन्त्रका अथक योद्धा बिपी कोइराला जस्ता नेताबाट केही सिक्न सक्छन् त ?


बिपी कोइराला नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री मात्र होइन, एक दार्शनिक चिन्तक, कुशल लेखक र लोकतन्त्रका सच्चा पक्षधर पनि हुनुहुन्थ्यो । उहाँले नेपालको राजनीति मात्र नभई समाजको सोच परिवर्तन गर्न पनि ठूलो योगदान दिनुहुन्थ्यो भन्ने विषय घाम जस्तै छर्लंग छ । उहाँले सधैं लोकतन्त्रको सम्मान, मानव अधिकार र सामाजिक समानता, राष्ट्रिय एकताको भावना र व्यक्तिगत स्वतन्त्रताको संरक्षण जस्ता मूल्यहरूमा कसैसँग झुक्नुभएन ।

जेनजी पुस्ताका लागि बिपीका प्रमुख पहिचानहरु
सामाजिक र लोकतान्त्रिक नेतृत्व
जेनजीले आफ्नो पहिचान स्वतन्त्र रूपमा खोज्ने कोसिस गर्छ । उनीहरू लैंगिक, जातीय, धार्मिक, र सामाजिक विविधतालाई सम्मान गर्छन् । बिपी कोइरालाले पनि ‘व्यक्ति स्वतन्त्र नभएसम्म राष्ट्र स्वतन्त्र हुँदैन’ भन्ने मान्यता राख्नुहुन्थ्यो । यस अर्थमा यहाँ जेनजी र बिपीबीच स्पष्ट मिलन देखिन्छ । ‘लोकतन्त्र शासनको मात्र स्वरूप होइन, यो एक चेतना हो, जीवनशैली हो’ बिपी कोइरालाकै सोच यही थियो । पञ्चायती व्यवस्थाको कठोर विरोध मात्रै गर्नुभएन, सधैं शान्तिपूर्ण र वैचारिक मार्गलाई रोज्नुभयो ।

अहिलेको पुस्ता जुन लोकतन्त्रको उपभोग गरिरहेको छ, त्यसको बीउ रोप्नेहरूमा प्रमुख व्यक्तित्व बिपी नै हुनुहुन्थ्यो । उहाँले सदैव जनताको मतलाई सर्वोपरि मान्नुभयो । विचार, असहमति र आलोचना स्वीकार्ने संस्कार निर्माण मात्रै गर्नुभएन, जेलमा हुँदा पनि राष्ट्रहितको लागि राजा महेन्द्रसँग राष्ट्रिय मेलमिलापको प्रस्ताव राखेर राजालाई समेत स्थान दिनुभयो । उहाँका यस्तै गुणले अहिलेको पुस्तालाई नेतृत्वमा सहिष्णुता, विचारको स्वातन्त्र्य र राष्ट्रिय एकताको मर्म रहनुपर्छ भन्ने सिकाउँछ ।


साहित्यिक प्रतिभा र मनोवैज्ञानिक लेखनशैली
बिपीका साहित्यिक कृतिहरू ‘मोदी आइन’, ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘हिट्लर र यहूदी’, ‘नरेन्द्र दाइ’ आदि मनोविश्लेषण, समाजशास्त्र र गहिरो मानव चेतनाले भरिएका छन् । यहाँका पात्रहरू साधारण छैनन्, संघर्षशील छन्, भ्रमित छन्, र चेतनशील पनि छन् । महिला चेतना, सामाजिक संरचनाको आलोचना र व्यक्तिगत स्वतन्त्रताको विषय उठाइएको छ । उहाँका कृतिमा मनोरञ्जन मात्रै होइन चिन्तनको गहिरो आधार पनि भेटिन्छ । अहिलेका युवाहरूले बिपीको साहित्यबाट आत्मचिन्तन, मूल्य र अस्तित्व बोधको पाठ सिक्न सक्छन् ।


आदर्श, नैतिकता र असल व्यक्तित्व
बिपीको जीवन नैतिकता, सिद्धान्त र आत्मबलको उदाहरण हो । जेल र नजरबन्दका वर्षमा पनि न त उहाँ सिद्धान्तबाट विचलित हुनुभयो, न त प्रतिशोधी नै बन्नुभयो । उहाँले भन्नुभएको थियो, ’मैले आफ्ना शत्रुलाई पनि माफी गरें, किनभने राष्ट्र निर्माणमा प्रतिशोधले होइन, क्षमाले भूमिका खेल्छ ।’ अहिले राजनीतिमा नैतिकताप्रति वितृष्णा बढेको छ, बिपीको जीवन आदर्श बन्न सक्ने देखिन्छ । उहाँले राजा महेन्द्रलाई राष्ट्रिय मेलमिलापको प्रस्ताव राख्नुभयो, दूरदर्शिता, आत्म संयम र क्षमाशीलताले नै उहाँलाई राजनीतिक सन्तको उपाधि समेत दिइएको छ । अहिलेको पुस्ताले यही गुण आत्मसात गर्न सके मात्रै पनि राजनीतिमा निष्ठा, आदर्श, नैतिकता र इमानदारिता बच्ने थियो ।


सामाजिक न्याय र समावेशी विचारधारा
जेनजीले सामाजिक न्याय र समानताको पक्षपोषण गर्छ । जस्तैः ब्ल्याक लिभ्स म्याटर, एलजीबीटीक्यूआईए+ अधिकार, वा जलवायु न्याय । बिपी कोइरालाले पञ्चायतकालीन शोषणप्रति आवाज उठाए झैं, आजका युवाले पनि वर्तमान अन्याय र विभेदका विरुद्ध संघर्ष गरेका छन् । बिपीले आर्थिक न्याय बिना राजनीतिक स्वतन्त्रता अधुरो हुन्छ भन्नुभएको थियो । उहाँको समाजवादी दर्शनले आर्थिक समानता, श्रमको सम्मान र शोषणविरुद्धको लडाइँमा विश्वास गर्छ । ’जात, वर्ग, क्षेत्र, लिंगको आधारमा कोही पनि पछाडि नपरोस्’ उहाँ यस विषयमा सधैं सचेत हुनुहुन्थ्यो । अहिलेको पुस्ताले बिपीलाई चिन्ने हो भने उहाँ एक समावेशी राष्ट्रनिर्माता हो, जसले सबै नेपालीलाई बराबरीको अधिकार दिन चाहनुहुन्थ्यो ।


शान्तिपूर्ण आन्दोलन र आवाज उठाउने संस्कृतिमा जेनजी (न्भल श्) सामाजिक सञ्जालमार्फत आफ्ना विचारहरू प्रकट गर्छन् । बिपी कोइरालाले भने कलम, भाषण र राजनीतिक प्रतिरोधबाट आफ्ना विचार फैलाउनुभएको थियो । माध्यम फरक भए पनि दुवै पुस्ताले शब्द र सोचलाई परिवर्तनको हतियार बनाएको पाइन्छ । अहिलेको सशक्त नेतृत्वको आवश्यकतामा जेनजी ले राजनीतिमा असन्तुष्टि देखाउँछन्, उनीहरू नयाँ नेतृत्व खोज्दैछन् ।

बिपी कोइरालाको जीवनबाट उनीहरूले इमानदार, निडर र जनतामुखी नेतृत्वको आवश्यकता बुझ्न सक्छन् जस्तो लाग्छ । नेपालको पाठ्यक्रममा बिपीलाई एउटा परिच्छेदमा मात्र सीमित गरिएको छ । उहाँको विचार, चिन्तन, र साहित्यको गहिराइ कक्षा कोठामा समेटिएको छैन । यही कारण आजका युवाहरू उहाँलाई केवल ’नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री’ भनेर मात्रै बढी चिन्छन् । तर बिपी एक विचार हो, जसको पुनर्पाठ आवश्यक छ भन्ने मेरो विचार हो ।


बिपीको योगदान अहिले अझै किन सान्दर्भिक छ ?
अहिले लोकतन्त्र कमजोर बनेको सबैले महसुस गर्दै आएको देखिन्छ । लोकतान्त्रिक मूल्यहरूको क्षय भइरहेको अवस्थामा, बिपीको विचार सच्चा लोकतन्त्रप्रति प्रेरणा बन्न सक्छ । सामाजिक असमानता बढिरहेको बेला, बिपीले भनेको समाजवादी मार्गलाई स्मरण गर्नु जरुरी छ । राजनीतिक दलमा वैचारिक शून्यता, विकासभन्दा दलीय स्वार्थमा केन्द्रित नेतृत्वको नैतिक पतनको समयमा, बिपीको आचरण, सत्यनिष्ठा र सेवाभाव अनुकरणीय छ । साहित्यिक चेतनाको खस्कँदो अवस्थामा, बिपीको लेखन पुनः पढिनु आवश्यक छ किनभने उहाँले साहित्यलाई सामाजिक रूपान्तरणको माध्यम मान्नुभएको थियो । बिपीको विचार, उहाँको आचरण र दृष्टिकोण यी सबै समस्याको उत्तर बन्न सक्छ लाग्छ ।


जेनजी पुस्ताले बिपी कोइरालालाई कसरी बुझ्न सक्छ ?
१. डिजिटल प्लेटफर्मको उपयोगः बिपीका विचारहरू छोटो भिडियो, कोट्स, एनिमेसन, संवाद र डकुमेन्ट्रीमार्फत टिकटक, युट्युब, इन्स्टाग्राम जस्ता प्लेटफर्म मार्फत परिचित गरिनुपर्छ ।


२. शिक्षामा समावेशः बिपीका राजनीतिक सिद्धान्त, साहित्य र मानवतावादी दृष्टिकोणलाई पाठ्यक्रममा समेटेर विद्यालय तथा विश्वविद्यालय तहमा अध्ययन अनिवार्य गर्ने तथा बहस, संवाद, पुस्तकपाठका गतिविधि गरिनुपर्छ । उहाँको आत्मकथा र विचार पुस्तकहरू ‘आत्मवृत्त’, ‘डेमोक्रेसी इन नेपाल’ आदि युवाहरूको लागि प्रेरणादायी हुन सक्छन् ।


३. थिएटर र कला माध्यमः बिपीका साहित्यिक कृतिलाई रंगमञ्च, नाटक, रेडियो नाटक वा चलचित्र, वृत्तचित्र, लघु फिल्ममार्फत आमजनसमक्ष ल्याउनुपर्छ । उहाँका साहित्यहरू पढेर बिपीको लेख (जस्तै ‘सुम्निमा’, ‘तीन घुम्ती’) युवाहरूले पढ्न सक्छन् जसले समाजको गहिरो मनोविज्ञान झल्काउँछ ।


४. बिपी अध्ययन केन्द्र निर्माणः युवाहरूले विचार निर्माण गर्न सक्ने संस्था विश्वविद्यालय संवाद र चिन्तन केन्द्र खोल्ने तथा बहस कार्यक्रम र बिपी व्याख्यानमाला सञ्चालन गरिनुपर्छ ।


५. विद्यालयस्तरमा नेतृत्व शिक्षाः बिपीको जीवन आदर्श, राजनीतिक विचार, लोकतन्त्र, नेतृत्व विकास जस्ता कार्यक्रमलाई विश्वविद्यालयका शैक्षिक कार्यक्रम मार्फत युवाबीच लैजानुपर्छ । जसले सहिष्णु, नैतिक र दूरदर्शी नेतृत्व उत्पादन गर्छ । शिक्षा प्रणालीमा समावेश गरेर पाठ्यक्रममा उहाँका विचार र योगदानलाई समेट्दा युवाहरू उहाँलाई बुझ्न सक्छन् ।


आजको पुस्ताले बिपीलाई पढे, सुने, आत्मसात् गरे भने हामी ‘नेताहरू खोजिरहने देश’ बाट ‘नेतृत्व उत्पादन गर्ने देश’ बन्छौं । बिपीको जीवन हाम्रो चेतनाको दर्पण हो । जहाँ आजको पुस्ताले आफ्ना मूल्य, चरित्र र सम्भावनाहरू देख्न सक्छ । बिपी कोइरालालाई अहिलेको पुस्ताले ’पुरानो युगको नेता’ भनेर मात्र बुझ्नु ठूलै भूल हुनेछ । बिपी कुनै दलको नेता मात्र होइन, उहाँ नेपाली जनताको विवेक, नेपालको आत्मा र नेपाली चेतनाको उच्चतम व्यक्तित्व पनि हो । अहिलेको पुस्ताले बिपीलाई चिन्ने हो भने, उहाँमा नेपाली आत्माको स्पन्दन भेट्न सकिन्छ । उहाँको जीवन, विचार र कलामा नैतिकता, आत्मसंयम र जनसेवाको सन्देश पाइन्छ, जुन गुणहरू आजको पुस्ताले अत्यन्तै खाँचो महसुस गरिरहेको छ । त्यसैले आजको युवाले बिपीलाई बुझ्नु भनेको केवल इतिहास पढ्नु होइन, आफैंलाई चिन्ने यात्रा पनि हो ।


जेनजी पुस्ता र बिपी कोइरालाबीचको सम्बन्ध सतहमा हेर्दा टाढाको लाग्न पनि सक्छ । तर गहिरिएर हेर्दा स्वतन्त्र सोच, समानताको खोज, न्यायका लागि संघर्ष र नेतृत्वप्रति अपेक्षामा यी दुईबीच घनिष्ठ सम्बन्ध देखिन्छ । आजको युवाले बिपी कोइरालाको विचारलाई वर्तमान सन्दर्भमा पुनःविचार गरेर अघि बढ्न सके, त्यसले नेपाललाई समावेशी, न्याययुक्त र विवेकशील भविष्यतर्फ डोर्‍याउनेछ । ‘विचारमार्फत लड्न नसक्ने राजनीतिज्ञ देशका लागि बोझ हो ।’ अस्तु ।

तपाईको प्रतिक्रिया