पोखरेली टेनिस खेलाडी आर्यषराज पौडेल एटीएफ यु–१४ टेनिस खेल्न मलेसिया जाने

समाधान संवाददाता २०८२ साउन २१ गते १५:५५

पोखरा, २१ साउन

पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल साउथ इस्ट एसिया अन्तर्गत एटीएफ यु–१४ को ‘ए’ लेभल टेनिस प्रतियोगितामा भाग लिन मलेसिया जाने भएका छन्। साउन १४ देखि ३१ गतेसम्म क्वालालम्पुरमा हुने उक्त प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन्।

नेपाल टेनिस संघको अनुरोधमा एसियन टेनिस महासंघले उनलाई ‘वाइल्ड कार्ड’ मार्फत छानेको हो।

Advertisement

१२ वर्षीय आर्यषले अबको ३ वर्षसम्म यो प्रतियोगिताको यु–१४ टुर्नामेन्ट खेल्न पाउने छन्। यस प्रतियोगितामा सहभागी खेलाडीहरूले विभिन्न चरणको यात्रा अनुसार एटीएफको अंक बटुल्नेछन्।

यसैबीच कास्की जिल्ला टेनिस संघले खेलाडी पौडेललाई बुधबार एक समारोहका बीच बिदाइ गरेको छ। बिदाइ समारोहमा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले पोखराकै माटोमा हुर्किएका खेलाडी आर्यषले टेनिस खेलमा ठूलो सम्भावना देखाइरहेका बताए। उनले अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगितामा भाग लिन पाउनु पोखरेलीका लागि गौरव भएको बताउँदै शुभकामना व्यक्त गरे।

Advertisement

बिदाइ समारोहमा पोखराका अग्रज टेनिस खेलाडी, अभिभावक, टेनिस संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो। नेपाल शीर्ष वरीयता खेलाडी प्रदीप खड्काले कार्यक्रम सञ्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया