सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न कठिन

समाधान संवाददाता २०७६ मंसिर ३० गते १२:२९

समाधान संवाददाता
पोखरा

मजदुर नेताहरुले सामूहिक प्रयास र एकताविना योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याउन नसकिने बताएका छन् । उनीहरुले सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयनका लागि आम श्रमिक एकजुट हुनुपर्ने आवाज उठाए ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटियुसिसी)गण्डकी प्रदेश समिति अध्यक्ष रुद्रबहादुर खत्रीले ट्रेड युनियनहरुले योजना कार्यान्वयनका लागि रोजगारदाता र सरकारबीच समन्वय गरेको बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय इकाइ समितिले आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा विषयक कार्यक्रममा अध्यक्ष खत्रीले श्रम ऐन र सामाजिक सुरक्षा ऐनको कार्यन्वयनका लागि समन्वय केन्द्रले पहल गर्ने बताए ।

Advertisement

नेपाल टे«ेडयुनियन महासंघ(जिफन्ट)गण्डकी प्रदेश कमिटी अध्यक्षसमेत रहेका खत्रीले गण्डकी प्रदेशका सबै ट्रेड युनियन योजना कार्यान्वयनका लागि सामूहिक रुपमा लागेको बताए । ‘आम श्रमिक एकजुट भएर नलागेसम्म रोजगारदाता र सरकारलाई योजनाको कार्यान्वयनको लागि बाध्य पार्न सकिन्न,’ उनले भने, ‘सामाजिक सुरक्षा कार्यक्रमको व्यावहारिक कार्यान्वयनका लागि श्रमिकहरु सचेत भएर लाग्न आवश्यक छ ।’

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय उपाध्यक्ष कर्णसिं गुरुङले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयनका अलवा मर्यादित कामको लागि जिफन्टले अभियान चलाएको बताए । यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्रीले सवारी दुर्घटना न्यूनीकरण गर्न संगठनले म जिम्मेवार यातायात मजदुर अभियान चलाएको जानकारी दिए । उनले संगठनले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका बारेमा यातायात मजदुरलाई सचेत बनाएको बताए । यातायात मजदुर संगठन गण्डकी प्रदेश सचिव नारायणप्रसाद रिमालले हकहित संरक्षणका लागि मजदुरहरु संगठित हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय इकाइ अध्यक्ष रुद्रमान प्रधान र इकाइ सहसचिव सीता सापकोटाले पनि बोलेका थिए ।

Advertisement

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय इकाइ सदस्य धनबहादुर थापालाई आँखाको उपचारका लागि संगठन गण्डकी प्रदेश कमिटीले ८ हजार, संगठनको निजी तथा आवासीय विद्यालय इकाइले २ हजार ५ सय गरी १० हजार ५ सय आर्थिक सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया