नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार सेवा

‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटीले विश्वव्यापी रूपमा विशुद्ध मानवीय सेवा र विपद्को क्षेत्रमा काम गर्दै आएको छ । अन्तर्राष्ट्रिय संस्थाको रूपमा रहेको रेडक्रस अभियानका संस्थापक जाँ हेनरी डियुना हुन् । सन् १८२८ मे ८ मा स्विट्जरल्यान्डको जेनेभामा उनको जन्म भएको थियो । विश्वव्यापी रूपमा धेरै राष्ट्रहरूमा युद्ध, प्रकोप, आपत् जस्ता अत्यधिक विपत्ति देखिएको बेलामा उनी सन् १८५९ को जुन महिनामा इटालीको सल्फेरिनो पुगेका थिए । त्यस बेला इटाली, फ्रान्स र अस्ट्रियाबीच युद्ध भइरहेको थियो । युद्धमा ६ हजार सैनिक मरिसकेका थिए भने ४० हजार घाइते भएको अवस्था थियो । त्यो दर्दनाक अवस्था देखेर उनको मनमा मानवीय करुणा पलायो र तत्काल सहयोग पुर्याउने काम गरे ।
त्यस युद्धको दुःखद दृश्यबाट प्रभावित भएर उनले सन् १८६२ मा फ्रेन्च भाषामा ’सल्फेरिनोको सम्झना’ नामक पुस्तक प्रकाशन गरे । त्यस पुस्तकमा युद्धको समयमा सेनाको चिकित्सक सेवा अपर्याप्त हुने भएकाले घाइतेहरूको उद्धारका लागि हरेक देशमा स्वयंसेवी उद्धार संस्था स्थापना हुनुपर्ने र समन्वयका लागि एउटा अन्तर्राष्ट्रिय सम्झौता हुनुपर्ने दुई प्रमुख सुझाव उल्लेख भए । ती विषयमा साथीहरू लुइस एप्पिया, गुलियन हेन्री डुफोर, थेडोरी म्याक्नोयर, गुस्तेभ माइनरसँग मिलेर डियुनाले सन् १८६३ मा सहयोगमा घाइतेहरूको सहयोगका निम्ति अन्तर्राष्ट्रिय समिति नामको संस्था स्थापना गरे । पछि त्यही संस्था अन्तर्राष्ट्रिय समितिमा परिणत भयो ।
सन् १८६४ मा सम्पन्न अन्तर्राष्ट्रिय भेलाले जेनेभा महासन्धिको व्यवस्था गर्यो । त्यो महासन्धिअनुसार राष्ट्रिय सोसाइटी स्थापना गर्नेसम्बन्धी देशको सरकारले हस्ताक्षर गर्नुपर्ने प्रावधान राखियो । विश्वमा रेडक्रस स्थापना भएको १ सय वर्षपछि मात्र नेपालमा तत्कालीन स्वास्थ्य मन्त्री डा. नागेश्वरप्रसाद सिंहको अध्यक्षतामा भएको भेलाले वि.सं. २०२० साल भदौ १९ गते तत्कालीन अधिराजकुमारी प्रिन्सेप शाहको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गर्यो । वि.सं. २०२१ साल भदौ २४ गते नेपाल सरकारले जेनेभा महासन्धिमा हस्ताक्षर गरेपश्चात् संस्थाका गतिविधि अगाडि बढिरहेका छन् ।
रेडक्रस अभियानका सात सिद्धान्तलाई मार्गदर्शक सिद्धान्तको रूपमा आत्मसात् गरेको नेपाल रेडक्रस सोसाइटीले संस्थाको दूरदृष्टि र दूरगामी लक्ष्यलाई निर्धारण गरेपश्चात् मानवीय सेवाको दृष्टिकोणबाट संस्थालाई अगाडि बढाउन बल मिलेको छ । निःस्वार्थ स्वयंसेवा तथा सात आधारभूत सिद्धान्तभित्र रहेर संकटासन्न समुदायको पक्षमा बहस गर्दै उच्च गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । नेपाल रेडक्रसले एम्बुलेन्स सेवा, रक्तसञ्चार सेवा, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार लगायतका आकस्मिक सेवाहरू प्रदान गर्दै आएको छ । त्यसको अलावा रेडक्रसका ४ वटा स्वयंसेवा गर्ने पक्ष छन् ।
पहिलो, पारस्परिक सहयोगमा संगठित रूपमा सहभागी भई एकआपसमा गरिने सामाजिक तथा आर्थिक सहयोग पर्छ । दोस्रो, परोपकारितामा आफूबाहेक अरूलाई वा सहयोग आवश्यकता भएका व्यक्तिलाई गर्ने सेवा र सहयोग पर्छ । तेस्रो, नागरिक संलग्नतामा सरकारी प्रतिनिधित्वदेखि स्थानीय विकास कार्यक्रममा सहभागी हुँदै शासन प्रक्रियामा गरिने स्वयंसेवा गरिन्छ । चौथो, वकालत वा अभियानअन्तर्गत वकालत वा अभियानबाट समाजमा सचेतना तथा नीति निर्माणमा सहजीकरण गर्ने प्रचलन छ । यी माध्यमबाट गरिने सेवा तथा विपत्ति तथा मानवीय सेवामा तटस्थता र निष्पक्षतामा कमी आउन दिनु हुँदैन ।
नेपाल रेडक्रस सोसाइटीको विधानमा २०४८ मा भएको संशोधनले रेडक्रसमा उपशाखा प्रथाको थालनी गर्यो । उपशाखा स्थापनाका कारणले सहरी तथा ग्रामीण क्षेत्रका समुदायसम्म रेडक्रसका अभियानका गतिविधि सञ्चालन गर्न सहज व्यवस्था भएको छ । हाल नेपाल रेडक्रस सोसाइटीको विधान, २०२० (सत्रौँ संशोधन, २०७४) बमोजिम सबै तहका रेडक्रस स्वयंसेवकहरू मानवीय सेवामा क्रियाशील हुने गरेका छन् ।
रेडक्रसले गर्ने विविध मानवीय कार्यहरूमध्ये मानव जीवनसँग प्रत्यक्ष एवं अत्यावश्यक सेवाको रूपमा रक्तसञ्चार सेवा प्रदान गर्दै आएको छ । विश्व रक्तसञ्चार सेवाको इतिहास झन्डै ४ सय वर्ष पुरानो छ । सन् १६१६ मा वैज्ञानिक डा. विलियम हार्बेले मानव जाति लगायतका सबै प्राणीमा रक्तसञ्चार हुन्छ भन्ने पत्ता लगाएका थिए । सन् १९०१ मा कार्ल ल्यान्डस्टेनर नामक वैज्ञानिकले मानव शरीरमा हुने रगतको समूह ए, बी र ओ पत्ता लगाएसँगै चिकित्साविज्ञानमा महत्त्वपूर्ण उपलब्धि भएको थियो ।
त्यसको लगत्तै विज्ञान र प्रविधिको विकाससँगै मानव शरीरबाट निकालिने रगतलाई आवश्यक तरल पदार्थको प्रयोग गरी निश्चित दिनसम्म सुरक्षित राख्न सकिने पत्ता लागेको थियो । यसैगरी सन् १९४० मा डा. कार्ल र डा. एलेक्जेन्डरको संयुक्त अध्ययनबाट मानव जातिमा हुने आरएच पोजेटिभ र आरएच नेगेटिभ समूह पत्ता लागेको थियो । यो महत्त्वपूर्ण खोजसँगै स्पेनको म्याड्रिड सहरमा विश्वको पहिलो ब्लड बैंक स्थापना भएको थियो । नेपालको सन्दर्भमा विसं २०२३ सालको साउन १२ गते वीर अस्पतालको एउटा कोठामा पहिलो ब्लड बैंक स्थापना गरिएको थियो ।
यसरी नेपालमा औपचारिक रूपमा रक्तसञ्चार सुरु भएको मिति साउन १२ लाई हरेक वर्ष रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा दिवसको रूपमा मनाउँदै आएको छ । अहिले ६० औँ रक्तसञ्चार सेवा दिवस मनाइँदै छ । लक्ष्मी ब्लड बैंक नामक सो ब्लड बैंकमा पहिलो वर्ष १३७ युनिट रगत संकलन भएको थियो । सो रगत आवश्यकताअनुसार बिरामीलाई प्रदान गरिएको थियो । नेपालका पहिला रक्तदाता दयावीर कंसाकार हुन् ।
रगतको बढ्दो माग र आधुनिक प्रविधियुक्त सेवालाई विस्तार गर्ने क्रममा प्रादेशिक रक्तसञ्चार सेवाबाट २४ सै घण्टा सेवा दिन थालिएको छ । रगतको आवश्यकता पर्ने तथा दान गर्ने व्यक्तिले रक्तसञ्चार सेवामा रगत तथा रक्ततत्त्वको उपलब्ध स्टक वेबसाइटबाट हेर्ने व्यवस्था मिलाइएको छ ।
समयक्रमसँगै २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ साल चैत २४ गतेदेखि नेपाल सरकारले रगत र रगतजन्य पदार्थको संकलन, भण्डारण र वितरणको जिम्मा नेपाल रेडक्रस सोसाइटीलाई दिएको छ । सीमित स्रोत र साधनका बाबजुद १ केन्द्रीय, ५ प्रादेशिक, जिल्ला, अस्पताल इकाई र आकस्मिक रक्तसञ्चार गरेर अहिले नेपालमा १२० भन्दा बढी स्थानबाट वार्षिक ५ लाखभन्दा बढी युनिट रगत संकलन र वितरण सेवा भइरहेको छ ।
तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश नन्दबहादुर मल्लको नेतृत्वमा अञ्चल रेडक्रसको रूपमा पोखरामा रेडक्रसको स्थापना २०२२ साल भदौ १९ गते भएको हो । गण्डकी अञ्चलमा स्थापित त्यही रेडक्रस पछि कास्की रेडक्रसमा परिणत भई जिल्ला कार्यसमिति, विभिन्न उपसमितिको समेत कार्यशीलताका कारण संस्थाको मानवीय गतिविधि अगाडि बढाउन सफलता मिल्ने गरेको छ ।
रेडक्रस कास्की शाखाले रक्तसञ्चार सेवाको आवश्यकता महसुस गरी वि.सं. २०३५ सालबाट रक्तसञ्चार सेवाको सुरुवात गरिएको छ । तत्कालीन अवस्थामा गण्डकी अस्पतालको एउटा कोठा लिएर रगतको संकलन र वितरणको कामको थालनी गरिएको हो । २०४५ सालमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नाममा दक्षिण गेटको नजिकै आफ्नो सानो कोठा बनाई सञ्चालन गरिएको थियो । रक्तसञ्चार सेवा सञ्चालन र व्यवस्थापनका लागि डा. बुद्धिबहादुर थापाको विशेष पहलमा जग्गा उपलब्ध भएको थियो । सोही जग्गामा आवश्यक पूर्वाधार निर्माण, थ्रिफेज लाइन, अन्य आवश्यक उपकरण जडान गरी रक्तसञ्चार सेवालाई व्यवस्थित गरिएको थियो ।
रेडक्रसले सञ्चालन गरेको रक्तसञ्चार सेवालाई समयानुकूल बनाउन प्रयत्न हुँदै आएको छ । बिरामीले उपयोगमा लिने रगतको स्तरीयतालाई ध्यान दिने गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसर रामघाटमा रहेको रक्तसञ्चार सेवाको भवन २०७२ सालको गोरखा भूकम्पका कारण क्षति र उपकरण व्यवस्थामा समस्या देखियो । सो रक्तसञ्चार सेवालाई स्तरोन्नति गरी प्रादेशिक तहको रक्तसञ्चार सेवाको रूपमा विकास गरिएको छ ।
प्रदेश स्तरको भएकाले ११ जिल्लामध्ये मनाङबाहेकका सबै जिल्लामा पुगेर रक्त संकलनको काम भएको छ । सुरुमा १६९ युनिट रगत संकलन र वितरण गरी सेवा दिएकोमा अहिले रगतको माग बढ्दै जाँदा वर्षमा २१ हजार युनिटसम्म रगत संकलन र वितरण गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । रगतको मागअनुसारको आपूर्ति व्यवस्थाका लागि प्रभावकारी ढंगबाट सञ्चालन हुने गरेका उत्प्रेरणा कार्यक्रमले मद्दत पु¥याइरहेका छन् । यही कारण अहिले ६ सयभन्दा बढी संघ, संस्थाले स्वतःस्फूर्त रूपले नियमित रक्तदान गर्ने गर्दछन् ।
आकस्मिक रक्तदान युनिट र स्वयंसेवी रक्तदाता समूह लगायत रक्तदाता संस्थाले पनि रगत संकलनमा विशेष सहयोग प्राप्त भएको छ । अस्पतालहरूबाट रगत माग भइआएको अवस्थामा ’रगत छैन’ भन्ने अवस्थाको अहिले अन्त्य भएको छ । सुरुवातमा ब्लड बैंकले ज्येष्ठ नागरिक, असहाय, विपन्नलाई रक्तजन्य सेवा शुल्क छुट दिँदै आएको थियो । कास्की शाखाकै पहलमा २०७८ फागुन १ गतेदेखि गण्डकी प्रदेश सरकारको सहयोगमा सेवाग्राहीका लागि रगतका सबै सेवा निःशुल्क भएको छ । प्रदेशका सबै नागरिकलाई रक्तसञ्चार सेवा निःशुल्क गर्न पहल गर्नेमा तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र सामाजिक विकास मन्त्री विन्दुकुमार थापा धन्यवादका पात्र हुनुहुन्छ ।
सबै काम व्यवस्थापनका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीबाट पनि राम्रो सहयोग प्राप्त भयो । रगत तथा रक्ततत्त्वलाई निःशुल्क गर्नमा विशेष पहल गर्ने सामाजिक संस्था, सरकारी निकाय, स्थानीय निकायलाई तत्कालीन स्वास्थ्य समितिको संयोजकको तर्फबाट आभार प्रकट गर्दछु ।
नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले सिर्जनाचोकमा अत्याधुनिक प्रादेशिक रक्तसञ्चार सेवा (ब्लड बैंक) सहितको बहुउद्देश्यीय भवन बनाएको छ । रेडक्रस कास्कीले अपांगमैत्री लिफ्टसहितको ब्लड बैंकको मूल भवनबाट प्रदेश स्तरको रक्तसञ्चार सेवा प्रदान गर्न थालेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज लगायतका सेवा केन्द्रबाट रक्तसञ्चार सेवाको काम भइरहेको छ ।
रक्तसञ्चार ब्युरो, संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनस्वास्थ्य प्रयोगशालाबाट निर्देशित नियम, गुणस्तर कार्यविधिलाई अनुसरण गरी नेपालमै नमुनाको रुपमा रक्तसञ्चार सेवा प्रवाह भएको छ । अहिले प्रादेशिक ब्लड बैंकमा अत्याधुनिक मेसिन जडान, शीत भण्डार कक्ष जडानको अलावा नयाँ सवारी साधन खरिद गरी छिमेकी जिल्लामा समेत रक्तसञ्चार सेवा प्रवाह गरिएको छ ।
रक्तदानको कुरा गर्दा हरेक १२० दिनमा रगत हराउने र नयाँ रगत सिर्जना हुन्छ । त्यस कारण हरेक ३ महिनाको अन्तरालमा रक्तदान गर्न योग्य भइन्छ । नेपालको सन्दर्भमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १८ वर्षदेखि ६५ वर्षसम्म उमेरका व्यक्तिले रक्तदान गर्न मिल्छ । रक्तदाताको तौल ४५ केजीभन्दा बढी हुनुपर्छ । महिलाको हकमा महिनावारी भएको ७ दिनपछि मात्र रक्तदान गर्न मिल्छ । गर्भावस्था र स्तनपान गराइरहेको बेलामा रक्तदान गर्न मिल्दैन ।
यसैगरी हृदयरोग, दम, कलेजो, फोक्सो, मिर्गौला सम्बन्धी समस्या, मधुमेह, क्यान्सर, एचआईभी, हेपेटाइटिस जस्ता रोग लागेका व्यक्तिले रक्तदान गर्न मिल्दैन । दाताले दान गरेको रगत विभिन्न शल्यक्रिया, दुर्घटनामा परी घाइते भएका व्यक्ति, रगतको कमी हुने विभिन्न रोगका बिरामीलाई प्रयोग गरिन्छ । मानव रगत प्रयोगशालामा नबन्ने भएकाले दाताले दान गरेको रगतले कसैको जीवन रक्षा गर्न सकिन्छ । त्यसैले ’रक्तदान जीवनदान र जीवनदान महादान’ भन्ने गरिएको हो ।
रगतको बढ्दो माग र आधुनिक प्रविधियुक्त सेवालाई विस्तार गर्ने क्रममा स्थापना भएको प्रदेश स्तरको ब्लड बैंक ५९ औँ रक्तसञ्चार सेवा दिवसको सन्दर्भ पारेर १२ साउन २०८१ देखि प्रारम्भिक रूपमा सञ्चालन गरिएको छ । रक्तसञ्चार सेवाको विस्तार, समयसापेक्ष र गुणस्तरीय बनाउने क्रममा ब्लड बैंकबाट मंसिर १ गतेदेखि २४ सै घण्टा सेवा दिन थालिएको छ । यो सेवा नागरिकलाई अत्याधुनिक सुविधा र गुणस्तरीय सेवाहरू उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो । यस सेवाको माध्यमबाट रगत संकलन, परीक्षण र आपूर्ति कार्यलाई प्रभावकारी र समयमै पूरा गर्न सकिने अपेक्षा गरिएको छ ।
नयाँ सेवा सुविधाले पोखरा र आसपासका क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवामा गुणस्तरीय सुधार ल्याउने आशा गरिएको छ । साथै, रक्तदाताका लागि सुरक्षित र विश्वसनीय सेवा प्रदान गर्दै समुदायका लागि महत्त्वपूर्ण स्वास्थ्य सेवा अवलम्बन गरिने विश्वास गर्न सकिन्छ । त्यति मात्र नभएर ब्लड बैंकको रगत र रक्ततत्त्वको उपलब्ध स्टक वेबसाइटमा हेर्ने व्यवस्था मिलाइएको छ । वेबसाइट हेरेपछि कुन समूहको कुन कम्पोनेन्ट के कति स्टक छ, थाहा हुन्छ । स्टकको आधारमा रगतको आवश्यकता पर्नेले माग गर्न सक्नेछन् । ब्लड बैंकमा स्टक कमी भएको रगतलाई दाताहरूलाई खबर गरेर समयमै संकलन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
रेडक्रस कास्कीले आगामी दिनमा रक्तसञ्चार सेवामार्फत आपत्कालीन अवस्थामा रगतको आपूर्ति र रगतजन्य पदार्थहरूको वितरणमा थप प्रभावकारिता र क्षमता थप्ने लक्ष्य राखेको छ । रेडक्रसकर्मी, सबै स्वयंसेवी रक्तदाता, दातृ निकाय र सरोकारवाला निकायको समन्वय र सहकार्यमा लक्ष्यलाई पूरा गर्न सकिन्छ ।
(अधिकारी नेपाल रेडक्रस सोसाइटी कास्कीका पूर्वउपसभापति हुन् ।)









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया