सम्पादकीय—राज्यको साथ बिना बाच्दैन कृषि

नेपाललाई ‘कृषिप्रधान देश’ भनिँदै आएको छ । विडम्बना, यही देशका कृषक कहिल्यै पनि राज्यको प्राथमिकतामा परेनन् । उनीहरू सधैंँ अभाव, पीडा र उपेक्षामा बाँचेका छन् । सरकारले बजेट वक्तव्यदेखि नीति कार्यक्रमसम्म कृषि र कृषकको नाम लिन्छ तर व्यवहारमा त्यो नाममात्रै रहन्छ, सार्थकता देखिँदैन । खेतीपातीको मुख्य सिजनमा मलको चरम अभाव हुनु सामान्य जस्तै भइसकेको छ । हरेक वर्ष मलको अभावका समाचार आउँछन्, किसान आन्दोलनमा जान बाध्य हुन्छन् तर सरकारको स्थायी समाधान खोज्ने इच्छा देखिँदैन ।
अनुदानका नाममा अर्बौं रकम विनियोजन हुन्छ, कृषि यान्त्रिकीकरणका नारा गुञ्जन्छन् तर त्यो सबै बालुवामा पानी हालेजस्तै हुन्छ । गाउँ गाउँमा बाँदरको आतंक छ, कतै सिँचाईको समस्या छ । यस्ता समस्या झेल्दै उत्पादन गरेका किसानले फेरि बजारको अभाव झेल्नुपर्छ । यस्ता अनेकौं समस्याका कारण पुराना किसानहरु पलायन हुँदै गएका छन् भने नयाँ पुस्ता कोही पनि कृषिमा गएर भविष्य देख्दैन ।
देशमा सिंचाइ पूर्वाधारको निर्माण वर्षौंसम्म सकिँदैन । कतै आयोजना बनेका पनि छन् तर तिनको प्रभावकारी भएको छैन । किसानले पानीको पर्खाइमै बाली सुक्न दिएका उदाहरण प्रशस्तै छन् । उत्पादनपछि उचित मूल्य नपाउने, बजारको पहुँच नहुने र बिचौलियाको जालोमा परेर ठगिने, कृषकको नियति बनिसकेको छ । जुन देशले किसानका समस्यालाई आत्मसात् गरी समयमा नै समाधान गर्न सक्दैन, त्यो देशले प्रगति गर्न सक्दैन । आत्मनिर्भरताको दिशामा जान सक्दैन ।
वस्तु निर्यातभन्दा आयात गर्नमा नै रमाउने शासकहरुको गलत प्रवृत्ति र कृषकहरुमाथि गरिने अन्यायपूर्ण व्यवहारका कारण पनि कृषि उत्पादनमा घट्दै गएको छ । अहिले ठूला नेता हुन् कि प्रशासक, प्रायः किसान परिवारबाट बनेका छन् । गाउँले परिवेशबाट आएका किसानका छोराहरु नै उच्च तहमा पुगेका बेला उनीहरुले गाउँको अवस्था, किसानले भोग्नुपरेको समस्या र संकटलाई उपेक्षा गरेका छन् ।
अहिले कृषकलाई सस्तो ऋण, बिमा सुविधा, समयमै मलबीउको आपूर्ति, सिंचाइको स्थायी समाधान र कृषि उत्पादनलाई दीर्घकालीन बजार सुनिश्चित गर्नु जरुरी छ । राज्यले कृषि बजार प्रणालीलाई व्यवस्थित गर्नु, न्यूनतम मूल्य सुनिश्चित गर्नु र सरकारी खरिद प्रणाली विस्तार गर्नुपर्ने हुन्छ । सरकारले सही समयमा मूल्य समर्थन, खरिद केन्द्र र किसान–बजार सीधा जोड्ने प्रणालीको विकास गर्न सकेको भए किसानले यो स्तरको समस्या झेल्नुपर्ने थिएन ।
कृषि क्षेत्रका लागि विनियोजन गरिएको बजेट सही ढंगले कार्यान्वयन, अनुगमन र मूल्यांकन गरियो भनेमात्र कृषकको जीवनस्तरमा सुधार आउन सक्छ । कृषि बचाउनु भनेको मुलुक बचाउनु हो । कृषकलाई प्राथमिकतामा राख्न अब नारामा सीमित होइन, व्यवहारमा उतार्नुपर्ने बेला आएको छ । अब पनि यही कार्यप्रणाली रहने हो भने अबको एक दशकपछि परम्परागत कृषि करिब सकिनेछ, वैज्ञानिक कृषि संस्थागत हुने छैन । हामी कृषिमा पनि पूरै परनिर्भर बन्ने छौँ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया