सम्पादकीय—फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय

समाधान संवाददाता २०८२ साउन १८ गते १०:२४

‘फोहोरलाई मोहर बनाउने’ मन्त्रसहित पोखरा महानगरपालिकाले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) जस्ता अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर ‘आरयु फेस्ट’ गर्‍यो । यसलाई हरित अर्थतन्त्रतर्फको एक रणनीतिक र दूरदर्शी पाइला भनिएको छ । यसको उद्देश्य फोहोरलाई समस्याको रूपमा होइन, अवसरको खानीको रूपमा हेर्ने दृष्टिकोण स्थापित गर्ने हो । फोहोरमैला व्यवस्थापनलाई दिगो आम्दानी र समृद्धिको स्रोत बनाउने अध्यायका रुपमा यसलाई हेरिएको छ ।

Advertisement


फोहोरमैला व्यवस्थापन देशैभरिका नगरपालिकाहरूका लागि टाउको दुखाइको विषय बन्दै आएको छ । अधिकांश स्थानमा फोहोरलाई केवल संकलन गरेर कहीँ न कहीँ विसर्जन (डम्प) गर्ने परम्परागत र अदूरदर्शी अभ्यास कायमै छ । यस्तो पृष्ठभूमिमा पोखराले पुनःप्रयोग (रिसाइक्लिङ) र सदुपयोग (अपसाइक्लिङ) को माध्यमबाट फोहोरलाई स्रोतमा रूपान्तरण गर्ने र त्यसलाई चक्रीय अर्थतन्त्रसँग जोड्ने अभियान पोखरा महानगरपालिकाले थालेको छ । यो अभियानले वातावरणीय संरक्षण गर्ने, हरित रोजगारी सिर्जना गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने र विशेषगरी महिला तथा सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरणमा ठोस योगदान पुर्‍याउने भनिएको छ । भनेअनुसारै काम हुने हो भने हरित क्रान्ति हुनसक्छ । त्यसैले परियोजनाको सफलताको आधार यसको ठोस कार्यान्वयन योजनामा देखिन्छ ।


कोइका र युएनडिपीको उल्लेख्य आर्थिक तथा प्राविधिक सहयोगमा ‘ग्रिन भेन्चर जोन’ जस्ता पूर्वाधार निर्माण गरिँदैछ । सामुदायिक समूहहरूलाई तालिम प्रदान गर्ने, आगामी दुई वर्षमा ३ हजार रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी लक्ष्य पनि छ । अब यी कुरा केवल नारामा सीमित हुन्छन् या कार्यान्वयन ? त्यो भविष्यले नै देखाउनेछ । फोहोरका रुपमा फालिएका तर, पुनप्रयोग गर्न सकिने बस्तुबाट केही न केही बनाउने उद्देश्य यो परियोजनामा छ । त्यस्ता उत्पादनको बजारीकरणका लागि ‘कोसेली घर’ निर्माण गरिएको छ, जुन पूरा हुने क्रममा पनि छ ।

Advertisement


यो अभियान सफल बनाउन महानगरपालिकामात्रै तातेर हुँदैन, नागरिकले पनि उत्तिकै योगदान गर्नुपर्छ । घर–घरबाटै फोहोरको वर्गीकरण गर्ने, पुनःप्रयोगयोग्य वस्तुलाई छुट्ट्याउने व्यवहार नागरिकबाट भइदियो भनेमात्रै अभियान सफल हुन्छ । होइन भने हात्ती आयो हात्ती आयो फुस्सा हुन बेर लाग्दैन । फोहोरलाई बोझ होइन, बरु समृद्धि र रोजगारीको स्रोत बनाउन सकिन्छ भन्ने सन्देश देशभर फैलाउन पोखरा एक अग्रणी उदाहरण बनाउने हो भने नागरिक तहबाटै अपनत्व ग्रहण हुन जरुरी छ । यो बस महानगरपालिकाको काम हो भनेर नागरिकले बेवास्ता गर्नु हुँदैन । आआफ्नो ठाउँबाट सबैले योगदान गर्नुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया